|

ज्वाकिन फिनिक्सले फिल्म जोकरबाट यस वर्षको सर्वोत्कृष्ट अभिनेताको अवार्ड हात पारे। आइतबार राति अमेरिकाको लस एन्जल्समा भएको समारोहमा उनले भावुक मन्तव्य दिए। उनले दिएको मन्तव्यको भावानुवाद यहाँ प्रस्तुत गरिएको छ

म यहाँहरू सबैप्रति असाध्यै असाध्यै कृतज्ञ छु।

मसँगै चयनमा परेका साथीहरू वा यस हलमा उपस्थित महानुभावभन्दा ठूलो भएँ भन्‍ने भावना मेरो मनमा पटक्कै आएको छैन। किनभने हामी सबैले त्यही माया बाँड्ने हो, जुन माया दर्शकहरूले चलचित्रप्रति दर्शाउँछन्।

अभिव्यक्तिको यो विधाले मलाई असाधारण जीवन जिउने अवसर दिएको छ। थाहा छैन, म यो क्षेत्रमा नभएको भने यतिखेर कहाँ हुन्थेँ।

मेरो विचारमा, मैले वा हामी चलचित्रकर्मीहरूले पाएको सबैभन्दा ठूलो उपहार यही हो कि हामीले आवाजविहीनहरूको आवाज बन्‍ने मौका पाएका छौं। म हाल हामीले सामूहिक रुपमा सामना गरिरहेका केही चिन्ताजनक मुद्दाहरुबारे सोचमग्न छु।

हामी प्राय: सोच्छौं, हामीहरू भिन्दाभिन्दै कारणले गर्दा बिजेता बनेका हौं। तर म त्यसरी सोच्दिन। तर म हाम्रो लडाइँमा विविधता होइन, साझापना देख्छु। चाहे हामी लैंगिक विभेदविरुद्ध लडौं, जातीय विभेदविरुद्ध लडौं, समलैंगिक अधिकारका लागि लडौं, आदिवासीले पाउनेपर्ने अधिकारका लागि लडौं वा पशुअधिकारका निम्ति लडौं-जुन कुराका निम्ति लडेपनि हामी खासमा अन्यायविरुद्ध लडिरहेका हुन्छौं। हामी कुनै एक देशविशेष, मान्छेविशेष, जातविशेष, लिंगविशेष वा प्रजातिविशेषले अर्कोमाथि थिचोमिचो वा नियन्त्रण गर्ने प्रवृत्तिविरुद्ध लड्ने कुरा गर्दैछौं।

मलाई लाग्छ, हामी प्राकृतिक संसारबाट एकदम अलग भएका छौं। हामी यतिबिघ्‍न आत्मकेन्द्रित भएका छौं, हामीलाई लाग्छ हामी नै ब्रम्हाण्डको केन्द्र हौं। यही सोचअनुरुप हामी प्रकृतिको दोहन गर्छौं, लुट्छौं। हामीलाई लाग्छ, गाईलाई कृतिम गर्भाधान गराउनु, बाच्छाबाच्छी जन्मेपछि तिनलाई आमाबाट अलग्याउनु र बाच्छाबाच्छीको दूध चोर्न पाउनु हाम्रो हक हो। यद्यपि बाच्छाबाच्छीबाट अलग हुँदा गाईले व्यक्त गर्ने पीडा वा उसको आर्तदान पनि उत्तिकै सत्य हो, उत्तिकै प्राकृतिक हो। हामी भने बाच्छाबाच्छीको भागको दूध कफीमा घोलेर पिइदिन्छौं।

हामी आफूलाई बदल्ने कुरा गर्दा डराउँछौं। त्यसो गर्दा धेरै कुरा गुमाउनुपर्ला भन्ठान्छौं। तर, हामी मानवमा रचनात्मकता र सिर्जनशीलताको अद्वितीय खुवी छ। हामीमा त्यस्तो प्रणाली बनाउन र कार्यान्वयन गर्न सक्छौं, जो समस्त जीवजन्तु र वातावरणका लागि हितकर छ।

म जीवनभर खराब मान्छे रहें, स्वार्थी रहें। कतिपय बेला निर्दयी भएँ, क्रुर भएँ, जोसँग काम गर्न पक्कै सजिलो थिएन।

म यहाँहरू सबैप्रति आभारी छु, किनकी तपाईंहरूले मलाई दोस्रो मौका दिनुभयो। मलाई लाग्छ, एकअर्काले साथ दिएको खण्डमा मात्रै हामी परिष्कृत हुन सक्छौं, उत्कृष्ट हुन सक्छौं। एक अर्काको गल्ती कोट्याएर होइन, सहयोग गरेको खण्डमा मात्रै अघि बढ्न सक्छौं। एकअर्कालाई सघाएरमात्रै समस्याबाट मुक्ति पाउन सक्छौ।

मेरो दिवंगत भाइले १७ वर्षको छँदा लेखेको गीतले भनेजस्तै… सबैको भलो चिताऊ, शान्तिले आँफै पछ्याउनेछ……

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.