|

बागलुङ: बागलुङको एक विद्यालयले आफैंले गरेको विज्ञापन विपरित लेखापाल नियुक्त गरेको छ। प्रचलित पद्धतीहरुको सामान्य भाषासमेत नबुझी उमेर हद र विषय तोकेका कारण लेखापाल नियुक्तीपछि विद्यालय नै विवादमा तानिएको छ। विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङमा लेखापाल छनौटको विषयलाई लिएर अहिले तनाव भएको छ।

विद्यालयले लेखापाल नियुक्तिका लागि लेखा विषय लिई कक्षा १२ उत्तिर्ण गरेका उम्मेदवारलाई आवेदन आव्हान गर्दै विज्ञापन गरेको थियो। तर विद्यालयले अर्थशास्त्र मुल विषय भएकी उम्मेदवार छनौट भएपछि विवाद निम्तिएको हो। लेखापालका लागि आवेदन दिएका पाँचजना उम्मेदवारमध्ये अर्थशास्त्र विषयमा कक्षा १२ उत्तिर्ण गरेकी टुककुमारी शर्मालाई छनोट गरिएको छ। लेखापालमा नियुक्ति पाएकी बागलुङ नगरपालिका–४ की टुककुमारीले विद्यालयमा दिएको दरखास्तमा उल्लेख भए अनुसार उनको उमेर ४९ बर्ष पुगिसकेको छ।

कुनै पनि सरकारी निकायमा कर्मचारीको नियुक्ती गर्दा हुने विज्ञापनमा महिला र पुरुषको उमेरहद फरक हुन्छ। महिलाको हकमा ४० बर्ष र पुरुषको हकमा ३५ बर्षको उमेरहद लोक सेवाले लिने अधिकांश परीक्षाहरुमा लागु हुने गरेको छ। सम्बन्धित विषयको कर्मचारी छनौटका लागि गरिने विज्ञापनहरुमा पनि उम्मेदवारले हाँसिल गरेको न्यूनतम योग्यता तोकिएको हुन्छ। सम्बन्धित पदका लागि मुल विषय वा त्योसँग सम्बन्धित तोकिएका विषय अध्ययन गरेका उम्मेदवारले दरखास्त दिन पाउने व्यवस्था लोक सेवा आयोग तथा शिक्षा सेवा आयोग र सरकारी अन्य संस्थानहरुका विज्ञापनहरुमा समेत उल्लेख भएको पाईन्छ।

लेखापाल छनौटका लागि विषय विज्ञको रुपमा विद्यालयले बागलुङ नगरपालिकाका लेखा अधिकृत जब्बर बहादुर भण्डारी र विश्वकर्मा माविका लेखा शिक्षक गोविन्द सापकोटालाई जिम्मेवारी दिएको थियो। परीक्षामा सहभागी उम्मेदवार नारायण गौतमले विद्यालय आफैंले गरेको विज्ञापनको धज्जी उडाउँदै नियम मिचेको बताए। गौतमले न्याय पाउँ भनी विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई निवेदन समेत दिएका छिन्। लोक सेवा आयोगको प्रचलित नियम अनुसार महिलाको हकमा ४० बर्ष उमेर ननाघेको र लेखापालको लागि अर्थशास्त्र, गणित वा लेखा विषयमा कक्षा १२ उत्तिर्ण गरेको उम्मेदवारले पनि सहभागीता जनाउन पाउने व्यवस्था छ। 

लोक सेवाले गरेको व्यवस्थाबारे जानकारी भएपनि विद्यालयको विज्ञापन नै नहेरी परीक्षामा सहभागी भएका विज्ञहरुले लेखापाल छनौट गरेका थिए। विद्यालयले गत पौष १० गते स्थानीय दैनिक पत्रिकाहरुमा १५ दिने सुचना जारी गर्दै लेखा विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका ३५ बर्ष उमेर ननाघेका उम्मेदवारहरुलाई दरखास्तका लागि आव्हान गरेको थियो। ‘विज्ञापन अनुसारको दरखास्त लिने नलिने भन्ने विद्यालयको कुरा हो, हामीले त विद्यालयले उपलव्ध गराएका उम्मेदवारको लोकसेवाको मापदण्ड अनुसार परीक्षा र अन्तरवार्ता लियौं,’ बागलुङ नगरपालिकाका लेखा अधिकृत जब्बरबहादुर भण्डारीले भने ‘विज्ञापन कसरी भएको छ भनेर हेरिएन, त्यो हाम्रो काम पनि होईन।’ परीक्षामा सहभागी भएर उत्कृष्ट अंक ल्याउने उम्मेदवारलाई छनौट गरेको उनले दाबी गरे। 

यता विद्यालयले भने नगर शिक्षा शाखासँगको सल्लाहमा विज्ञापन गरेको र सोही अनुसारका दरखास्त लिन खोज्दा अवरोधहरु आएको जनाएको छ। ‘मैले विज्ञापन अनुसारको दरखास्त मात्रै लिउँ भनेको हुँ, साथीहरुले उमेरको हकमा ४० बर्ष पाइन्छ भन्नुभयो,’ प्रधानाध्यापक शान्तमणि ढकालले भने, ‘अर्थशास्त्र विषय भएकाको निवेदन नलिउँ भनेको, तर धम्की आयो, दबाव दिईयो र जर्बजस्त म नभएको बेला निवेदन दर्ता भएको हो।’ ढकालले लेखापाल छनौट आफैंलाई चित्त नबुझेको भन्दै चौतर्फी घेरामा परेको दाबी गरे। ‘कस्ले कसरी धम्क्याए भन्ने विषयमा अदालतमा गएर बोलौंला,’ ढकालले भने ‘न्याय अन्यायको कुरा अदालतले छुट्टाउँछ।’ तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासराज भण्डारीले भने परीक्षा र छनौटप्रक्रिया निष्पक्ष भएको दाबी गरेका छन्‌।

‘प्रचलित नियम र हाम्रो विज्ञापनमा केही फरक भयो कि भनेर प्रधानाध्यापकलाई भनेको छु,’ उनले भने ‘खास के रहेछ केही दिनमा बसेर छलफल गरौंला, छनौट प्रक्रियामा शंका गर्ने ठाउँ छैन।’ आफै|ले गरेको विज्ञापन विपरितको दरखास्त लिएर विवादमा आएको विद्यालयले विषयविज्ञलाई दोषारोपण गर्दै आएको छ। विषयविज्ञहरुले आफूहरु प्रक्रियामा मात्रै सहभागी भएको भन्दै काममाथी शंका गरेको दाबी गरिरहेका छन्‌। 

विद्यालयले कर्मचारी लेखासम्बन्धी पदका लागि लेखा विषय लिई कम्तिमा १२ कक्षा उत्तिर्ण वा सो सरह, कम्प्यूटरमा दक्ष, अनुभवीलाई प्राथमिकता दिइने र उमेर हद १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनुपर्ने उल्लेख गर्दै विज्ञापन गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.