'विकासको काम ढिलो, प्रगति देखिएन'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारको कामबाट सन्तोष गर्ने ठाउँ नभएको बताएका छन्।

आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा अध्यक्षकोतर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले काममा भएको ढिलासुस्तीले सन्तोष गर्ने ठाउँ नभएको बताएका हुन्। 

सातै प्रदेशका मुख्यमन्त्रीहरु पनि सहभागी हुने उक्त बैठकमा प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारको कामबाट जनताले पाउने जति लाभ पाउन नसकेको दुखेसो गरे।

'काममा अत्यन्तै ढिलासुस्ती भयो। वैदेशिक लगानीका आयोजनाको काम पनि तीव्र गतिमा हुन सकेन', उनले भने, 'अपेक्षित विकास योजना पनि समयमा नसकिँदा जनताले पाउनु पर्ने लाभ पनि पाउन समस्या भयो।'

प्रधानमन्त्री ओलीले विकासको गतिमा पनि तीव्र असन्तुष्टि जनाए। 'जुन गतिले विकास गर्नुपर्ने थियो त्यो गति हामीले पक्रन सकेका छैनौँ', उनले अगाडि भने, केही उपलब्धी भएका छन् तर सन्तोषजनक भएका छैनन्।'

उनले सम्बोधनका क्रममा तीनै तहका सरकारको कार्यशैलीमा परिवर्तनको खाँचो रहेको औंल्याए। ओ‌लीले विसकालाई गति दिन सरकारले अहिलेको कार्यशैली फेर्नुपर्ने बताउँदै जनताले बढी भन्दा बढी लाभ लिन सक्ने अवस्था बनाउन पनि उपस्थित सहभागीलाई आग्रह गरे।

बैठकबाट निस्किए

प्रधानमन्त्री ओलीले शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गरेका थिए। मिर्गौलाले प्राकृतिकरुपमा काम गर्न छाडेपछि उनी अहिले सातामा एक पटक डायलाइसिस गरिरहेका छन्। 

शनिबारको डायलाइसिसका क्रममा असहज महसुस गरेपछि चिकित्सकहरुले प्रम ओलीलाई आइतवार दिनभरि आराम गर्न सुझाएका थिए। तर बालुवाटारमा दिउँसोसम्म आराम गरेर उनी समितिको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका थिए।

बैठकको अध्यक्षता गरेर आफ्ना कुरा राखिसकेपछि प्रम ओली बालुवाटार लागेका छन्। उनले आफ्नो स्वास्थ्यमा असहज महसुस भएको जानकारी दिएर बैठकबाट निस्किएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.