साहित्य

एउटा यस्तो प्रेम-२

फागुन २, २०७६

    काठमाडौं: मान्छेहरू बूढाबूढीको ठाकठुक परालको आगो हो भन्छन्। तर, यो प्रेमी-प्रेमिकाको ठाकठुकलाई के भन्दा हुन्, कहिलेकाहीँ सोच्ने गर्छु।

    ऊ मसँग रिसाएकी छे। सम्बन्धलाई मजबुत बनाउन कहिलेकाहीँ रिसाउनुपर्छ, झगडा गर्नुपर्छ भनेर कसले भन्दिएछ?

    यस कारण मेरो फेसबुक शान्त छ, मोबाइलले आराम पाएको छ।

    बिना काममा रिसाउनेहरूलाई रिसाउन दिने हो। पछि आफैं ठाउँमा आउँछन् ! फकाउने बानी पनि छैन ! इमानदारीका साथ भन्नुपर्दा मलाई फकाउन आउँदैन। मेरो यो कमजोरी हो।

    रिसले आफ्नो आफ्नो धर्म छोडेपछि ‘ओए घमण्डी, ट्विटर र फेसबुकको आइडी चाहियो’ भन्दै ऊ मलाई भेट्न आई। उसले मसँग यसरी मागी, मेरो एकाउन्ट मानौं उसको आफ्नै खल्तीको पैसा हो र मैले चोरेर राखेको छु।

    आइडी दिएँ।

    फेरि झोक्किई- ‘अनि पासवर्ड खै?’

    रुझेको बिरालोको आवाजमा भनेँ- ‘आइडी भन्या हैन त?’

    ‘दिने कि नदिने?’ उ झन् आगो भई।

    दुनियाँ यतिसम्म भर्चुअल भइसक्यो, प्रेमको विश्वास दिलाउन आइडी र पासवर्ड दिनुपर्ने !

    ‘पासवर्ड तिम्रो मुस्कान राखेको छु। आफैं हान्नू’,  मैले सिरियस जोक मारेँ।

    ऊ हाँसी। हासो आँखासम्म पुगेन।

    पुतलीसडकको लुम्बिनी तन्दुरीमा उसलाई मैले पहिलोचोटि कलेज ड्रेसमा देखेको हुँ। मेरो अफिसको खाजा खाने समय र उसको कलेजको ब्रेक टाइम एउटै रै’छ। ऊ साथीहरूसँग आएकी थिई।

    धेरै दिनसम्म यही घटना दोहोरियो। एकदिन चार आँखा गाभिए। म लाजले रातो हुँदै निहुरिएँ। सायद ऊ पनि निहुरिएकी थिई वा अरू केही गरी, मैले मेसो पाइनँ।

    संयोगले उसैसित अर्को घटना भयो। साँझ अफिसको काम सकेर कीर्तिपुर जान बसपार्क पुगेँ। मलाई कोलाहलमय वातावरण एकदमै मन पर्छ। मान्छेहरू हतारमा देखिन्छन्, चरा गुडँमा फर्किन हतार गरेझैँ। उसो त मान्छेको संख्याभन्दा कीर्तिपुर जाने गाडीहरू एकदमै कम छन्।

    मान्छेहरू गाडी चढ्न यसरी हानथाप गर्छन्, मानौं यो अन्तिम गाडी हो, जुन कीर्तिपुर नगरी हुँदै अमेरिका जाँदै छ!

    मान्छेको रमिता हेर्दै गर्दा त्यही भिडमा देखेँ उसलाई, जोसँग मेरो आँखा फ्रिज भएको थियो र मन चाहिँ पग्लिएको थियो। नजिक हुँदा राम्ररी नियाल्ने मौका पाएँ। उसको निधार ठूलो थियो। सोचेँ, भाग्यमानीको निधार ठूलो हुन्छ। नाक पनि लामै थियो, बाहुनी रै’छे केटी।

    मान्छे राम्रै थिई। तर, आँखा ठूलो भइदिएको भए…!

    आ होस् ! भगवान्‌ले सबैलाई सबै कुरा कहाँ दिन सक्छन् र ! अलिअलि एडजस्ट गर्नुपर्छ जिन्दगीमा। संयोगवश ऊ म नजिक आई। मलाई पिसाब आउला जस्तो भो !

    ‘यति धेरै मान्छे छन्, गाडी किन कम होला के !’, ऊ फुसफुसाउन थाली।

    ‘बाटो जाम होला, गाडी आउँदै पो छन् कि? के गर्नु, सबैका आफ्नै समस्या छन्’,  मैले आदर्शको खेती गरेँ।

    कहीँ कतै नदेखेको मान्छेसँग कुराको सुरुवात गर्न गाह्रो लाग्छ मलाई। तर, एक-दुई पल्ट कतै देखेकोसँग बोल्न उति कठिन लाग्दैन। त्यसमाथि ऊसँग त मेरो आँखा जुधेको छ।

    मन दह्रो बनाएर सोधेँ, ‘यदि म गल्ती छैन भने पुतलीसडकमा हजुरलाई धेरै पटक देखेको छु।’

    ‘होला, म जस्तो यो दुनियाँमा सात जना छन्’, उसले भाउ खाई। तर, मैले उसलाई भाउ दिन छोडिनँ।

    ‘हजुर पनि कीर्तिपुर जान लाग्नु भाको?’ मैले नरम स्वरमा भनेँ।

    ‘म नयाँबजार बस्छु’, मेरो बोली खस्न नपाउँदै उसले जवाफ दिई।

    ‘हजुरसँग बोल्न पाउँदा खुशी लाग्यो’, मैले औपचारिकता निर्वाह गरेँ।

    ‘म पनि दु:खी त कहाँ भाकी छु र !’ तात्तातो जवाफ फर्काई।

    बोल्नमा चाहिँ केटी जब्बर रै’छे।

    ‘अनि तपाईं कुन ठाउँ बस्नुहुन्छ?’, शून्यतालाई चिर्दै उसले सोधी।

    ‘म ट्याङ्ला चोक।’

    ‘ए ए एकै ठाउँमा रै’छ’, उसले ओठ लेप्य्राई।

    ‘पुग्नुपर्ने एकै ठाउँ रै’छ, सँगै जाउँला सिटमा बसेर’, मैले दुक्का तुरुप फालेँ। उसले नाइँनास्ती गरिन।

    बस चढियो। खाली गाडी चढ्न पाउँदा किन-किन ठूलै युद्ध जिते जस्तो महसुस हुन्छ।

    सिटमा बसेपछि उसलाई सोधे- ‘कुन लेभल पढ्नुहुन्छ?’

    ‘बीबीए फस्ट सेमेस्टर।’

    ‘कुन कलेज …?’

    उसले यसरी मेरो प्रश्नको जवाफ दिई, मानौं यो कुनै हाजिरीजवाफ प्रतियोगिता हो, फटाफट जवाफ नदिए अर्कैले मेडल उछिट्याउँछ।

    उसले पनि मेरो परिचय सोधी। मेरो नाम सुनेर ऊ एकछिन मौन बसी। फेरि सोधी- ‘अनि थर?’

    मैले पौडेल भनिदिएँ।

    उसका अभिव्यक्तिले उसका रुचि र भावना थाहा हुँदै गयो। मैले कसैगरी पनि उसको नाम सोध्ने आँट भने गर्न सकिनँ।

    हामीबीच बोल्ने शब्द सकिएको थियो। अब के सोध्ने भन्ने दुविधा भयो मलाई। एक मनले भन्यो, धेरै बोल्दा मन नपर्ने हो कि ! ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ भन्ने कुरामा सचेत रहेँ।

    गाडीमा गीत घन्कियो-

    ‘पछ्यौरी लेऊ बैना,आजै टुङ्गो लगाइदेऊ माया छ कि छैन’

    मैले चुपचाप गीतको आनन्द लुटेँ। गीतकारले सही गीत लेखेछ। ड्राइभरले टाइममा गीत बजायो। मनमनै दुवैलाई धन्यवाद दिएँ।

    यहीबीचमा उसले फेसबुक खोली। खै के-के गर्दै थिई। मैले फेसबुक र ट्विटर सम्बन्धी आफूले भ्याएसम्मको फाइदा-बेफाइदाको कुरा गरेँ। फेसबुकमा मलाई सर्च गरेर प्रोफाइल हेरी।

    फोटो हेरी। मेरो स्टाटस पढी। एकैछिनमा डाटा बन्द गरेर मोबाइल लक गरी। मलाई झोक चल्यो।

    गाडी कुलेश्वर आइपुगेको थियो। एकलट गणेश मन्दिरको दर्शन गरेँ। उसले फेरि फेसबुक खोली अनि मलाई फ्रेन्ड रिक्वेस्ट पठाउँदै भनी- ‘मिल्छ भने एक्सेप्ट गर्नुहोला है !’

    बल्ल शान्ति मिल्यो। खुसीका बाछिटाले मनको क्यानभास रङ्गीन भयो। मन मादक बने पनि अनुहारको भाव उस्तै राखेँ। बस नयाँबजार आइपुग्यो। उसले भाडा तिर्दै भनी, ‘कुनै दिन तपाईंको पालो ल?’

    म खुसीले हैरान भएँ। कुनैदिन भाडा तिर्ने शर्तमा हामी छुट्टियौं। मन चङ्गा भयो। रुम पुगेँ।  फेसबुक खोलेँ। नाम- अम्नोसिस खरेल।

    वाह, कस्तो गजब नाम !

    घरमा बिहेको प्रेसर दिन थालेपछि मलाई कुनै केटीको नामभन्दा थर जान्ने उत्सुकता बढ्छ। हिन्दू धर्म त्यसमाथि परम्परागत परिवारमा गोत्र मिलाउनुपर्ने झन्झट जो छ।

    फेसबुकको रिक्वेस्ट एक्सेप्ट गरेँ। गुगलमा उसको नामको अर्थ धुइँधुइँती खोजेँ। तर, केही पत्तो लागेन। केही छैन, अम्नोसिसको अर्थ ‘पौडेलकी बुहारी’ बनाइदिएँ !

    ‘ओ हेल्लो, के छ खबर? भाडा तिरिदिने हैन?‘

    एक सातापछि फेसबुकमा म्यासेजको सिग्नल देखा पर्‍यो। आएको कुन ठाउँबाट हो कुन्नि, मेसेन्जरको बाटो हुँदै मेरो मनसम्म पुग्यो।

    ‘अरु मलाई पुगेकै छ सानू, तिमी छैनौ तिम्रै कमी छ‘

    यति टाइप गरिसकेको थिएँ, मेटाएँ। बरु रिप्लाई गरेँ- ‘मौका नै कहाँ दिनुभयो  र?’

    ‘मिल्छ भने आज सँगै जाऔंला नि हुन्छ?‘ उसले आफ्नो मनसाय व्यक्त गरी।

    त्यसपछिका दिन नम्बरको आदानप्रदान गर्‍यौं। फोनमा उसले कलेजका हरेक घटना सुनाउँथी। जिन्दगी कुरा गर्थी। सपनाको कुरा गर्थी। आफ्नो रहर र सोखका कुरा गर्थी। जीवन-दर्शनका कुरा गर्थी। सबैभन्दा रोचक कुरा त उसलाई पोखरा मनपर्ने रहेछ। एकदिन उसले पोखरा मन पर्छ भनेकी थिइ। मलाई भन्न मन लागेको थियो, 'अलिकति मिहिनेत गर्नुभयो भने तपाई पोखराको स्थायी बासिन्दा हुने पक्कापक्की छ।'

    बैंकर हुने उसको लक्ष्य थियो। 'ऋण चाहियो भने धितो लिएर आउनु होला है।' ऊ आफ्नो लक्ष्यप्रति पूर्ण आशावादी थिई। मसँग त सम्पत्तिको नाउँमा मन बाँकी छ। भन्न मन थियो। तर, केले रोक्यो थाहा छैन।

    मैले आफ्नो जिन्दगीमा भएका उतारचढावहरूलाई फिक्सनाइज्ड गरेर सुनाउँथेँ। अधुरा प्रेम-कहानी सुनाउँथेँ।

    गाडिको यात्रामा नै हाम्रा अनेक विषय गफ हुन्थ्यो।

    म कसैसँग यसरी पहिलो पटक खुलेको थिएँ ‘साँच्ची म कतिऔं मा परेँ होला?’ ऊ जिस्किन्थी।

    एकदिन उसले सोधी- ‘हजुरले मलाई प्रेम गर्नुहुन्छ हो?’

    उसको यस्तो अनपेक्षित प्रश्नले धन्नै दिमाग पड्किएन ! कसैकी छोरीलाई म तिमीलाइ प्रेम गर्छु भनेर भन्ने आधार के? प्रेम गर्दिनँ भनेर पनि भन्ने कारण चाहिँ के?

    म रन्थनिएँ भित्रभित्रै। मानौं शान्त तलाउमा ढुङ्गा फाल्यो कसैले। मेरो वाक्य फुटेन। मौन बस्नुको अर्थ सहमति जनाउनु हैन। फेरि असहमति जनाउनु पनि त हैन नि !

    मैले लजाउँदै ‘अँ त मन पराउँछु’ भनिदिएँ। ऊ लाजले गुजुल्टो पर्दै मुस्कुराई। उछिट्टिएका दाँत बिछट्टै मन पर्‍यो मलाई, जुन यसअघि कहिल्यै महसुस भएको थिएन।

    जिस्किँदै भनेँ, ‘मन पर्नु र प्रेम गर्नुको अर्थ एउटै हैन नि। फेरि यो दुनियाँमा मन पर्ने सबै चिजलाई प्रेम गरिँदैन !

    शनिबारको दिन म एक्लै जाने गरेको कीर्तिपुर चियापसलमा उसलाई लिएर गएँ। चियाको अर्डर गरेँ।

    साहु बडो जान्ने भएर चियासँगै चुरोट लिएर आयो। मलाई भाउन्न भयो।

    ऊ आधाकप चिया नपिउँदै ‘काम छ’ भनेर निस्की।

    मैले चियापसलेलाई थर्काएँ। उसले गल्ती भएको सम्झ्यो र नीलो भयो।

    एक-दुई दिन ऊ बोल्न आइन। मेरो नैतिकताले उसलाई बोलाउन दिएन। तेस्रो दिन लामो म्यासेज पठाई, चुरोट छोड्नुस् भन्ने आशयको।

    ‘म चुरोट छोड्छु’, कसम खाएँ। तर, उसले पत्याए पो!

    ‘भयो-भयो, कसम खाएर नाटक नदेखाउनू। कसम तोडिनको लागि खाइन्छ! म भन्दा पहिले हजुरको जिन्दगीमा चुरोट आएको हो। के उसलाई यति सजिलै कसम खाएर  माया मार्नुहुन्छ?’ उसले पूरै दिमाग भुट्ने प्रश्नगरी !

    बोली मेरो ओठबाट सुरेली खेलिहाल्यो- ‘प्रेमको  लत लागेपछि यस्ता स-साना कुरा छोड्नु सामान्य हो ! चुरोट मेरो जिन्दगीको किस्सा हो,

    तिमी हिस्सा !’

    उसलाई अनेक विषय प्रति चासो हुने गर्थ्यो। ति चासो कहिले समाजतर्फ तर्सिन्थे त कहिले देशको व्यवस्थाप्रती। म जाने जति बोल्थे। उसले एकदिन अबेर राति फेसबुकमा एउटा प्रश्‍न सोधी

    ‘यदि कुनै दिन बाध्यतावश हाम्रो सम्बन्धमा पूर्णविराम लाग्यो के गर्नुहुन्छ?’

    अकस्मात आउने यस्तो प्रश्नमा मौन नै उत्कृष्ट जवाफ हो।

    तर उ जवाफ चाहन्थी।

     ‘प्रेमको अन्तिम लक्ष्य बिहे हैन। सम्बन्ध भन्ने चिजमा पूर्णविराम लाग्छ भन्ने कुरामा विश्वास गर्नुहुदैँन। सम्बन्ध भोलि केही दूरीमा रहला। हाम्रो सम्बन्ध फूल जस्तै पवित्र र कोमल छ। तिमीलाई थाहा छ, फूल चुँडियो भने कि कसैको शिरमा सजिन्छ कि त मन्दिरमा।’ खै कहाबाट आयो यस्तो जवाफ।

    धेरै बेरसम्म उसको जवाफ आएन।  मेरो कुरामा के-के सोचिरही होली । सायद मेरो कुरामा मौन सहमति थियो कि उसको ! मैले मोबाइलको मौन स्क्रिनमा उसको चालचुल पर्खिरहेँ। भोलीपल्ट सुनौलो बिहान पुन सुरु भयो।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]