सातजनालाई रोजगारी दिँदै

|

दाङ : पछिल्लो समय हरेक अभिभावकहरूको आकांक्षा आफ्ना सन्तानलाई डाक्टर, इन्जिनियर, पाइलट इत्यादि विशिष्ठ भनिएका पेशाकर्मी बनाउने हुन्छ। तर, दाङमा डाक्टर बन्‍न चिकित्साशास्त्र पढ्दै गरेका एक युवाले पढा छोडेर ह्याचरी उद्योगतिर लागेका छन्।

रुकुम घर भएका २६ वर्षीय राजन केसीले दुई वर्षसम्म फिलिपिन्समा एमबिबिएस अध्ययन गरे। अहिले पढाइलाई बीचमै छोडेर लोकल कुखुरा उत्पादनको लागि ह्याचरी उद्योग स्थापना गरेका छन्।

दाङको तुलसीपुर उपहानगरपालिका-१२ फूलवारीको दमारगाउँमा आफ्ना भिनाजुसँग मिलेर उनले उद्योग संचालन गरेका बताए। केसी र काभ्रे घर भएका भिनाजु रामकुमार अधिकारीले जिल्लामा पहिलोपटक स्थानीय जातका कुखुरा उत्पादनको लागि दुई करोड रुपैयाँभन्दा बढीको लगानीमा ह्याचरी र लोकल कुखुरापालन फार्म संचालन गरेको हुन्‌।

केसी डाक्टर बन्ने उद्देश्यले एमबीबीएस पढ्न फिलिपिन्स गएका थिए, तर डाक्टरभन्दा किसान बन्ने सोच भएपछि भिनाजुसँगको सहकार्यमा पश्चिम नेपालकै नमुना र एक मात्रै लोकल कुखुरा उत्पादन केन्द्र स्थापना गरेको र यो पेसा आफूलाई मन पर्ने भएकाले पनि चिकित्सा शिक्षा अध्ययन छोडी यता लागेको केसीले बताए।

‘यो पेसा संचालन गरेका एक वर्षभन्दा बढी भयो, म सन्तुष्ट नै छु,। यसबाट हामी सफलतातिर गएका छौँ,' उनले भने. 'यदि मैले चिकित्सा शिक्षाभन्दा पनि कृषि विषय पढेको भए अझ सहज हुनेथ्यो कि जस्तो लाग्छ? तर, पनि अहिले सिक्दै जान लागेको छु।'

त्यसैगरी, केसीका बुबा नैन केसीले भने छोरालाई चिकित्सा शिक्षा अध्ययनका लागि फिलिपिन्स पठाएको भएतापनि नेपालमा त्यसको खासै राम्रो अवस्था नभएपछि व्यवसाय गर्नतिर लगाएको बताए। उनले भने, ‘छोराले दुई वर्ष जति भएको थियो पढ्न लागेको, तर नेपालमा बजारको उपयुक्त लागेन।'

छोराले पनि अब 'डाक्टर बनेर केही होला जस्तो लाग्दैन' भनेपछि बाबु-छोराको सल्लाहअनुसार नै पढाइ रोकेर व्यवसाय गर्न लागेको उनले बताए। करिब एक वर्षसम्म यसबारे अनुसन्धान गरी प्रदेश-५ लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशलाई 'पकेट एरिया' बनाएर दाङमा उद्योग संचालन गरेको केसीले बताए। 

त्यसैगरी, अर्का संचालक रामकुमार अधिकारी पनि रेन्टुरेन्ट चलाएर आएका थिए, तर उनले पनि अब कृषिमा केही गर्नुपर्छ भन्‍ने सोचका साथ यो पेसा अंगालेको बताए। उनले भने,'हामीजस्ता युवाले पेसा छाडेकै कारण अहिले कृषि पेशा गर्नेहरुको प्रतिशत ८० बाट ६० मा झरेको छ, कृषिमा सम्भावना छ, युवाहरुले यसतर्फ ध्यान दिनैपर्छ।'

लोकल कुखुरालाई दुर्लभ हुनबाट बचाउन उद्योग संचालनमा ल्याएको उनको भनाइ थियो। हप्तामा पाँच हजार चल्ला उत्पादन गर्दै आएको भन्दै उनले एक दिनको एउटा चल्लाको मूल्य ६० रुपैयाँदेखि माथि तोकिएको समेत बताए।

त्यसैगरी ठूला कुखुराको मूल्य ५५० रुपैयाँ रहेको उनले बताए। अहिलेसम्म २ करोड १३ लाख रुपैयाँ लगानी भएको र थप तीन करोड ५० लाख रुपैयाँसम्म लगानी गर्ने योजना रहेको बताए। अहिले आफूसहित सातजनाले रोजगार पाएको संचालक अधिकारीको भनाइ छ।

अहिले खोरमा एक दिनदेखि एक वर्षसम्मका लोकल कुखुरा रहेका छन्। ह्याजरीबाट उत्पादित चल्ला प्रदेश-५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पठाउने गरिएको छ।

यी दुई युवाले एक वर्षअघि दुई विगाहभन्दा बढी क्षेत्रमा 'राइसा ह्याचरी एण्ड पोल्टी फार्म' खोलेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.