|

काठमाडौं : भक्तपुर खरिपाटीको नेपाल विद्युत् प्राधिकरण, तालिम केन्द्रको गेटअगाडिका पर्खालमा कालो ब्‍यानरमा लेखेर टाँसिएको छ,‘बाँच्‍न पाउने सबै नागरिकको अधिकार हो। नेपाल सरकार खबरदार! कोरोना भाइरस रोगको उपचार बस्ती एरियामा गर्न पाइँदैन। स्थानीयको स्वास्थ्यमा खेलवाड गर्न पाउँदैन। उपचारको नाममा स्थानीयबासीन्दालाई विस्थापित गर्न पाइँदैन।’ 

रूखहरूमा पनि कागजमा लेखेर टाँसिएको छ,‘कोरोना भाइस चाहिँदैन। बस्ती एरियामा राख्‍न पाइँदैन। जनता मार्न पाइँदैन।’ सरकारले चीनमा रहेका कोरोना भाइरसबाट प्रभावित नेपाली विद्यार्थीहरूलाई नेपालमा ल्याई खरिपाटीको प्राधिकरणमा राख्‍ने योजना बनाएपछि स्थानीय त्रसित भएर ब्‍यानर नै टाँसेर विरोधमा उत्रेका हुन्। 

चीनमा रहेका विद्यार्थीलाई कुनै पनि हालतमा त्यहाँ राख्न दिन तयार छैनन् स्थानीय। खरिपाटीका स्थानीय विष्णुप्रसाद लामिछानेले सरकारले तयारीबिनै चीनमा रहेका विद्यार्थीहरूलाई तालिम केन्द्रमा राख्न नमिल्ने बताए।

बरु चीनमै सुरक्षित हुन्छन्

उनले भने,‘विद्यार्थीहरू नेपालमा ल्याउनुपर्छ। तर, सरकारले स्वास्थ्य उपचारको राम्रो तयारी नगरी ल्याउन लागेको छ। कोरोना भाइरस नियन्त्रण गर्न सकेन भने बस्तीभरी फैलिन्छ। सरकारले हाम्रो स्वास्थ्यमाथि खेलवाड गर्न पाउँदैन। त्यसैले विरोध गर्दै आएका छौँ।’

सरकारले चीनमा रहेका नेपाली विद्यार्थीलाई नेपालमा ल्याए पनि त्यस ठाउँमा राख्न नदिने बताउँदै उनले दुई तिहाइको सरकारले जनताको स्वास्थ्यमाथि जानीजानी खेलवाड गर्न खोजेको आरोप लगाए। ‘सरकारसँग उपचार गर्ने क्षमता छ कि छैन?,’उनले भने,‘सिटामोलधरी विदेशबाट मगाउनुपर्छ। चीनमा रहेका विद्यार्थीलाई नेपालमा ल्याएर उपचार गर्न सक्दैन। बरु चीनमै बढी सुरक्षित हुन्छन्।’

 

उपत्यकाबाहिर राखेको राम्रो

सरकारले विद्यार्थीहरू नेपालमै ल्याउन चाहे बस्तीमा नभई उपत्यकाबाहिर राखेर उपचार गराउनुपर्ने उनको भनाइ छ। लामिछानेले भने,‘सरकारले राम्रोसँग स्वास्थ्य उपचारको तयारी गरेर मात्रै विद्यार्थी ल्याउनुपर्छ। घनाबस्तीबीचमा उपचार गराउन मिल्दैन। बस्ती नभएको ठाउँ खोजेर उपत्यका बाहिर राखी सरकारले हेर्नुपर्छ।’

अहिले प्राधिकरणभित्र प्रहरीले कोहीकसैलाई पनि छिर्न दिएको छैन। कुनै सूचना पनि बाहिर दिइएको  छैन। प्राधिकरण भवन वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको देखिन्छ।

प्राधिकरणका कर्मचारी नै डराइसके

 अर्का स्थानीय किष्णमाया थापा मगरले पनि त्यहाँ चीनमा बसोबासित नेपाली विद्यार्थी राख्न नमिल्ने बताइन्। प्राधिकरणका कर्मचारीसमेत त्रसित भएकाले सामानहरू सारेको समेत उनले जानकारी दिइन्।

उनले भनिन,‘विद्याथीलाई राख्न अहिले संरचना बन्दै छ। भाईरस तीन किलोमिटर सम्म हावाबाट फैलिन्छ। सरकारले यहाँ विद्यार्थीलाई राख्यौ भने त हामी त्रास लिएर बस्नुपर्छ।’ उनका अनुसार तालिम केन्द्र बस्तीबीचमा पर्छ। विद्यार्थीहरुमा भाईरस देखा परे बस्तीभरी फैलिन्छ।

चीनमै राम्रोसँग उपचार गराएर मात्र नेपालमा ल्यानुपर्नेमा जोड दिइन्। सरकारले चीनमा रहेका विद्यार्थीहरूमा कोरोना भाइरस संक्रमित छन् वा छैनन् भनी स्थानीयहरूलाई परामर्श गर्न नसक्दा पनि आन्दोलित भएको देखिन्छ। 

तस्विर : शिला तिम्सिना 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.