|

दमक : झापाको दमकबाट रंगमञ्च यात्रा शुरु गरेका दमकका किरण चाम्लिङ्ले छोटो समयमा रंगमञ्च र चलचित्रमा सिक्ने तथा काम गर्ने अवसर पाए। २०६९ को तिहार मनाएर संघर्षका लागि काठमाडौं होमिएका उनले ४ वर्ष जति शिल्पि थिएटरमा बिताए।

सत्यमोहन जोशीद्वारा लिखित मोजिपा लाखे, भवानी भिक्षुले लेखेको हारजितलगायत कोमा अ पोलिटिकल सेक्स, यल्लो कमेडी, थाङ्ला जस्ता नाटकहरूमा अभिनय गरे। निखारिने अवसर पाए। उपेन्द्र सुव्वाको कथा ‘लाटो पहाड’ लाई नाटकमा उतारे, निर्देशन गरे।

विएस राईको ‘जोखाना’ कथालाई नाटक बनाए। सँगै उनको चलचित्र यात्रा पनि शुरु भयो। चलचित्रमा निर्देशन समूहमा रहेर सिक्ने मौका पाए। पुरानो डुंगा र मिष्टर झोलेको सहायक निर्देशन टिममा रहे काम गरे। साइलीमा सहायक निर्देशकसँगै अभिनय पनि गरे। सेन्टी भाइरस र जारीको सहायक निर्देशक पनि भए। अहिले उनी गाउँ फर्किएका छन्। 

दमकबाट रंगकर्म थालेका सिजन दाहाल पनि २०७० सालमा काठमाडौं हानिए। दमकबाट रंगमञ्चको धित नपरे पनि मण्डला थिएटर पुगेका उनले मण्डलाको चौथो व्याचका रुपमा सिक्ने मौका पाए। राजन खतिवडा, दयाहाङ् राईलगायतले उनलाई धार लगाए। मण्डलाका विभिन्न नाटकमा लेखन र निर्देशन समूहमा रहेर काम गरेको अनुभवले शंकर लामिछानेको ‘उ कसको हो’ कथालाई नाट्य रुपान्तरण गरे।

बुद्धिसागरको कथालाई ‘गैँडा टाइम्स’ नाटक बनाए र निर्देशन पनि गरे। जुन नाटक अन्तर्राष्ट्रिय नाटक महोत्सवमा पनि प्रदर्शन भयो। यस्तै उपेन्द्र सुव्वाको कथालाई ‘मरिचेको चुपी’ नाटक बनाएर आफ्नो क्षमता मञ्चन गरेका उनले राजन खतिवडासँग मिलेर नाटकको पुस्तक ‘आधा सत्य’ पनि लेखे। छोटो समयमै रंगमञ्चमा खरो रुपमा उभ्याएका उनले चलचित्र ‘पुरानो डुंगा’ तथा ‘मिष्टर झोले’ को सहायक निर्देशक बने।

‘जारी’, ‘सेन्टी भाइरस’ तथा ‘कवडी कवडी कवडी’ मा मुख्य सहायक निर्देशक भएर देशका स्टार कलाकारलाई आफ्नो चालमा अभियन पनि गराए। रंगमञ्च, निर्देशनसँगै लेखन कार्यमा पनि आफूलाई उभ्याएका उनले चलचित्र ‘चचहुई’ तथा ‘माछा माछा’ को संयुक्त पनि लेखन गरे। उनी पनि अहिले गाउँमा आएका छन्। 

किरण तथा सिजन मात्र होइन। काठमाडौं पुगेर रंगमञ्चमा आफूलाई अभ्यास गराएका, जारी तथा देश खोज्दै जाँदा लगायतका चलचित्रमा अभिनय गरेका तिव्वत राई पनि अहिले आफ्नो रंगमञ्चको जग दमकमै रमाएका छन्।

बिभिन्न नाटक तथा चलचित्रमा आफूलाई उभ्याएका मौसम रानालगायतका एक दर्जन बढी कलाकार पुनः अहिले दमकमा रंगमचको जग बसाउँदैछन्। उनीहरूको मियो बनेका छन् दर्जनौं नेपाली चलचित्रमा अभिनय गरेका कलाकार हेमन्त बुढाथोकी। उनको अध्यक्षतामा बनेको कदम थिएरमा जुटेका कलाकार अहिले संयुक्त रुपमा आफ्ना कदम अघि बढाइरहेका छन्।

आफ्ना दौतरीलाई नाटकको अभ्यास समेत गराउँदै आएका सिजन भन्छन्,‘काठमाडौंमा केही सिक्ने र काम गर्ने अवसर पाइयो। अब त्यो ज्ञान यहाँ साथीहरूलाई बाँढिरहेका छौं।’

दमक नगरपालिकाले उपलव्ध गराएको जमिन र प्रदेश सरकारमार्फत प्राप्त बजेटले रंगमञ्चको भौतिक संरचनाको जग हाल्न अहिले उनीहरू जुटेका छन्। आफूले रंगमञ्चमा पाइला हालेको आफ्नै ठाउँमा नाटक घर बनाउने र नाट्य अभ्यासलाई निरन्तरता दिने लक्ष्यसहित थिएटर बनाउन जुटेको कुशल बताउँछन्। 

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भइरहेका नाट्य अभ्यासबारे नयाँ कलाकारलाई जानकारी गराउन थिएटरले कार्यशाला पनि सम्पन्न गरेको छ। नाटक अभ्यासलाई निरन्तरता दिन कलाकारले नै अस्थायी टहरा बनाएका छन्। त्यसैलाई उनीहरूले थिएटर मानेका छन्।

व्यवस्थित थिएटर नबनेसम्मका लागि कलाकार आफैँ खटेर बाँसले बारेको र परालले छाएको नाटक घर बनाएको थिएटरका सचिव मोहन ढुंगानाले बताए। सोही थिएटरलाई अहिले कलाकारले आफ्नो अभ्यास थलो बनाएका छन्।

'कलाकार थिएटरमै खाना बनाउँछन्। थिएटरमै सुत्छन्। बाँकी सबै समय नाटककै अभ्यास गर्छन्' दैनिक नाटक अभ्यास गर्दै आएकी चोमू शेर्पाले भनिन्,‘अहिले हाम्रो घर भने पनि मन्दिर भने पनि थिएटर नै हो। अहिले नाट्य अभ्यासका लागि तपस्या थलोको रूपमा थिएटरमा अभ्यास गरिरहेका छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.