|

  • रमेश पराजुली-

थकनी (सिन्धुपाल्चोक) : जिल्लाको विकट थकनी गाविस ५ का कुलबहादुर तामाङ लामो समय भारतमा मजदुरी गरेर अहिले आफ्नै गाउँमा फर्किएका छन्। १५ वर्षको हुँदा भारत छिरेका उनले गाउँ फर्किएपछि ७८ वर्षको उमेरमा घुम्ती टोली मार्फत गाउँमै नागरिकता लिए।

विपन्न परिवारका कुलबहादुर घरको उब्जनीले खान नपुगेपछि छिमेकी दाइसँग भारत छिरेका थिए। 'घरमा धेरै दाजुभाइ थिए। बाउको कमाईले खान पुग्दैनथ्यो। जेनतेह हुर्काए। आफुलाई पनि काम गरेर पेट पाल्न सक्छु भन्ने लाग्न थाल्यो' उनले विगत सम्झिए 'गाउँकै दाइले कुल्लीको काम लगाइदिन्छु भनेर भारत लगे।'

उनीलाई काम लगाउने भन्दै लगेका गाउँले दाजुले भारतको नयाँ दिल्लीमा लगेर एक्लै छाडेर आए। पहिलोपटक घर छाडेका कुलबहादुर दिल्लीबाट एक्लै नेपाल फर्कन सक्दैनथे।

त्यतिबेला उनले दिल्लीका सडकमा धेरै दुख पाए। बाँच्नै पर्‍यो भनेर एउटा होटलमा मजदुरी गर्न थाले। त्यहीँ उनले विहेबारी पनि गरे। उनीहरुको छोरा जन्मियो। एकपटक पत्नी र छोरालाई लिएर गाउँ पनि आए। फेरि साहुले बोलाएपछि फर्किए। छोरा सानै छँदा पत्नीको पनि मृत्यु भयो। अनि उनलाई कहिल्यै नेपाल फर्कन मन लागेन।

यता गाउँमा दाजुभाइबीच अंशवण्डा गर्ने बेला भयो। दाजुभाइहरुले कुलबहादुरको खोजी गर्न थाले। खोज्दै जाँदा उनलाई भारतको नयाँ दिल्लीबाट ल्याएको उनका काइँला भाइ श्यामबहादुर तामाङ भन्छन् ‘पहिले हामीले धेरै खोजी गर्‍यौं, भेट्टाउन सकेका थिएनौँ। अहिले बल्ल पत्ता लाग्यो र हामीले गएर ल्यायौँ।’

गाउँ आएपछि भने उनलाई फेरि भारत फर्किने मन छैन। 'अब अर्काको देशमा गएर मर्दिन। छोरालाई पनि नेपालमै बोलाउँछु। छोरा पनि ३० बर्ष भन्दा धेरै भैइसक्यो। अहिलेसम्म नागरिकता बनाएको छैन' उनले भने।

थकनी गाउँमा घुम्ती शिविर पुगेका बेला कुलबहादुरले ७८ वर्षको उमेरमा नागरिकता लिए। नागरिकता नबनाउँदा हरेक सरकारी काममा निकै सास्ती भोगेका तामाङ नागरिकता पाउँदा भने निकै हर्षित देखिए। 'अब छोरालाई नेपालमा झिकाएर नेपाली नागरिकता थमाउँछु। दाजुभाइसँग अंशबण्डा गर्छु। छोरालाई नेपालमै राख्छु' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.