|

काठमाडौं :  चीनको उहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म एक हजार १६ जनाले ज्यान गुमाइसकेका छन्‌। विभिन्‍न मुलुकहरुले चीनमा रहेका आफ्ना नागरिक उद्दार गरी स्वदेश फर्काइरहेका छन्‌। तर नेपाल सरकारले भने आवश्यक पूर्वतयारीमै समय गुजारिरहेको छ। 

अहिले चीनबाट स्वदेश फर्कन १८० नेपालीले आवेदन दिएका छन्‌ भने मानवीय हताहती बढ्दै गएपछि आवेदन दिए बाहेकका नेपालीहरू पनि नेपाल सरकारले पठाउने विमान कुरेर बसेका छन्‌। हुबेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउन सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को वाइडबडी ए-३३० जहाज चीन पठाउने तयारी गरेको छ।

चीनबाट नेउद्दार गरी ल्याइने नेपालीलाई सीधै परिवार र आफन्तको जिम्मा लगाउन भने मिल्दैन। उनीहरुलाई निश्चित अवधिसम्म क्वारेन्टाइनमा राखेर उपचार गरेपछि मात्र खुला समाजमा जान दिइन्छ। 

चीनबाट ल्याइने नेपाली विद्यार्थीलाई राख्‍न सरकाले अहिले काठमाडौंको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा आवश्यक पूर्वाधार बनाउँदैछ।

तर स्थानीयले चाहिं उद्दार गरी ल्याइने विद्यार्थीलाई राख्दा आफूहरुमा पनि कोरोना सर्ने भन्दै विरोध थालेका छन्‌। सडकका भित्तादेखि रुखसम्म विरोधका नारा लेखिएका पर्चा टाँसिएको छ। प्राधिकरणको गेटमै उनीहरुले कालो ब्यानर टाँसी विरोध जनाएका छन्‌। 

तर यही विरोधका बीच पनि सरकारले प्राधिकरणको भवनभित्र क्वारेन्टाइनका लागि आवश्यक संरचना बनाइरहेको छ। प्रहरीले भवनभित्र कसैलाई छिर्न दिएको छैन। स्थानीयले चाहिं उपचार गरेर मात्रै विदेशबाट नेपालीलाई ल्याउनुपर्ने र बस्ती क्षेत्रमा विद्यार्थी राख्न नपाउने भन्दै विरोध गरिरहेका छन्‌। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.