|

उदयपुर : उदयपुरको कटारी नगरपालिका-१ कालिखोलाका ३९ घरपरिवार गाउँले मुद्दा लड्दा लड्दै सुकुम्बासी बन्ने अवस्थामा पुगेका छन्।

२०३० सालदेखि बसोबास गर्दै आएका स्थानीयविरुद्ध सोही गाउँका दानबहादुर माझीले २०७४ सालमा सरकारी जग्गा अतिक्रमण गरी बसोबास गरेको मुद्दा दर्ता गरेपछि अहिले गाउँलेहरू समस्यामा परेका छन्।

३९ घरपरिवारलाई एकै प्रकृतिका १५ मुद्दा दर्ता गरेपछि स्थानीयले अदालतमा मुद्दा लडेका थिए। २०७४ वैशाख १६ गते बिहान ७ बजेबाट गाउँलेहरूले एक्कासि जग्गा आवाद गरी घर बनाएको भन्दै मुद्दा दायर गरेका थिए।

जिल्ला अदालत उदयपुरले २०७५ मंसिर २७ गते फैसला गर्दै सो जग्गा प्रतिवादीहरुले सरकारी जग्गा कब्जा गरेको कब्जा खिचोला मेटाई सार्वजनिक रुपमा चलन चलाई दिनुपर्ने ठहरी फैसला गरेको थियो। सरकारी जग्गामा बनेको संरचना हटाई खाली गराई चलन चलाइपाऊँ भन्‍ने फैसला गरेपछि गाउँ नै उठिबास हुने अवस्थामा रहेको छ।

यो बस्ती २०७४ सालभन्दा पहिलेदेखि नै बसेको र पुरानै बस्ती भएको वडाध्यक्ष नवराज पोखरेलले जानकारी दिए।

मुद्दा लड्दै गाउँले

२०२९ सालदेखि जोतभोग गरेको सो जग्गा २०२८ सालमा सरकारको नाममा नापी भएको थियो, भने २०४५ सालमा स्थानीयले आफ्नो नाममा नापी गराई फिल्डबुकमा समेत आफ्नो नाममा दर्ता गराइसकेका थिए। अहिले गाउँले उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासमा पुनरावेदन मुद्दा लडिरहेका छन्।

फैसलाले आश्‍चर्यमा परेका छौँ

२०४३ सालका पूर्व-प्रधानपञ्च खिलाराज पोखरेलले २०२९ सालदेखि नै सो जग्गा माझी परिवारले नै गाउँलेलाई बेचविखन गरेको र आफूले तमसुकसमेत बनाइदिएको बताए। उनले सो जग्गा २०७४ सालमा कब्जा गरेको फैसला गलत भएको भन्दै उक्त वस्ती पुरानै रहेको बताए।

मुद्दा लडिरहेका तत्कालीन २०४३ सालका वडाध्यक्ष घमण्डबहादुर कार्कीले सोही समयमा वडाध्यक्षसमेत भएर भोगचलन गरी फिल्ड बुकमा नाम लेखाइसकेको जग्गा अहिले सरकारी भन्दै खाली गर्ने जिल्ला अदालतले फैसला गरेकोमा आश्चर्यजनक भएको बताए।

३ पुस्तासम्म बस्दै आएका स्थानीयले अहिले आएर दुई वर्षअघि सरकारी जग्गा कब्जा गरेको मुद्दा झुठा भएको र सोही अनुसारको फैसलामा चित्त नबुझेपछि पुनरावेदन गएको बताउँछन्। गाउँका ३९ घरपरिवारले हालसम्म ३० लाख बढी खर्च गरिसकेका छन्। आफ्नो जग्गाको मुद्दा लड्नका लागि घरको गाई, बाख्रासमेत बेच्नुपरेको स्थानीयहरूले गुनासो गरे।

२०२९ सालदेखि स्थानीयले सो गाउँमा लगाएका आँपका बगैंचा, पुराना घरका संरचनाहरु हेर्दासमेत बस्ती पुरानो रहेको भए पनि विभिन्न प्रतिशोधले बस्तीलाई समस्यामा पारेको स्थानीय बुद्धिजिवी केपी बरालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.