|

काठमाडौं : हिजोआज शहर बजार, गाउँघर सबैतिर चर्चित बनेको छ छक्का पञ्जाको गीत 'पूर्व पश्चिम रेल।' यो गीत युट्यूबमा अपलोड भएको १० महिना नपुग्दै एक करोड पटक हेरियो। मेला महोत्सव, विवाह उत्सव र पिकनिकमा नाच्न पनि धेरैजसो यही गीत बज्ने गरेको छ।

यो गीतका रचनाकार, संगीतकार र गायक हुन् राजनराज शिवाकोटी। यसअघि गत वर्ष उनकै सुर्के थैली खै गीत पनि चर्चित बनेको थियो। 'पूर्व पश्चिम रेल' र 'सुर्के थैली खै' चर्चित गीतका गीतकार, संगीतकार र गायक सिवाकोटी गत सोमबार बबरमहलमा भेटिए। उनले थाहाखबरसँग 'पूर्व पश्चिम रेल…' गीतको रचनागर्भ सुनाए। 

मेलम्चीको पानी र काकाकुल जिन्दगी

काठमाडौंमा मेलम्चीको सपना देखाइएको दुई दशक भन्दा बढी भइसकेको छ। मेलम्चीको पानी काठमाडौं आउने केही शुभ संकेत यहाँका सडकमा बिछ्याइरहेका पाइपले दिइरहेका छन्। तैपनि, 'आउला र!' भनेर शंका गर्दै काठमाडौंबासीले मेलम्चीको सपना देखिरहेका छन्।

'पानी सकिएर ट्याङ्की रित्तिएको ३ दिन भैसक्यो पानी आएन' गीतकार तथा गायक राजनराज सिवकोटीले २०६८ सालको घटना सम्झिए। उनले भने, 'मेलम्चीको पानी काठमाडौं ल्याउने चर्चा चलिरहरेको वर्षौं भइसकेको थियो, त्यही रित्तो ट्यांकीले मेरो दिमागमा गीतको एक लाइन फुराइदियो - काकाकुल झै भाको छ जीन्दगी।'

२०५१ सालमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले काठमाडौंका सडक पखाल्न सकिन्छ भनेको सुनेका राजनराजलाई १७ वर्षपछि झोक चलेछ। झोँकले राजनराजको दिमागमा गीतका लाइन फुरे र त्यहीँ गुनगुनाए:

काकाकुल झैं भको छ जीन्दगी,

मनको तिर्खा मनैको बन्धकी,

मेलम्चीको पानी सुन्धारामा झरेको

सपना देखे मायालु मैले तिम्रो सिउँदो भरेको।

'मेलम्चीको पानी काठमाडौं आउने कुरा सपना जस्तै थियो। त्यही एक किसिमको चिन्तनबाट यसलाई गीतको रुप दिएको थिएँ।' जसमा थपियो काठमाडौंको अर्को समस्या ट्राफिक जाम। अनि अर्को लाइन थपियो- पूर्व पश्चिम रेल, छुक छुक छुक।

कुनै ठाउँमा जान गाडी चढ्ने हो भने कति बेला पुगिन्छ ठेगान हुँदैन। जसको विकल्पमा बेलाबेला मेट्रो रेलको कुरा पनि उठिरहेको छ। राजनराजको दिमागमा रेलको कुरा पनि पुग्यो। उनले मेट्रोरेललाई काठमाडौंको मेलम्ची पछिको सपनाका रुपमा लिए। 'यो हाम्रो ट्राफिक जामको समस्या छ नि, रेल आयो भने त्यो समस्या बाट पनि छुटकारा पाइन्थ्यो।'

राजन गीत लेखनको सन्दर्भबारे भने, 'दुई वटा अवधारणा, मेलम्चीको पानी र पूर्व पश्चिम रेल आम नागरिकको रुचिको पनि विषय हुने भएकाले यसलाई माया प्रितीसँग जोडेर बनाउँदा बढी प्रभाबकारी हुन्छ भन्ने हिसाबले मेरो फस्ट क्लिक त्यसरी पनि भएको हो।'

यी दुई विषयले राजनको दिमागमा राज गरेपछि उनले यसका भर्स बुन्दै जान थाले। केटाको भागमा मेलम्चीको पानी पर्‍यो भने केटीको भर्समा चाहिँ पूर्व पश्चिम रेल। राजन भन्छन्, 'यी दुबै सपना जस्तै हो नि त!'

५ वर्ष थन्किएको पूर्व पश्चिम रेल

यो गीत लेखेर पाँच वर्ष थन्क्याएपछि बल्ल रेकर्ड हुने मौका जुर्‍यो। उनी अधिकांश गीतहरु लेखेर केही समय थन्क्याएर राख्छन्। जसको निरन्तरतामा पूर्व पश्चिम रेल पनि पर्‍यो। 

२०७२ सालमा राजनको 'सुर्के थैली खै?' ले बजार ततायो। जता गए पनि 'सुर्के थैली खै?' बजेको हुन्थ्यो। राजनलाई यो गीतको पपुलारिटीले नयाँ गीत ल्याउन दबाब दियो। उनले त्यो दबाबलाई सम्झिए, 'जब सुर्के थैली खै, गीत चल्यो एक किसिमले दर्शक श्रोता को माया र दबाब पनि थियो। अर्को के गर्छ त्यसले भन्ने।' त्यही माया र दबाबलाई सम्बोधन गर्न ५ वर्ष पहिले थन्क्याएको गीतलाई मित राजन ईशानको सहयोगमा रेकर्ड गराए।

'अब रेकर्ड गर्छु भनेर एरेन्जर राजन इशान र मसँगै बसेर एरेन्ज गर्‍यौं। एरेन्जको काम एक दिनमै सकियो।' एरेन्ज सकिएपछि पनि उनीहरुले कसरी गीतालाई दर्शक/श्रोतामाझ ल्याउने भन्ने निश्चित गरेका थिएनन्। राजनराजले भने, 'त्यति बेला सम्म यो गीतमा मेलम्चीको पानी नै समावेश थियो।'

५ वर्ष थन्क्याएर २०७२ सालमा रेकर्डिङ स्टुडियो पुग्दा काठमाडौंका सडकमा मेलम्चीको पानीका पाइप बिछ्याउन थालिसकेका थिए। राजनराजलाई गीतमा सपनाका रुपमा देखाइएको मेलम्चीको पानी सुन्धारामा खसेको सपना वास्तविकतामा परिणत हुन धेरै समय लाग्दैन भन्ने लागेछ। उनले भने, 'मेलम्चीको पानी आउन लाग्यो। ठाउँ-ठाउँमा पाइप बिच्छ्याउन थालिसके पछि यो त सपना नहुने भयो। केही समयमै गीतको प्रभावकारीता कम हुने भयो भनेर मेलम्चीको ठाउँमा खालि राखेको थिएँ।'

मेलम्चीको पानी सुन्धारामा झरेको विषय विपनामा नै देखिने भएपछि शब्दको खोजीमा रहेका राजनराजनलाई दीपकराज गिरीले 'छक्का पन्जा' थपिदिए। दीपक निर्माता रहेको 'वडा नम्बर ६' फिल्ममा राजनको 'सुर्के थैली खै'गीत चर्चित भएपछि नयाँ फिल्मका लागि गीत माग्न आएका रहेछन् दीपक। राजनराजले दीपकसँगको त्यो भेट सम्झिदै भने, 'दीपक दाइले 'छक्का पञ्जा' फिल्म बन्दैछ, के छ नयाँ? भन्नुभयो र मैले यो गीत सुनाएँ। अनि उहाँ र मैले मेलम्चीको पानीको ठाउँमा १ २ ३ ४ ५, २ ३ ४ ५ ६ भन्ने राखेर मिलाइयो।'

गीतले नयाँ रुप लियो, जुन यस्तो बन्यो:

केटा : १ २ ३ ४ ५, २ ३ ४ ५ ६

गन्दै हिसाब गरेको सपना देखेँ मायालु

मैले तिम्रो सिउँदो भरेको

केटी : पूर्व पश्चिम रेल छुक छुक छुक छुक

गुडेको सपना देखे मयालु तिमीसितै रिङरोड घुमेको

त्यो मुटुको ढुकढुकी र अहिले खुसी

पूर्व पश्चिम रेल गीत रिलिज अघिका २ दिन साह्रै गाह्रा रहेको अनुभव छ राजनराजको। 'सुर्के थैली खै' गीतको चर्चाले उनलाई 'पूर्व पश्चिम रेल' को भविष्यले सताएको थियो।

दर्शक र श्रोताको अपेक्षाले राजनराजको भोक र तिर्खा समेत लुटेको थियो।उनी भन्छन्, 'रिलिज पूर्वका २ दिन निन्द्रै लागेन। दर्शकको अपेक्षा 'सुर्के थैली खै' पछि के ल्याउँछ त भन्ने थियो। 'सुर्के थैली खै' ले क्रेज बनाइरहेको बेला यो गीत राम्रो हुँदैन कि, दर्शकले यसलाई मन पराउदैनन् कि भन्ने डर थियो। मैले दर्शक श्रोताको माया पाउने हो कि, गाली खानु पर्ने हो? भन्ने तनाब थियो।'

यो थियो रिलिज हुनुभन्दा २ दिन अघिदेखिको कुरा। रिलिज भएकै दिनको अनुभव सुनाए, 'जुन दिन रिलिज भयो त्यो दिन म पूर्णरुपमै अनियन्त्रित जस्तै भएको थिएँ।'

गीत युट्यूबमा अपलोड गरिएपछि राजनराजका घण्टौं गीतलाई कति जनाले हेरे भन्ने गन्दैमा बितेका रहेछन्। मुस्कुराउदै राजनराजले भने, 'रिलिज भएको ३-४ घण्टामा युटुबमा पनि ७ सय मात्रै भ्युज थियो। यो त एकदमै कम हो। अनि म आत्तिए, 'ला अब गएछ!''

गीत रिलिज भएको भोलिपल्ट 'सुर्के थैली जस्तो छैन' भन्ने प्रतिक्रिया पाएका रहेछन्। यसले यो गीतमा केही फरक रहेछ भन्ने भान दिएको बताए। दोस्रो दिन ब्युझिँदा सुरुमा उनले युट्यूबमा भ्यूअर्स हेरेछन्। 'बिहान उठेर हेर्दा त ७० हजार भ्युज पुगेको रैछ, कमेन्टस्हरु पनि लगभग राम्रो थियो। त्यो देखिसके पछि मेरो पहिलेको ह्याङ सबै गयो। दर्शक श्रोताले मन पाराउनु भएछ भन्ने भयो' राजनराजले भने। 

२४ घण्टापछि राजनराज पुतलीसडकको एउटा कफी क्याफेमा छिरे। जहाँ उनले 'पूर्व पश्चिम रेल' गीत बजिरहेको थियो। अनलाइनमा समाचार पनि आइसकेका थिए, '२४ घण्टामै १ लाख भ्युज आएको पहिलो गीत' शीर्षकमा।

अहिले १ करोड भ्यूज आउदा राजनराजले खुसी लागेको बताए। उनलाई थप खुसी लागेको रहेछ, त्यो हो, 'जता गए पनि पार्टीमा त्यहीँ गीत छ, प्रोग्रामहरुमा पनि त्यहीँ छ, पिकनिकमा त्यहीँ छ। हो, त्यो देख्दा झन् खुसी लाग्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.