-अर्जुनदृष्टि पौडेल
- जून बनी गर्नु बिदाइ छुट्ने बेलामा
नत्र गाह्रो हुन्छ मलाइ छुट्ने बेलामा
तिम्रो आँसु पर्यो भने, दिलमा आगो बल्छ
नकोरिदेऊ बिन्ती मलाई छुट्ने बेलामा
सायद मेरो ओठ सुक्ला, तिमीले नै गर्नु
आमालाई सम्झाई बुझाइ छुट्ने बेलामा
त्यही बेला हुरी आई, झ्याप्प निभाइदेला
नआउनु है दियो समाई छुट्ने बेलामा
युद्द लड्न हिँड्यो अर्जुन, नफर्कन सक्छ
हेर आँखा नझिम्क्याई छुट्ने बेलामा
- आफूलाई सर्कसजस्तो जिन्दगीमा राखिदिएको छु
अनि तिम्रो नाम जादुका खेलौना राखिदिएको छु
घरको भित्ता फोर्ने नियतले तिमी आएका रहेछौ
मैले त पूरै झ्याल ढोका खुला राखिदिएको छु
हेरेर दुनियाँको महत्व बुझ्छु भनिदियौ तिमीले
मैले कोरेर रिचार्ज कार्ड बाटोमा राखिदिएको छु
हेर्दैछु यो जीवनको खुत्रुकेमा उमेरका सिक्काहरू
आधा कसले राखेछ? मैले आधा राखिदिएको छु
छामी हेर, उडेर हेर, मैले आफ्ना खुट्टाहरू बेचेर
तिम्रा प्रत्येक सपनामा पखेटा राखिदिएको छु
-सन्दीप गौतम
-जूनसँग छोप्नु मुहार पागल हुन सक्छ
देख्यो भने तिम्रो शृंगार पागल हुन सक्छ
भेट्न आउँदा आँखा तिम्रो झुकाएर आऊ
नजर जुधे सारा संसार पागल हुन सक्छ
मन्दिर जाँदा चुराको संगीत नसुनाउनु,
मूर्तिसमेत बारम्बार पागल हुन सक्छ
लजाउने ,मुस्कुराउने हरकत नगर भो
मधुशालाको सारा बजार पागल हुन सक्छ
नजिक नआऊ ,बत्तीसामु झुमिएझैँ पुतली
झुम्मिएर यो मन यार पागल हुन सक्छ
ढलेको छ प्रेमरोगले तिम्रो पर्खाइमा
आइनौ भने यो गजलकार पागल हुन सक्छ
- अलीअली लजाइदियौ र अलीअली मुस्कुराइदियौ भने
जून पनि फिक्का हुनेछ तिमीले मुहार देखाइदियौ भने
यी सबैका आँखाहरू तिम्रै तलासमा हुनेछन् ,
अलिकती मात्र आँखामा गाजल लगाइदियौ भने
बिर्सनेछन् मान्छेहरु लैला मञ्जु र मुनामदनलाई
मेरो त्याग समर्पण र प्रेम बताइदियौ भने
कस्सम,त्यो विधाता पनि मदहोस भई धर्तीमै झर्नेछ
पाउजु ,घाँघरा र हातको चुरा बजाइदियौ भने
म हर किसिमका युद्धहरू जितेर देखाउनेछु,
केवल एकपल्ट हातमा गुलाब समाइदियौ भने
तपाईंको ईमेल गोप्य राखिनेछ ।