|

काठमाडौं : चीनको वुहानसहितका सहरमा एक महिनादेखि फैलिएको कोरोना भाइरसका कारण नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनामा प्रभाव परेको छ। 

चिनियाँ नयाँ वर्ष मनाउन घर फर्किएका चिनियाँ कामदार कोरोनाका आउन नपाएपछि नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनामा गम्भीर असर परेको हो। 

नेपालका जलविद्युत्मा कार्यरत कामदारहरु नयाँ वर्ष मनाउन घर पुगेपछि चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल आउन नपाएका हुन्।

गत २३ जनवरीमा चिनियाँ नयाँ वर्ष मनाउन गएका कामदार कोरोना फैलिएपछि आउन नसक्दा दोलखा र रामेछापको सिमानामा निर्माणाधीन ४८.२ मेगावाटको खिम्ती-२ तथा रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङखोला हाइड्रोपावरको काम रोकिएको हो । 

खिम्ती-२ पिपुल्स इजर्नी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेका छन्। 

दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना वाटर टर्वाइन वक्र्स (सिडब्लु टिडब्लु) ले लिएको थियो। 

दुवै आयोजना निर्माणमा ठेकेदार कम्पनीले अधिकांश चिनियाँ कामदार लगाएको थियो । चीन गएपछि कोरोनाका कारण कामदार फर्कन नसक्दा काम रोकिएको दुवै आयोजनाका कम्पनी म्यानेजर रामहरि शर्माले जानकारी दिए। 

‘ठेकेदार कम्पनी हाम्रो सम्पर्कमा छ’, शर्माले भने, ‘तर कोरोनाका कारण आउन नसकेको जानकारी आएको छ।’ 

पिपुल्स इनर्जीका कम्पनी सचिव जनार्दन अर्यालले ठेकेदार कम्पनीका कर्मचारी र कामदार नेपाल आउने मिति एकीन हुन नससकेको जानकारी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.