|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसाशित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताएका छन्। 

राष्ट्रिय सेवा दलको दिक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरुलाई शुक्रबार ललिपुरमा दर्ज्यानी चिन्ह प्रदान गदैं प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुसाशित युवाको आवश्यकता रहेको बताएका हुन्।

उनले समाज र राष्ट्र निर्माणमा युवाहरुलाई ध्यान केन्द्रीत गर्न आग्रह गरेका छन्। ‘तपाईंहरुमाथि केबल आफ्ना अभिभावकहरुको मात्रै आशा र सपना निहित छैन, तपाईका प्रध्यापक, नातेदार, समाज र राष्ट्रको पनि सपना र आशा रहेको छ', उनले भने, 'त्यसैले सर्वोत्कृष्ट समाज निर्माणका लागि यसै युवा अवस्थामा तपाईंहरुले आफ्नो मनोबल उच्च गराउन आवश्यक छ।'

प्रधानमन्त्री ओलीले हरेक युवाले आफुमा कुशल नेतृत्व क्षमताको विकास, नैतिक आचरण र अनुसाशनको परिपालना निश्चित गर्दै समाज र राष्ट्रप्रतिको आफ्नो कर्तव्य बुझ्ने र पूरा गर्ने कर्तव्यनिष्ठ नागरिक बन्‍न ध्यान केन्द्रित गर्नुपर्ने बताए। ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरुको चौतर्फी व्यक्तित्व विकासमा हरसम्बत सहयोग गर्न कटिबद्ध रहेको उल्लेख गरे। 

उनले युवाहरु एकजुट भइ काम गरे जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने उल्लेख गर्दै सबै युवालाई असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुटन सुझावसमेत दिए।

ओलीले राष्ट्रिय सेवा दलबाट तालिम पाई सैनिक कला, नेपाली संस्कृतिको संरक्षण, परम्परालाई बचाउन र देशप्रति गौरव बढाउन दीक्षित भएका विद्यार्थीको भूमिका अझ बढी महत्वपूर्ण हुने बताए। 

राष्ट्रिय सेवा दलका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीले दलको सुद्दृढीकरण र जनस्तरसम्म पुर्‍याउन सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए। राष्ट्रिय सेवा दलले आयोजना गरेको एक सय दिनको तलिममा विभिन्‍न विद्यालयका सात हजार सात सय विद्यार्थीहरु सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.