महानगर प्रमुख भन्छन्- राजनीतिक अभियान हो

|

काठमाडौं :  संघीय सरकारको राजधानी रहेको सहर काठमाडौंको बीच भागमा रहेको खुला ठाउँ टुँडिखेल विभिन्न वहानामा विभिन्न समयमा अतिक्रमण हुन थाल्यो। 

यसको विरोध र टुँडिखेललाई पहिलेको अवस्थामा फर्काउन सरोकारवाला निकायलाई दबाब दिन सर्वसाधरणहरुले गत कात्तिक २३ देखि विशाल मानव साङ्लो निर्माण गरी तीन महिने ‘अकुपाइ टुँडिखेल अभियान’ सुरु गरेका थिए। 

सम्पदा अभियन्ताले प्रत्यके शनिबार चेतनामूलक कार्यक्रम गरे। अभियानमा सर्वसाधारण सहभागी भए। त्यसको प्रभावले केही अतिक्रमित खुला भए। तर‚ तीन महिने अभियान सकिँदा पनि अपेक्षाअनुसार प्रगति नभएको अभियन्ताहरुले बताएका छन्। अहिले पनि पहुँचवालाले सार्वजनिक जग्गालाई निजी सम्पत्ति सरह उपयोग गरिरहेका छन्। 

टुँडिखेलमा के के भए कार्यक्रम? 

अकुपाई टुँडिखेल अभियानअन्तर्गत विश्व स्वतन्त्रता दिवसका दिन अतिक्रमित टुँडिखेललाई मुक्त बनाउने हिसाबले पहिलो चरणमा मानव साङ्लो बनाइयो। दोस्रो साता खरीको बोट पुनर्स्थापना, तेस्रो साता साहित्यिक सम्मेलन, चौथो साता सम्पदाका महत्त्व र त्यसमा देखिएका विकृति प्रतिबिम्बित गर्ने सम्पदा लडाई नामक पुस्तकबारे छलफल गरिएको थियो।

त्यस्तैगरी पाँचौं साता खेलकुदको दृष्टिकोणले टुँडिखेलको महत्त्व प्रतिबिम्बित गर्न तेक्वान्दो प्रदर्शनी, छैटौं साता खुलामञ्चमा जनताको डोजर लगेर सरसफाईको थालनी, सातौं साता स्थानीयको खुलामञ्चसँगको कथा र स्मृति वाचन कार्यक्रम भयो। आठौं र नवौं साता खुलामञ्चमा चित्र निर्माण तथा सरसफाई, दशौं साता सवारीसाधनमुक्त खुलामञ्च बनाउने सुरुवात स्वरूप काठमाडौं महानगरपालिकाका वडा २८ को सहकार्यमा सूचनाहरू टाँसियो।

एघारौं साता ‘हामी नबिर्सौं’ शीर्षकसहित खुला ठाउँ, काठमाडौं, टुँडिखेल, खुलामञ्च लगायतका विषयवस्तु समेटेर फोटो प्रदर्शनी भयो। त्यस्तैगरी बाह्रौ साता वीर अस्पताल र दरबार हाईस्कुलका अधिकारीहरूसँग छलफल र  तेह्रौ साता पत्रकार सम्मेलन गरिएको थियो। 

के भए उपलब्धि? 

अकुपाइ टुँडिखेल अभियान सञ्चालन भएपछि वीर अस्पतालले संरचनाका लागि सामान राख्न बनाएका कन्टेनरहरु हटेको छ। तर, सबै टहराहरु हटाइएको छैन। वीर अस्पतालले काम गर्ने कर्मचारी राखेको टहराहरु अहिले भत्काउँदै गरेको अकुपाइ टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले बताए।

‘वीर अस्पतालले सकारात्मक ढंगले नै काम गरिरहेको छ,’ अभियन्ता श्रेष्ठले भने, ‘दरबार स्कुलले स्कुल निर्माणका काम सकेकाले संरचना हटाउँछौँ भनेका छन्।’ खुला ठाउँको पक्षमा जनमत निर्माण भएको उनको भनाइ छ। खुलामञ्च खुला नभए पनि यो अभियानले स्थानीय सरकारलाई झक्झक्याइ उत्तरदायी बनाउने प्रयास भएको छ।

‘नागरिक समाजका अगुवाहरुलाई भेटेर झक्झक्यायौं,’ उनले भने, ‘वडा २८ लाई यो सम्बन्धमा संवेदनशील बनाई टुँडिखेलको अतिक्रमण हटाउन सहकार्य गरेका छौँ। नगरपालिकामा पटकपटक निवेदन दर्ता गरी न्यायिक समितिको संयोजकलगायतबाट अनुगमन गराई सोको प्रतिवेदन पेश गराएका छौँ।’

अभियानबाट पछि हट्यो महानगरपालिका

सम्पदा अभियानताले तीन महिनासम्म अकुपाइ टुँडिखेल अभियान सञ्चालन गर्दा महानगरपालिका जनप्रतिनिधि, वडाध्यक्षहरुले अभियानमा साथ दिने प्रतिवद्धता दिएका थिए। तर, उनीहरुले प्रतिवद्धता पूरा नगरेको अभियन्ताहरु बताउँछन्। अभियान अन्तर्गत काठमाडौं महानगरपालिका वडा २८ ले पुस  २६ मा अनाधिकृत सवारी साधनले खुलामञ्च कुरुप भएको भन्दै माघ १ देखि खुलामञ्चमा सवारी पार्किङ गर्न नमिल्ने भनेर सूचना टाँस गरेको थियो।

तर, नगरपालिकाले चासो नलिएको र कडिकडाउ नगरेकै काणले यी निर्णय लागु हुन सकेन। अहिले सवारीसाधन पार्किङले खुलामञ्च भरिएको छ। यस विषयमा नगरपालिकाका पदाधिकारी र जनप्रतिनिधि मौन छन्। 

महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले अभियान थालनी भएलगत्तै तीन महिनामा वीर अस्पताल र दरबार हाइस्कुल बनिसक्ने र सबै संरचना हटी खुलामञ्च खाली हुने बताउँदै अभियान थाल्नुको कुनै अर्थ नरहेको बताएका थिए। तर, तीन महिने अभियान सकिँदा पनि न खुलामञ्च खाली भयो न त हटाउने पहल नै थालियो। उनका यी आशलाग्दा बोली भाषणमै सीमित भयो। 

जनप्रतिनिधिको बेवास्ता

अभियानका संयोजक श्रेष्ठले तीन महिनासम्म निरन्तर जनस्तरबाट अकुपाइ टुँडिखेल अभियान सञ्चालन गर्दा जनप्रतिनिधिले चासो नदेखाएको बताए। उनले   भने, ‘महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य हामीले गरेको कार्यक्रम सहभागी पनि हुनुभएन। उपप्रमुखले साथ दिनुभयो। शाक्यलाई भेट्ने योजना बनाए पनि भेट्न पनि सकेनौँ। हामीले भन्दा पनि यो काम त उहाँले गर्नु पर्थ्यो। यो अभियान नगरपालिकाको राम्रो समन्वय हुन सकेन।’

टुँडिखेलको सार्वजनिक जग्गा सांस्कृतिक र राजनैतिक दलहरुका लागि पनि महत्त्व बोकेको बताउँदै जनप्रतिनिधिले पहल गरी टुँडिखेलको अतिक्रमण हटाउनुपर्ने बताए। अकुपाइ टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले सोचे अनुरुप महानगरका जनप्रतिनिधिले साथ नदिएको भन्दै दुखेसो पोखे।

उनले भने, ‘महानगरप्रमुखले तीन महिनामा सबै हटिसक्ने भनेका थिए। हाम्रो अभियान सक्यो। बरु हाम्रो पहलमा केही संरचना हट्यो। प्रमुख शाक्यको पहलमा केही काम भएको छैन। उपप्रमुख र वडाध्यक्षबाट पहल भैरहेको छ।’ 

‘जनताले मेयरलाई पाँच वर्षको लागि काम गराउने भनेर भोट दिई जिताएर पठाएको थियो,’ उनले भने, ‘स्थानीय सरकार जसरी  कानुन बनाइयो। त्यो अनुसार  उहाँले काम गर्न सक्नु भएको देखेका छैनौँ।’  

अबकाे बाटो अदालत 

अभियानका संयोजक श्रेष्ठले जनप्रतिनिधिले केही गर्न नसके कानुनी आधारलाई टेकेर अदालतलाई गुहार्ने बताउँछन्। ‘स्थानीय सरकार सञ्चालन ऐनले पनि अधिकार दिएकाले अतिक्रमण हटाउन स्थानीय सरकारलाई पहल गरेका  थियौं,’ अभियानका प्रवक्ता अधिकारीले भने, ‘नगरपालिकालाई बढी उत्तरदायी बनाउन खोजेका थियौँ। तर, काम भएन। हामीले पत्र पनि महानगरपालिकामा बुझाएका छौँ। ऐतिहासिक टुँडिखेल स्थानीय सरकारले बचाउन नसक्ने भयो। यो राष्ट्रको सम्पत्ति हो।’ 

उनका अनुसार अहिले युनेस्को र राष्ट्रिय मानव अधिकार आयोगमा जाने विषयमा छलफल भएको छ। संघीय सरकारले पनि केही नगरे त्यसपछि अदालतमा जाने तयारीमा छन्। 

सांस्कृतिक र राजनीतिक महत्त्व बोकेको टुँडिखेल

टुँडिखेलका स्थानीय एंव संघीय सांसद भीमसेनदास प्रधानका अनुसार राजा महेन्द्रले खुलामञ्च बनाएपछि त्यहाँ पञ्चायतको बेलाबेलामा कार्यक्रम हुन्थ्यो। त्यही ठाउँमा २०३६ र २०३८ सालको जनमत संग्रह, २०४२ सालको सत्यग्रह, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को सयुक्त जनआन्दोलन भएको थियो। त्यसैले जनआन्दोलनको उद्गम थलो खुलामञ्च मानिन्छ।

प्रधानले भने, ‘२०३६ सालमा विपीले सानो माइक राखेर खुलामञ्चबाट पहिलो भाषण सुरु गरेका थिए। पछि सबै देशका नेताहरुले त्यहाँ भाषण गर्थे। त्यसैले सांस्कृतिक पक्षमा मात्रै नभई राजनैतिकले पनि त्यो ठाउँको महत्त्व छ।’ 

उनले टुँडिखेल पानीको संकट पर्दा त्यहाँबाट निकाल्ने ठाउँ पनि रहेको बताए। उनका अनुसार पहिले टुँडिखेलमा पश्चिमबाट बगेको रामकोट भिमढुंगाडाडाँबाट आएको चिसो हावा आउथ्यो। स्वाच्छ वातावरणमा बृद्धाबृद्ध बसेर आराम गर्थे । तर, पछि बनेका ठूलठूला भवनका संरचनाले छेक्यो। 

कहिलेबाट सुरु भयो टुँडिखेलको विखण्डन ?

‘लिच्छविकालीन समयमा टुँडिखेल खाली थियो। हरियाली देखिन्थे। त्यही ठाउँले बाहिरका मान्छेहरु आकर्षित भएर सहर छिर्थे। पहिले बुढानीलकण्ठको गंगालल अस्पतालबाट सुरु भएर सबै समतल हरियाली मैदान थियो। रानी पोखरी बीच भागमा थियो,’ सांसद प्रधान भने‚ ‘पूर्व पट्टी बागमती नदी, पश्चिमपट्टी विष्णुमति अनि बीचमा टुकुचा। त्यसमा टुकुचा र विष्णुमतिको वरिपरि ठूलो ग्रासलाइन चौर थियो। त्यो नै टुँडिखेलको पुरानो वास्तविक एरिया हो।’

शाह र राणा शासन सुरु भएपछि ती समतल मैदानमा नारायणहिटी दबार, सित्तलनिवास, कृष्णशमसेरको दरबार, बागदरबार, सिहदरबार लगायत संरचना बनेको प्रधानले बताए। ‘यी सबै संरचना बनिसकेपछि बचेको भाग भनेको रानीपोखरी हो,’ उनले भने, ‘त्यहाँ खेलकुद मैदान र पोखरी थियो। २०१३ सालतिर टुँडिखेल व्यवस्थापन गर्नका लागि राजा महेन्द्रले हाकु बाजे भनिने व्यक्तिलाई जिम्मेवारी दिएपछि टुँडिखेलको विखण्डनको काम सुरु भएको होे।’

टुँडिखेलको बीच भागमा गुरुमार्पा वृक्ष रुख थियो। ‘त्यहाँ प्रत्येक फागु पूर्णिमामा जात्रा हुन्थ्यो,’ सांसद प्रधानले भने, ‘घोडेजात्रामा काठमाडौंमा भएको सबै देवी देवताको मन्दिरको रथ साटेर ठूलो जात्रा हुन्थ्यो। पछि राजाले मञ्चको रुख काटेर सैनिकमञ्च बनाइयो। यसरी सांस्कृतिक महत्त्व बोकेको टुँडिखेलमा जात्रा हुनै छाड्यो।’

प्रधानका अनुसार २०१८ सालतिर राजा महेन्द्रले बचेको टुँडिखेललाई सिमेन्टको पोल लगाएई संरक्षण गर्न बार लगाएका थिए। बिस्तारै शहिद गेट खोलियो। सुन्धारा पछाडि भएको सेनाको सचिवालय भवन टुँडिखेलमा बनाउन दिइयो। काठमाडौं महानगरपालिकाले भ्युटावर निर्माण व्यवसायी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्ससगँ सम्झौता गरेसँगै अहिले निर्माण सामग्री राख्दा झनै टुँडिखेल अस्तव्यस्त बन्दै गएको छ। 

अहिले पनि टुँडिखेलको सार्वजनिक जग्गा एकपछि अर्कोले कब्जा गर्दे आएका छन्। कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा अनधिकृत सवारी पार्किङ स्थल,पसल र बसपार्क बनेको छ। तर, संरक्षणमा कुनै सरकारी निकायको  ध्यान पुग्न सकेको छैन। 

‘दरबार स्कुल र वीर अस्पताल बनेपछि खुलामञ्च खुलै हुन्छ’

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दरबार स्कुल र वीर अस्पताल बनेपछि खुलामञ्च खुलै रहने बताएका छन्। ‘दरबार हाईस्कुल हेन्डओभर हुँदैछ,’ उनले भने, ‘स्कुल बनेपछि चिनियाँहरु कोही बस्दैनन्। वीर अस्पताल अन्तिम चरणमा छ। बनेपछि खुलै रहन्छ।’

निर्माण सामग्रीले खुलामञ्च अतिक्रम गरिएको विषयमा उनले सडक जामलाई व्यवस्थापन गर्न टुँडिखेलमा निर्माण सामग्री राख्न दिएको तर्क गरे। प्रमुख शाक्यले अकुपाइ टुँडिखेल अभियानलाई राजनीतिक अभियान रहेको आरोप लगाए। उनले भने, ‘अकुपाइ टुँडिखेल अभियान राजनीतिक अभियान हो। यो जनताको आँखामा धुलो छाप्ने काम हो। टुँडिखेलमा आएर राजनीति गर्नुको कारण के हो?’

वसन्तुर क्षेत्रमा भएको अतिक्रमण सुनाउँदै उनले किन अकुपाइ हनुमानढोका पनि नबनेको भनी प्रश्न गरे। ‘अभियान चलाउने व्यक्तिहरु वसन्तपुरमै छन्,’ उनले भने, ‘त्यहाँको अवस्था नदेख्ने। विरोध गर्ने ठाउँ नपाएपछि टुँडिखेलमा आएका हुन्। मेलै केही गलत काम गरेको छैन। मेयरको नाममा गलत प्रचार गरिएको छ।’

अभियानमा चासो नदेखाएको विषयमा प्रमुख शाक्यले भने भने, ‘भवनहरु निर्माण कार्य नसकेपछि कसरी निर्माण सामग्री हटाउने? आधीभन्दा बढी टुँडिखेल अहिले पनि खाली नै छ। अभियन्ताहरुलाई टुँडिखेल र खुलामञ्चबारे केही थाहा छैन। त्यसै अभियान चलाइरहेका छन्।’ उनले खुलामञ्चको सवारी पार्किङबारे सडकमा जाम हुने भएपछि पार्किङ गर्न दिएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.