|

प्रिया मरिया

कसैले भनेथ्यो 'प्रेम सफल होस् या नहोस् तर अर्थपूर्ण होस।' त्यस्तै आफ्नो प्रेमलाई अर्थपूर्ण बनाउन प्रयासरत एउटा प्रेमीको शब्दबाट सम्बोधन तिमीलाई।

अहिले यो पत्र लेख्‍न बस्दा तिम्रो निर्दोष चेहरा मेरा आँखाअगाडि नाचिरहेको छ। थाहा छ, म तिम्रो यो चेहरासँग कुरा गर्ने गर्छु। थाहा छैन होला तिमीलाई।

 मेरो कल्पनामा दौडिने तिम्रो तस्वीरले मलाई पनि असाध्यै प्रेम गर्छ। मैलेजस्तै। यो प्रेमपत्र होइन। यो सायद मेरो एकालाप हुनसक्छ।

कुनैदिन यो एकलाप तिमीसम्म पुग्‍नेछन् भन्ने अर्को पक्ष पनि छ। यदि त्यसो हुनेछ त त्यो अर्थमा यसलाई प्रेमपत्र भन्‍न पनि मिल्ला। तर, आजको वर्तमानमा उभिएर भन्दा यो खाली मेरो हृदयबाट निस्किरहेको आवाज हो। जुन कहीँ कतै अभिव्यक्त हुने ठाउँ नपाएर यी कागजका पानामा मात्र पोखिन विवश छन्।

 उसो त मेरो प्रयास प्रेमपत्र लेख्‍ने भन्‍ने पनि होइन। खाली प्रेम गर्ने हो। आकाशको जस्तो विशालता र सागरजस्तो गहिराइमा दाँजिन मिल्ने प्रेम। विश्वास गर, मेरो प्रेम अभिव्यक्त गर्न यी शब्दहरू पनि काफी छैनन्। तर, सोच्दा, त्यस्ता शब्दहरू पनि त बनेका छैनन् जसले यो हृदयको आवाजलाई ठ्याक्कै त्यसैगरी अभिव्यक्त गरोस्। आँखाहरू प्रेमिल हुन्छन्। आँखाहरू सायद प्रेमका लागि झ्यालहरू हुन्। त्यसो भन्दा हाम्रो शरीर बन्द कोठा हो।

झ्यालबाहिर एउटा संसार छ र झ्यालभित्र पनि एउटा अर्कै संसार छ। आँखा नै त्यो माध्यम हो जसले भित्र र बाहिरको संसारलाई जोड्ने काम गर्छ। अलिक भूमिका धेरै भयो है। बुझ्‍न, जरुरी थियो।

ती आँखाहरूबाट तिमीभित्रको सम्पूर्ण संसार देख्‍न नपाए पनि मैले त्यो हृदयको एउटा पाटो तिनै आँखाहरूबाट चिहाएको छु।

पर्दा थोरै उघारिएको झ्यालको बाहिरबाट हेरेर महसुस गरेको छु कि त्यो संसारको एउटा स्थानमा मलाई पनि तिमीले कतै राखेकी छ्यौ र त्यो अर्थमा मैले आफूलाई भाग्यशाली ठानेको छु। समयले कहिलेकाहीँ कवि बनाइदिन्छ त कहिले प्रेमी। यी दुईबीच सायदै कुनै सम्बन्ध छ। कल्पनाको तिम्रो तस्वीरसँग कुराकानी गर्दागर्दै कहिलेकाहीँ म कवि बनिदिन्छु, कहिले सायर।

 हुन त जब हावाका झोकाहरूले तिम्रो केश सुम्सुम्याउछन् त्यतिबेला पनि मलाई कुनै अद्भुत कविता लेखिएजस्तो लाग्छ। तिमीले मुस्कुराउँदा, लजाउँदा तिम्रा आँखाहरूले कविता लेखिरहेझैँ लाग्छ। यी 'दृश्‍य कविता' देख्‍न पाउँदा म हृदयदेखि नै आनन्दित हुन्छु। त्यो क्षण कैद गर्न चाहन्छु। कवितामा उतारिदिन्छु। गजलमा कोरिदिन्छु। तिम्रो अदाको आफ्नो व्यक्तित्वभन्दा कती कमजोर बनिदिन्छन् मैले कवितामा उतार्न खोजेको तिम्रो अदाको व्यक्तित्व। तर, पनि म तिमीसम्म पुर्‍याउन सक्दिनँ यी कुराहरू।

अँ मेरो कल्पनामा दौडिरहने तिम्रो तस्वीरले भने सुनिरहन्छ, पढिरहन्छ र मसँग संवाद गरिरहन्छ। म हाम्रो प्रेमलाई यो रिक्तता र शून्यताको बादलभित्र मात्र कैद गर्ने छैन, बरु म त यो प्रेमको विशालतालाई कुनै दिन हृदयबाट बाहिर निकाल्नेछु र सिंगो संसारसामु उतारिदिनेछु। भन्नेछु, मुस्कुराई मुस्कुराई समय आएपछि केही कुरा तिमीलाई समय आएपछि सप्रेम।

उही तिमीलाई चाहने मान्छे

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.