संगै पोलियो थोपा पनि

|

काठमाडौं : सरकारले बिहीबारदेखि दादुरा रुवेला खोप अभियान सञ्चालन गरेको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अभियानको शुभारम्भ गरेका हुन्।

अभियानको औपचारिक उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतले ७५३ पालिकामै अभियान पुर्‍याउनुपर्ने बताए। उनले असर र स्वस्थ नागरिक निर्माणका लागि आफ्ना बालबालिकालाई खोप अभियानका सहभागि गराउन अभिभावकलाई समेत आग्रह गरे।

यस्तै, स्वास्थ्य सचिव खगराज बरालले सचेतभन्दा पनि पहुँच बाहिर रहेका, कामका सिलसिलमा बसाइँसराइ गरिरहने जनताका बालबालिकालाई प्रमुखरूपमा समेट्नुपर्ने बताए। उनले बालअधिकारको अन्र्तराष्ट्रिय महासन्धिका चार पिलरमध्ये बाँच्न पाउने पहिलो अधिकार भएको भन्दै सबै बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरे।

दुई चरणमा सञ्चालन गरिने यो अभियानको पहिलो चरण (फागुन महिना भर) प्रदेश १, २ र ५ का  ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ जना बालबालिकालाई दादुरा रुवेला खोप दिन लागिएको हो। खोप अभियानको दोस्रो चरण भने आगामी चैत महिनामा शुरु हुने छ।

त्यसबेला बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ जना बालबालिकालाई यो खोप दिइने तयारी भएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए।

उनका अनुसार दुई चरणमा गरी यो खोप ९ महिनादेखि ५ वर्षसम्मका करीब ३० लाख बालबालिकालाई दिइँदै छ। उनले यसपटक झापादेखि कञ्चनपुरसम्मका तराईका १८ जिल्ला चितवन र नवलपरासीलाई छाडेर सबै बालबालिकालाई दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाइने बताए।

अहिले नेपालमा पोलियोको शून्य अवस्था छ। तर यसलाई अझ सुरक्षित बनाउन जन्मेदेखि पाँच वर्ष मुनिका सबै बालबकालिकालाई पोलियो थोपा खुवाउन लागेको बताइएको छ। डा. गौतमले नेपालमा पोलियो उन्मुलनको अवस्था रहेकोले जोखिम मानिएका जिल्लामा दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाउन लागिएको बताए। 

नेपालमा पोलियो उन्मुलनको अवस्थामा रहेकोले जोखिम मानिएका जिल्लामा दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाउन लागिएको परिवार कल्याण महाशाखाले जनाएको छ। अभियान नेपाल सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफ र रोटरी क्लब र खोपका लागि अन्तराष्ट्रिय एलाइन्स गाभीको सहकार्यमा सञ्चालन गरिएको हो।

खोप अभियानका लागि महाशाखाले ३ लाख २२ हजार भाइल दादुरा रुवेला भाइल र एक लाख ७ हजार पोलियो भाइल खरीद गरेको छ। स्वास्थ्य मन्त्रालयले यो अभियान सञ्चालनका लागि ५ हजार सुपरभाइजर, ९ हजार स्वास्थ्यकर्मी र एक लाख स्वयंसेवक परिचालन गरिएको जनाएको छ।अभियानमा ५६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। 

नेपालमा सन् २००४ मा पहिलो दादुरा रुवेला खोप अभियान सञ्चालन भएको थियो। सामान्यतः हरेक चार वर्षमा हुने यो अभियान त्यसपछिका २००८, २०१२, २०१६ मा सञ्चालनमा क्रमश: दोस्रो, तेस्रो र चौथो अभियानको रुपमा सञ्चालन भएको थियो। २०२३ सम्म सरकारले नेपालमा रुवेला र दादुरुको संक्रमण शून्यमा झार्ने योजना गरेको छ।

दादुराबाट बच्‍न बच्चा ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा खोप लगाउनुपर्छ। हाल नेपालमा करिब ७० प्रतिशत बालबालिकासम्म दादुराविरुद्धको खोपको पहिलो मात्राको पहुँच पुगेको बताइन्छ। दोस्रो मात्रा लिने बालबालिका ७३ प्रतिशत मात्र रहेको सरकारी तथ्यांक छ। दादुराको खोप पहुँच पनि ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ।

सरकारले अभियानबाट दादुरा रुवेला खोप कभरेज ९५ प्रतिशतभन्दा बढी पुर्या‍इ दादुरा रुवेला निवारण गर्ने उद्देश्य राखेको छ। प्रत्येक १० लाख जनसंख्यामा ५ जनाभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ।

विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सन् २०२० सम्ममा दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो। संगठनले यसको समय थप गरेर  २०२३ मा  निवारण गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.