आलटाल गरेपछि निजी कम्पनीको अनुमति खारेज

|

पर्वत : पर्वतको महाशिला गाउँपालिकामा रहेको फलामखानी उत्खनन गर्नको लागि प्रारम्भिक अध्ययन सहितको सर्वेक्षण गर्न सुरु भएको छ।

गाउँपालिका-५, लुँखुदेउराली र वडा नं. ६ फलाम खानीमा फैलिएको खानीबाट वर्षौं पहिलेसम्म फलामको धाउ निकालेर स्थानीयले प्रयोग गर्ने गरेको भए पनि पछि भने त्यो काम रोकियो। ठूलो क्षेत्रफलमा फैलिएको फलामखानीलाई उत्खनन गर्न सकेमा आर्थिक समृद्धिको सम्भावना देखेर पालिकाले यसका लागि आवश्यक पहल गरेको थियो।

‘फलाम खानी उत्खननका लागी सर्वेक्षण प्रक्रिया थालनी गरिएको छ। अब प्रारम्भिक सर्वेबाट आएको नतिजा अनुसार नै हामीहरू अगाडि बढ्ने छौँ’ गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले भने, ‘निर्वाचनको बेलामा मत माग्न जाँदा स्थानीयले पनि फलामखानीको उत्खनन हुनुपर्छ भन्नुभएको थियो। हामीले गरेको बाचाअनुसार धाउ निकालेर पालिकालाई समृद्ध बनाउने एउटा माध्यमका रूपमा यसलाई लिएका छौँ।’

निजी क्षेत्रले झुलाउँदा सर्वोच्चबाट अनुमति खारेज

केही वर्ष देखि निजी क्षेत्रको बुटवल सुनवल पर्वत खनिज उद्योग प्रणालीले खानी विभागबाट अनुमति लिएर अध्ययन गरेको थियो। तर, लामो समयसम्म पनि उत्खनन नगरी प्राकृतिक श्रोतलाई झोलामा राखेको भन्दै उक्त अनुमति खारेजीको माग गर्दै सर्वोच्चमा रिट परेपछि उक्त निजी कम्पनीले फलाम उत्खननको काम अगाडि बढाउन पाएको थिएन।

प्राकृतिक स्रोतहरूमा माफियाहरूको एकाधिकार रहेकोले त्यसलाई रोक्नका लागि महाशिला फलाम खानी सरोकार समिति गठन गरिसर्बोच्च अदालतमा अनुमति खारेजीको माग दाबीसहित मुद्दा दायर गरेपछि अनुमति खारेज गरेर फलाम खानीलाई खानी विभागको नाउँमा राखिएको प्रवक्ता ठकुरीको भनाई छ।

निजी क्षेत्रको बुटवल सुनवल पर्वत खनिज उद्योग प्रणालीले गरेको अध्ययन प्रतिवेदनको वास्तविक अवस्था के थियो भन्ने थाहा पाउन पनि अहिले इआरटी प्रविधिमार्फत अध्ययन थालिएको छ।

गाउँपालिकाका प्रमुख राजु पौडेलले निजी क्षेत्रको कम्पनीले गरेको पूर्वअध्ययनको विषयमा पत्ता लगाउनको लागि पनि जमिनभित्र करेन्ट पठाएर गरिने इआरटी परीक्षणमार्फत खानीको सम्भाव्यताको अध्ययन भइरहेको बताए।

परीक्षणसँगै फलाम रहेको क्षेत्रमा फैलिएको चट्टानको नमुनासमेत परीक्षणको लागि छिमेकी चीनको प्रयोगशालामा पठाइएको छ। यसको नतिजा आउनको लागि कम्तीमा पनि चार महिना लाग्ने र सकारात्मक नतिजा आएमा उत्खनन प्रक्रियाको लागि निजी वा सरकारी प्रयासबाट काम अगाडि बढाउने गाउँपालिका प्रमुख पौडेलको भनाई छ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रामक समाचार

फलाम खानी उत्खननको सम्भाव्यताका बारेमा अहिले प्रारम्भिक अध्ययनको काम चलिरहेको र यसको नतिजा आउन कम्तीमा पनि चार महिना लाग्ने भए पनि केही सञ्चारमाध्यमहरूमा उत्खनन नै सुरु भएको सन्देश दिने गरी समाचार प्रकाशन भएका थिए।

फलाम उत्खनन हुन लागेको भनी आएको अफवाहका कारण बस्ती, घर, जग्गा, वातावरणका विषयमा धेरै प्रभावितले फोन र सामाजिक सञ्जालमा जिज्ञासा राखेको गाउँपालिकाका प्रवक्ता ठकुरीको भनाइ छ।

‘यो प्रारम्भिक अनुसन्धान मात्रै हो यसको नतिजा सकारात्मक आएमा बृहत् योजनाका रूपमा अगाडि बढ्ने छ’ उनले भने, ‘उत्खनन नै हुने कुरा सुन्दा बस्ती, घर, जग्गा, वातावरणको विषयलाई लिएर केही दिनदेखि अत्यन्तै धेरै प्रभावितहरूले फोन र सामाजिक सञ्जाल मार्फत जिज्ञासा राख्नुभएको छ। कतिपय सन्देशहरू भ्रमपूण रहेका हुँदा आगामी दिनमा हुने सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउन सबैको सहभागितामा हुने छ।'

काठमाडौंमा केही समय अगाडि भएको एक्स्पो मेलामा प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन उद्योग मन्त्री मातृका यादव, मन्त्रालयका सचिव, खानी विभागका प्रमुख, उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका   लगायतका ब्यक्तिहरुसँगको अन्तरक्रियापछि फलाम खानी उत्खननको लागि प्रारम्भिक ध्यानाकर्षण भएको प्रवक्ता ठकुरी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.