|

म्याग्दी : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले पछिल्ला केही वर्षयता नेपाली महिलामा आएका जागरणका कारण अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बढेको बताएका छन्।

म्याग्दीको सदरमुकाम बेनीसँग सीमाना जोडिएको पर्वत बेनीमा बीहिबारदेखि सुरु भएको गण्डकी प्रदेशस्तरीय बृहद् महिला महोत्सव तथा रेडियो दिदीबहीनीको दसौँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सीनाले यस्तो बताएका हुन्।

११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गरिएको महिला महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सीनाले नेपालमा महिला असमानताको अन्त्य हुँदै गएको बताए। उनले नेपाली महिला राजनीतिक,आर्थिक,सामाजिक र सांस्कृतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाहा गर्न सक्षम भएका बताउँदै अब महिलामाथि हुने सम्पूर्ण विभेद निरुत्साहित गर्नु पर्नेमा जोड दिए।

अध्यक्ष तिमिल्सीनाले जलजला, हप्पाललगायत क्षेत्रको पर्यटन विकास, कालीगण्डकी नदी नियन्त्रण र ग्रामिण सडक स्तरोन्नतिमा प्राथमिकता दिने प्रतिबद्धतासमेत व्यक्त गरे।

त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिलाको आर्थिक स्रोतमा पहुँच बढाउनुपर्नेमा जोड दिए। उनले महिला अधिकारको उपभोगमा अग्रसर बन्न सुझाव दिँदै आयआर्जनको माध्यमबाट आत्मनिर्भर बन्नुपर्ने बताए।

महोत्सवमा चौँथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल, दोस्रो दिदीबहिनी डान्स आइडल, पालिका स्तरीय पुरुष भलिबल, विद्यालय स्तरीय नृत्य, रत्यौली र भजन प्रतियोगिता हुने रेडियोका अध्यक्ष कल्पना चापागाईले जानकारी दिइन्।

झाकी र कृषि तथा पशु मेला प्रर्दशनी, कालीगण्डकीमा र्‍याफ्टिङ, हेलिकोप्टरबाट कालञ्जर पर्वत र जलजलाको अवलोकन, महिला उद्यमी तथा विशिष्ट व्यक्तिलाई सम्मानका साथै बाल उद्यान, रमाइलो मेला र कलाकारको प्रस्तुति महोत्सवको थप आकर्षण हुने बताइएको छ।

महोत्सवकै अवसरमा देशभरका एफ एम रेडियोका महिला अध्यक्ष तथा स्टेशन म्यानेजरको भेला गरिने उनले बताइन्। रमाइलो र मनोरञ्जनका लागि मात्र नभएर महिलाको क्षमता अभिवृद्धि तथा समानताको आवाज बुलन्द पार्न, कला र संस्कृतिको संरक्षण तथा घरेलु बस्तुको ब्यापार प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकले बताएका छन्।

कार्यक्रममा सहभागि स्थानीय तहका जनप्रतिनिधि र राजनीतिकर्मीले पर्वतको पर्यटन विकासका लागि नयाँ गन्तब्यको पहिचान र पूर्वाधार निर्माणमा जोड दिएका थिए। महोत्सव सुरु हुनुअघि पर्वत बेनी र म्याग्दी बेनीमा झाँकीसहितको र्‍याली गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.