मनोरञ्जन

मानव सभ्यताको मुन्दुमी कथा ‘सुम्निमा-पारुहाङ’

माघ २८, २०७६

    इलाम : किरात राई मुन्दुमी मिथकमा पृथ्वीमा मानव उत्पत्ति र विकास सुम्निमा र पारुहाङसँग जोडिन्छ। सुम्निमा र पारुहाङबीचको कथा किरात राई सभ्यतामा अर्थपूर्ण मानिन्छ। यही मिथकलाई इलामको गौतम बुद्ध सभागृहमा आयोजित राष्ट्रिय लोक नाटक महोत्सव–२०७६ मा प्रदेश १ ले प्रतिनिधित्व ग¥यो। 

    प्रविण पुमाको ‘सुम्निमा–पारुहाङ’ नाटकमा निनाम्मा र हेन्खामाको उत्पत्तिपछि हेन्खामाले मानव वस्ती बसाउन गरेका विभिन्न संघर्षलाई नाटकमा देखाइएको छ। नाटकमा किरात पुर्खाले भोगेका क्षण र त्यस बखतको वातावरणलाई प्रस्तुत गरिएको छ। 

    नाटकमा आकाशबाट पारुहाङ निनाम्माको भेषमा पृथ्वीसम्म आइपुग्नु, त्यहाँ उनको हेन्खामा नामक महिलासित साक्षात्कार हुनु, विवाहको प्रस्ताव राख्नु, हेन्खामाले प्रस्ताव अस्वीकार गर्नुजस्ता दृश्यहरूबाट कथा नयाँ मोडमा प्रवेश गर्छ। प्रस्ताव अस्वीकारपछि अपमान ठानेर निनाम्माले पृथ्वीमा सुख्खा बनाइदिनु र त्यसपछि ब्याकुल भएकी हेन्खामा छटपटाएको दृश्यले पानी, प्रकृति र मान्छेसँगको घनिष्ट सम्बन्धलाई जोडिदिएको छ।

    मानव सभ्यताको उदय र प्रकृतिसँग मानवको सम्बन्ध यसपछिको दृश्यमा झन् रोचक ढंगले प्रस्तुत गरिएको छ। पानीका लागि छटपटाएकी हेन्खामाले रुखको टोड्कामा रहेको पानी टाङटुमीको सहयोगमा पिएपछि उनी गर्भतवी हुन्छिन्। किनकि, त्यो पानीमा निनाम्माको बिज मिसिएको हुन्छ। यसपछि हेन्खामाको भेषमा रहेकी सुम्निमाले सन्तानको रूपमा बाघ, भालु र कान्छो सन्तानको रूपमा मानवलाई जन्म दिन्छिन्।

    माया दिएर हुर्काएकी सुम्निमाले तीन दाजुभाइ बाघ, भालु र मानव सधंै मिलेर बसेको देख्न चाहन्छिन्। तर, त्यो हुँदैन। यही मोडमा सृष्टिको उत्पत्ति तथा मानव, मानवेत्तर प्राणीजगतको उत्पत्तिसँगै एक अर्काबीचमा द्वन्द्व सुरुभएको नाटकमा देखाइएको छ। एउटै कोखबाट जन्मिएका चाप्चा (बाघ) र वान्पा (भालु) मानवेत्तर पात्र हुन् भने होङ्छा मानवीय पात्र। मानव र मानवेत्तर प्राणीबीचमा हुने द्वन्द्वलाई नाटकमा प्रस्तुत गरिएको छ।

    मानव र जनावरबीचको द्वन्द्वले उत्कर्ष लिएपछि होङ्छाले चाप्चा र वान्पालाई मारिदिन्छन्। तर, हेन्खामाले आफ्नो कुलको रक्षाका लागि चाप्चा र वान्पालाई मुन्दुम फलाकेर ब्यँुताउँछिन्। यसरी ब्युँतिएका चाप्चाले नै आमा हेन्खामाको हत्या गरिदिन्छ र भोकाएको वान्पाले खाइदिन्छ। होङछाको अनेकै प्रयासमा पनि हेन्खामा जीवित नभएपछि पारुहाङसँगै फर्किएको कथालाई कलात्मक रुपले नाटकमा प्रस्तुत गरिएको छ। 

    फरक व्यवहार र प्रवृत्ति भएका तीन दाजुभाइलाई आमा हेन्खामाले कसरी व्यवस्थित गर्न खोज्छिन्? यस्तै रोचक कथा नाटकमा उनिएको छ। मानव र प्रकृतिको तालमेलपछि मात्रै पृथ्वीको वास्तविक सौन्दर्य जीवित रहने नाटकको मूल आशय हो। नाटकमा निनाम्मा, हेन्खामा, हिमालय पर्वत, घना जङ्गल, साल्पा पोखरी, नदीको किनार, हराभरा धर्ती, सुख्खा धर्ती आदि ठाउँहरू देशगत परिवेशका रूपमा आएका छन्। 

    परिवेशअन्तर्गत बिहान, दिउँसो र बेलुका गरी तीन भिन्न कालको चित्रण गरिएको छ। त्यस्तै, यस नाटकको वातावरणअन्तर्गत प्राकृतिक स्वच्छता, कृतिम अप्राकृतिक चमत्कारी वातावरण जस्तैः क्षणभरमै हुने झरीबादल, आँधीबेहरी, उजाड–उदास, खडेरी, सुख्खा, हरियाली मनोम आनन्द, त्रास, भय, सुख, दुःख, आशंकायुक्त वातावरणको चित्रण गरिएको छ। नाटकलाई किशोर अनुरागले निर्देशन गरेका हुन्। 

नमीन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]