|

दाङ : इलाका प्रशासन कार्यालय तुलसीपुरले करिब २५ वर्षपछि बिहीवारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको छ। २०५१ सालमा स्थापना भएको यो कार्यालयले यसअघि भवन नहुँदा ठाउँठाउँमा सरेर सेवा दिएको थियो। 

पछिल्लो सयम तुलसीपुर उपमहानगरपालिका–९ दोघरेबाट मासिक १५ हजार रुपैयाँ भाडा तिरेर सेवा दिँदै आएको थियो। अहिले राप्ती प्रादेशिक अस्पताल नजिकै  आफ्नै जग्गामा नवनिर्मित सुविधा सम्पन्न भवनबाट कार्यालयले सेवा शुभारम्भ गरेको हो। दुई करोड ५८ लाख ९१ हजार १३० रुपैयाँ लागतमा दुई तलाको  १६ कोठाको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ। 

कार्यालयको ६७७ दशमलव २६ बर्गमिटर कुल क्षेत्रफल रहेको छ। भवन निर्माणका लागि जुद्ध एण्ड पूर्ण निर्माण सेवाले जिम्मा पाएको थियो। निर्माण कम्पनीले २०७६ असार २५ सम्म काम सक्ने गरी २०७४ असार २५ गते सम्झौता गरे पनि निर्धारित समयमा काम नसकेपछि ९० दिन समय थप गरी गत असोज २० मा निर्माण कार्य सम्पन्न भएको कार्यालयका निमित्त प्रमुख श्रीधर टण्डनले बताए। 

भवनमा सेवा शुभारम्भको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गरेका थिए। नगरप्रमुख पाण्डेले सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.