'बदलिएको यथार्थ' नाटकमा संवेदनहीन समाजको चित्रण

|

काठमाडौं : 'न सकिन्छ गरिखान , न सकिन्छ मरिजान बुढेसकालैमा...' गायक बुद्धिसागर बस्यालले गाएको गीत जस्तै धेरै छोराछोरीका लागि जन्मदिने बाबुआमा भारी भएका छन्। उनीहरूलाई वृद्धाश्रममा लगेर बिसाउन आतुर छन्। तर पनि वृद्धाश्रममा पुगेकी आमाको मन मान्दैन त्यही अरूले दिएको मिठाई बोकेर छोरालाई भेट्न घर पुग्छिन्। यो दृश्यले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा शैक्षिक प्रदर्शनीमा देखाइएको नाटक बदलिएको यथार्थ हेर्न पुगेका घेरै अभिभावकका आँखा रसाए।

विद्यालयका नेपाली विषयका सुपरिवेक्षक जितेन्द्र बस्न्यातको लेखन तथा निर्देशन रहेको नाटक 'बदलिएको यथार्थ'ले बदलिएको वा संवेदनहीन हुँदै गएको समाजको चित्रले सबैलाई एकपटक गम्भीर भएर सोच्न बाध्य तुल्यायो।

घरका सदस्यहरू कोहीलाई कसैको मतलब छैन सबै आ-आफ्नै सुरमा छन्। छोरी मोबाइलमा नै मस्त छिन् भने छोरो टिल्ल परेर रक्सी धोकेर आधारातमा घर फर्कन्छ। एउटै परिवार जस्तो लाग्ने श्रीमान र श्रीमतीको सम्बन्ध पनि सुमधुर छैन। यस्तै, मानवीय संवेदना गराउँदै समाजको चित्रले विद्यार्थीहरूलाई आफ्नो संस्कार सिकाउन गरेको प्रयासलाई अभिभावकहरूले राम्रो तारिफ गरे।

मनछुने नाटकसँगै अन्य क्षमताहरु पनि विद्यार्थीले देखाएका थिए। कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरू सहभागी भएको शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरूले रोबर्टबाट सञ्चालन र नियन्त्रण गर्न सकिने हवाईजहाज, विद्युतीय सेन्सरबाट नियन्त्रण गर्न सकिने धारा, जस्ता सामग्रीहरुको निर्माण गरेका थिए। घरायसी प्रयोगपछि फाल्नुपर्ने वस्तुहरूबाट बनाइएका सजावट सामग्री पनि निकै कलात्मक थिए।

प्रदर्शनीमा खेलका माध्यमबाट सामान्य–ज्ञान, भाषा र साहित्यसँग सम्बन्धित प्रश्न र गाउँखाने कथासम्बन्धी ज्ञान कसरी लिन सकिन्छ भन्ने बुझाइएको थियो। यसैगरी विद्यार्थीहरूले तत्काल कुनै विषयमा कविता सृजना गर्ने कला पनि देखाएका थिए।

यसैगरी, सामाजिक, अंग्रेजी, विज्ञान, गणित, विषयसँग सम्बन्धित विषयहरूलाई पनि शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरूले आफ्नो प्रतिभा देखाएका थिए। किताबको ज्ञानसँगै व्‍यवहारिक ज्ञानले विद्यार्थीहरूको क्षमताको विकास हुनुका साथै जिम्मेवारी बोध हुने अपेक्षासहित शैक्षिक प्रदर्शनी आयोजना गरिएको विद्यालयका प्रध्यानाध्यापक प्रशान्त रजकले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.