|

बुटवलः प्रदेश ५ को दोस्रो र बुटवल उपमहानगरपालिकाको ६१औँ स्थापना दिवस संयुक्त रुपमा मनाइने भएको छ। ६१ वर्षअघि फागुन ३ गतेकै दिन बुटवल उपमहानगरपालिकाको स्थापना भएको थियो भने दुई वर्षअघि सोही दिन प्रदेशको स्थापना भएको हो।

प्रदेश र उपमहानगरको स्थापना दिवस एकै दिन परेकाले गतवर्षदेखि बुटवलमा संयुक्त रुपमा दिवस मनाउन सुरु गरिएको थियो। गत वर्ष बुटवलमा वृहत्त जनचेतना र्‍याली, सांस्कृतिक झाँकीसहित बुटवल मण्डपमा विशेष समारोह भएको थियो। यस वर्ष पनि दुवै सरकारले संयुक्त रुपमा दिवस मनाउन लागेका हुन्।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रदेश ५ र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा दिवस मनाउन लागेको जानकारी गराएको छ। मन्त्रालयमा बैठक बसेर स्थापना दिवसलाई यस वर्ष पनि संयुक्त रुपमा भव्य तरिकाले मनाउने निर्णय भएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव शंकर खरेल, प्रवक्ता हरिहर पोखरेल, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी, पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीलगायतले स्थापना दिवसलाई भव्य बनाउनुपर्नेमा जोड दिए।

स्थापना दिवसको मूल समारोह भने फागुन ३ गते हुने छ। बुटवल बहुमुखी क्याम्पसको खेल मैदानमा विशेष कार्यक्रमको आयोजना गरिएको बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए। यसपाली राजमार्ग चौराहामा जुटेर प्रभातफेरि गर्दै बुटवल बहुमुखी क्याम्पसको मैदानमा पुगेर विशेष सभा हुने र उक्त कार्यक्रममा उपमहानगरका १९ वटै वडाबाट विशेष पहिचानसहित सहभागिता रहने प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाइ छ।

‘सक्रिय बुटवलबासी, समुन्नत नगर, स्वस्थ्य जीवनशैली सबैको रहर’ भन्ने नाराका साथ उपमहागरका सबै वडाहरूमा विशेष अभियान सुरु गरिएको प्रमुख सुवेदीले जानकारी दिए। फागुन ३ गते विहान ८ बजे बुटवलको राजमार्ग चौराहबाट र्‍याली सुरु भएर बहुमुखी क्याम्पसको प्राङ्गणमामा सभामा परिणत हुने र झाँकीमा सहभागी हुने संघसंस्था तथा समूहहरुलाई साजसज्जाका आधारमा नगदसहित पुरस्कृत गर्ने गरि तयारी भइरहेको उपप्रमुख गुमादेवी आचार्यले बताइन्।

दिवसकै सन्दर्भमा बुटवल उपमहानगरपालिकाले फागुन २ आज उपमहानगरपालिका क्षेत्रको राजमार्ग परिसरमा विशेष सरसफाई कार्यक्रमको आयोजना गरेको वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले जानकारी दिए।

बुटवलमा तीन दिने कार्यक्रम, मैत्रीपूर्ण भलिबलमा कर्मचारी विजयी

बुटवलले भने स्थापना दिवसको अवसरमा फागुन १ गतेदेखि नै तीन दिने विभिन्न कार्यक्रमको आयोजना गरेको छ। सोहीक्रममा बिहीबार जनप्रतिनिधि र कर्मचारी तथा महिलाका बीचमा मैत्रीपूर्ण भलिवल खेल भएको छ। जनप्रतिनिधि–कर्मचारी मैत्रीपूर्ण खेलमा कर्मचारीको समूहमा एक–दुईको सेटमा विजयी भएको छ।

उपमहानगरको नगर खेलकुद विकास समितिले स्थापना दिवसका अवसरमा दुईदिने विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गरेको हो। समितिका अध्यक्ष नन्दु काउचाले मैत्रीपूर्ण खेलमार्फत सहकार्य र एकताको भावना प्रदर्शन गर्नेगरी कार्यक्रमहरु आयोजना गरिएको बताए। मैत्रीपूर्ण भलिबलमा प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मासहित वडा अध्यक्षहरु सहभागी थिए। उपमहानगरको कार्यालय परिसरको पारि बालमन्दिरमा मैत्रीपूर्ण प्रतिस्पर्धा गराइएको थियो।

महिलाहरुका बीचमा दुईवटा समूह बनाएर प्रतिस्पर्धा गराइएकोमा उपप्रमुख गुमादेवी आचार्यको समूह प्रथम भएको छ । यस्तै म्युजिकल चेयर प्रतियोगितामा पुरुषतर्फ उपमहानगरका कार्यपालिका सदस्य एवम् वडा नं १० का अध्यक्ष पदम थापा प्रथम, प्रकाशमणी बस्याल द्वितीय र कमल चिदी तृतीय भएको खेलकुद विकास समितिका सदस्य तथा कार्यक्रम सञ्चालक प्रेमबहादुर बस्नेतले जानकारी दिए। सोही प्रतियोगिताको महिलातर्फको खेलमा कमला चुँदाली प्रथम, उपप्रमुख आचार्य द्वीतीय र पुनम कुवँर तृतीय भए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.