|
फाइल फाेटाे

काठमाडौं : नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले बिहीबार गिरीजाप्रसाद कोइरालालाई जोडेर दिएको अभिव्यक्तिप्रति कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार जनयुद्ध दिवसका अवसरमा बोल्दै ‘गिरिजाले दिनदिनै फोन गरी फौजी आक्रमण बढाउन आग्रह गर्नुहुन्थ्यो’ भनेका थिए। 

प्रचण्डको उक्त भनाइको बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञिप्त जारी गरी खण्डन गरेका हुन्। ‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रचण्डले गैरजिम्मेवारी अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ। ‘फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्नुपर्‍यो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि साँचै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जीवित छँदैनै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो।’ गिरीजाको निधनपछि उक्त अभिव्यक्ति आउनु आपत्तिजनक भएको कांग्रेसको ठम्याइ छ। ‘तर उहाँको निधन भएको यतिका बर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ।'

गिरीजाले हिंसात्मक आक्रमण गर्न प्रेरित गरेको भन्नु नै विरोधाभाषपूर्ण रहेको कांग्रेसले भनेको छ। ‘ऐतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो। हिंसाको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैँमा विरोधाभासपूर्ण छ,’ विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.