|

काठमाडौं : उपत्यकामा साँझ पर्दै गएपछि यात्रुले सहजै सार्वजनिक यातायात चढ्न सक्दैनन्। प्रतिक्षालयहरूमा हजारौं यात्रुको भीड र सवारी साधनको अस्तव्यस्त चाप हुन्छ। समयमै सवारीसाधन नआउने र बल्लतल्ल आएपनि यात्रुहरुबीच हुने ठेलमठेलले साँझको समयमा ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त हुने गरेको छ। 

यात्रुको सहजताको लागि महानगरीय ट्राफिक महाशाखाले २०७४ पुष २ गतेदेखि काठमाडौं उपत्यकाका एनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चाबहिलमा लाइन लागेर गाडीमा चढ्ने अभियान शुरू गरेको थियो।

शुरूवाती चरणमा अधिकांश स्थानमा कार्यान्वयनमा आएको सो अभियान अहिले रत्नपार्कमा मात्र सीमित छ। रत्नपार्कबाहेक अन्य ठाउँमा यात्रुहरूले लाइन लागेर सार्वजनिक यातायाता चढ्न छोडेका छन्। सबैभन्दा अस्तव्यस्त त सुन्धारा (एनएसी) मा देखिन्छ।

व्यवस्था भएपनि लाइन नलागी बस र माइक्रो चढदा यात्रुलाई असहज अवस्था सिर्जना भइरहेको छ। यो उपत्यकामा सबैभन्दा बढी यात्रुको चाप रहने प्रतिक्षालय हो।

गल्फुटार जाने ३० वर्षीया रत्नकुमारी श्रेष्ठले ३० मिनेट कुर्दा पनि आफ्नो गन्तव्यमा जाने सवारी नपाएको गुनासो गरिन्। उनले भनिन, 'ठेलामठेल र भीडको कारणले  गाडी नै चढ्न सकेकी छैन। लाइन लागेर चढ्ने व्यवस्था भएको भए १० मिनेट अगाडि चढेर म गइरहेको हुन्थे।'

उनी न्युरोडको होलसेल पसलमा काम गर्छिन्। दैनिक न्युरोड आउनुपर्छ। पहिले भने एनएसी अगाडि लाइन लागेर बस चढेको उनले बताइन। 'हिजोआज लाइन लाग्न पनि छाड्यो, सहजै गाडी चढ्न पनि नसकिने भयो,' उनले गुनासो गरिन् 'नियम बन्छ, तर त्यसलाई निरन्तरता नदिँदा हामी जस्ता कामकाजी महिलालाई गाह्रो भइरहेको छ।'

स्वयम्भू जानको लागि गाडी कुरेर बसेका शम्भु बस्नेतको पनि उस्तै तीतो अनुभव छ। भीड भएको कारणले सहजै माइक्रो चढ्न नसकेको उनले बताए। लाइन लागेर चढ्ने व्यवस्था भएको भए सहज हुने, तर एक वर्ष अगाडि रहेको लाइन बस्ने नियम समेत हराएको उनले बताए।

उनी प्रश्न गर्छन्‌, 'अहिले कसरी त्यो व्यवस्था हट्यो, अचम्म लागेको छ। रत्नपार्कमा भने अहिले पनि लाइन लागेर चढ्ने व्यवस्था छ। एकै दिन लाइन लाग्ने अभियान थालेको रत्नपार्कमा अहिले पनि छ आरएनसीमा किन हटयो?'

'एनसीमा पुनः लाइन लाग्ने व्यवस्था गर्छौं'

महानगरीय ट्राफिक महाशाखाले यात्रुको सहजताको लागि लाइन लागेर सार्वजनिक सवारीसाधनमा चढ्ने अभियान शुरू गरेको थियो। तर, काठमाडौं मल अगाडि केही समय लाइन लागे पनि पछि यात्रुले आफैँले लाइन अनुशासन तोडेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवन कमार श्रेष्ठ बताउँछन्।

लाइन लागेर गाडीमा चढ्नका लागि यात्रु स्वयम्‌ जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। 'जिम्मेवार भएर लाइन लागेमा सबै यात्रुले सिट पाउँछन्‌,' श्रेष्ठले थपे, 'बृद्ध र अशक्त नागरिकलाई लक्षित गरी लाइन लागेर चढ्ने व्यवस्था गरिएको थियो, नियम बनाएपनि यात्रु आफैंले नियम उल्लंघन गरे।'

उनका अनुसार  अहिले रत्नपार्कमा भने यात्रुहरु अनुशासित भई लाइन लागेरै सवारीसाधन चढिरहेका छन्‌। लाइन बस्ने अभियानलाई पुनःशुरू गर्ने तयारी गरिरहेको श्रेष्ठले थाहा खबरलाई जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.