|

काठमाडौं : सिन्धुली जिल्लामा सिन्धुलीगढी युद्ध संग्रहालयको निर्माण कार्य सुरु भएको छ। संग्रहालय निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ।

अहिले नेपाली सेनाले संरचनाका लागि काठ काट्ने, माटो खन्नेलगायत काम गरिरहेको छ। कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले संग्रहालयको निर्माणको काम सुरु भइसकेको बताइन्।

‘सिन्धुलीगढी संग्रहालय निर्माणको काम सुरु भएको छ,’उनले भनिन,‘पृथ्वी नारायण शाहको शालिक पनि अनावरण गरेका छौँ। संग्रहालय निर्माणको जिम्मा सेनाले पाएको छ।’ नगरपालिकाबाट चार करोड र संघीय सरकारबाट १४ करोड गरी कुल १८ करोड लागतमा संग्रहालय बन्ने उनले बताइन्। 


यस्तो बन्‍नेछ संग्रहालय

उपप्रमुख देवकोटाका अनुसार पहिलाका ऐतिहासिक वस्तुहरूलाई व्यवस्थित राखिन्छ। पुराना महाभारतका ऐतिहासिक घरहरु छन। ती घरहरुलाई यथावत राखी संग्राहलय बन्‍नेछ। बाहिरी संरचना मौलिकपना झल्किनेछ भने भित्री केही भागमा भने आधुनिक झल्किने खालका संग्राहलय बन्‍नेछ। संग्रहालयमा पुराना सामग्री प्रदर्शन कक्ष, पुस्तकालय, श्रव्यदृश्‍य,पाेखरीलगायत संरचना बन्नेछन्। 

‘धेरै वस्तुहरू बनाउनुपर्नेछ,’ देवकोटाले भनिन्,‘हाम्रै कार्यकालमा सक्ने लक्ष्य छ। यो ऐतिहासिक जीत भएको युद्धकालको रणभूमि हो। यसको धेरै महत्व छ। संग्रहालय निर्माणको काममा हामी निरन्तर लागिपरिरहेका छौँ।’ करिब ३५ बिगामा फैलिएको सिन्धुलीगढी कमलामाई नगरपालिका ३ नम्बर वडामा पर्दछ।

ब्रिटिस सैनिकलाई नेपाली सेनाले पराजय गरेको सिन्धुलीगढी

नेपाल आक्रमण गर्न आएको ब्रिटिस सैनिकलाई दुई सय ५० वर्ष अगाडि नेपाली सेनाले पराजय गरेको स्थान सिन्धुलीगढी हो। सिन्धुली जिल्लाको राजनीतिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थानको रूपमा सिन्धुलीगढीलाई लिने गरिन्छ। यो बिपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करिब २० किलोमिटरको दूरीमा रहेको छ।

समुद्री सतहबाट १४ सय मिटर उचाइमा रहेको सिन्धुलीगढीमा अहिले पहिलाका जेलघर,अदालत लगायतका संरचनालाई तारबार र ढुंगाको गारो लगाएर व्यवस्थित गरी राखिएको छ। ती ठाउँ हेर्नका लागि त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक जाने  गरेका छन्। हरियाली जंगल,ती ऐतिहासिक वस्तुहरूको दृश्यले त्यहाँ पुग्ने जो कोही मग्नमुग्ध हुने गर्छन्।

वि.स १८२४ कात्तिक २४ गते इस्टइण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको २ हजार चार सय अंग्रेज फौजलाई राजा पृथ्वीनारायण शाह फौजका वंशु गुरुङको नेतृत्वको नेपाली फौजले सिन्धुलीगढीबाट पराजित गरी भगाएको इतिहास पढ्न पाइन्छ। 

सिन्धुलीबाट फर्केपछि

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.