बस्तीनजिकै क्वारेन्टाइन राख्दा उत्पन्‍न हुने खतराप्रति सबै सचेत रहन आग्रह

|

भक्तपुर : भक्तपुर नगरपालिकाले नगरभित्र रहेको भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण गर्न सरकारसँग अनुरोध गरेको छ। नगरपालिकाको जारी छैटौँ नगरसभा बैठकले एक प्रस्ताव पारित गर्दै सरकार समक्ष यथासक्य छिटो वडा नं. २ व्यासीस्थित औद्योगिक क्षेत्र स्थानान्तरण गर्न अनुरोध गरेको हो।

बैठकले औद्योगिक क्षेत्र स्थानान्तरणपछि खाली हुने जग्गा नगरपालिकाको स्वामित्वमा आउने व्यवस्था गर्नसमेत सरकारसमक्ष अनुरोध गरेको छ। आर्थिक वर्ष २०७२/०७३ को नेपाल सरकारको बजेटमा नै भक्तपुर औद्योगिक क्षेत्रलाई अन्य स्थानमा स्थानान्तरण गर्ने उल्लेख भएता पनि हालसम्म स्थानान्तरण नगरिएकोले सो औद्योगिक क्षेत्रलाई तत्काल स्थानान्तरणको लागि पहल गरिदिन र उक्त जग्गा सरकारले अधिग्रहण गर्दा कूटीर व्यवसाय र हस्तकलामा आधारित क्षेत्र विकास गरिने उद्देश्य राखिएकाले क्षेत्रको सम्पूर्ण जग्गा नगरपालिकालाई हक हस्तान्तरण गर्न आवश्यक व्यवस्थाको लागि पहल गर्न अनुरोध गर्ने निर्णय भएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

औद्योगिक क्षेत्रको धूँवा, धुलो र रसायनयुक्त वायुले वातावरण प्रदूषण भएको र यसले स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको गुनासोसहित गत माघ २७ गते स्थानीय १७९ जनाले औद्योगिक क्षेत्र तत्काल स्थानान्तरण गर्नुपर्ने माग नगरपालिकासमक्ष गरेका थिए। सोही आधारमा नगरप्रमुख प्रजापतिले नगरसभा बैठकमा औद्योगिक क्षेत्र स्थानान्तरणसम्बन्धी प्रस्ताव पेश गरेका थिए। सो प्रस्ताव सर्वसम्मतले पारित भएको नगरपालिकाले जनाएको छ।

बैठकले काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले उपत्यकामा निर्माण गर्न लागेको चार वटा स्याटेलाईट सिटी परियोजनाबारे ध्यानाकर्षण भएको जनाउँदैं काठमाडौं उपत्यकाको साँस्कृतिक एवं प्राकृतिक सम्पदा र भूबनोटको संरक्षण गर्न, स्वच्छ वातावरणसहित पर्याप्त खुला क्षेत्र र हरियाली व्यवस्थापन गर्न तथा उपत्यकाको कृषि भूमि सुरक्षित राख्न चार ठूला स्याटलाइट सिटी उपत्यकाभन्दा बाहिर उपयुक्त स्थानमा विकास गर्न अनुरोध गरेको छ।

अहिले नै ८० लाखको हाराहारीमा जनसंख्या रहेको उपत्यकामा खाद्यान्न आपूर्ति, खानेपानी व्यवस्थापन, स्वास्थ्य उपचार, यातायात, फोहरमैला व्यवस्थापन र वायु प्रदुर्षण जस्ता जटिल समस्या रहेको र देशको सन्तुलित विकासलाई ध्यानमा राख्न तथा सम्भावित विपद् व्यवस्थापनका लागि पनि काठमाडौं केन्द्रीत विकास निर्माण कार्यलाई विभिन्न जिल्लामा विकेन्द्रीत गर्नुको विकल्प नभएको बैठकको निर्णयमा उल्लेख गरिएको छ।

सरकारले फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी र विद्युत प्रशारण लाइन विस्तारको नाममा ललितपुर जिल्लाको ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेका शहरहरु बुङमति र खोकना क्षेत्रका जनतालाई विस्थापित गर्ने तथा सांस्कृतिक सम्पदा म्हास्ने योजना अघि सारेको आरोप लगाउँदैं नगरसभाले ती योजनाको विरोध गर्दै उक्त योजना तत्काल फिर्ता लिई आन्दोलनरत स्थानीय जनताको न्यायोचित आवाजको सम्बोधन गर्न सरकार समक्ष माग गरेको छ।

नोवेल कोरोना भाइरसको महामारीबाट बचाउन चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने सरकारको पहल सकारात्मक भएपनि उनीहरुलाई क्वारेन्टाइनलागि मानव वस्तीको नजिकै रहेको भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र परिसरमा राख्ने सरकारको निर्णयप्रति नगरसभाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कोरोना भाइरस हावाको माध्यमबाट तीब्र गतिमा सर्ने रोग भएको हुँदा मानव वस्तीको नजिकै क्वारेन्टाइन राख्दा उत्पन्न हुने खतराप्रति सबै सचेत हुन आवश्यक भएको ठहर बैठकले गरेको छ।

बैठकले अमेरिकी सहयोग परियोजना एमसिसी ईण्डो प्यासिफिक रणनीति (आइपिएस)को एक अंग भएकाले नेपालको सार्वभौमिकतामाथि आँच आउने ढंगबाट प्रस्तुत गरिएको एमसिसी सम्झौता तत्काल खारेज गर्न मागसमेत गरेको छ।

सभामा नगरसभासद्हरू सिद्धिराम अवाल, राजेन्द्र माक, ज्ञानकुमार मगजु, बलराम न्हिसुतु, शिवप्रसाद बाला, रत्नकाजी नायभारी, सूर्यप्रसाद श्रेष्ठ, पूर्णगोपाल राजचल, श्यामसुन्दर मातां, गोविन्द दुवाल, रन्जना त्वाती, हरिरत्न गोर्खाली, इन्द्रबहादुर प्याथ र जितेन्द्र मुनंकर्मीले आ-आफ्नो धारणा राखेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.