तीनजना जनही २५ हजार धरौटीमा छुटे

|

जनकपुरधाम : धनुषाको औरही खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा दिलीप महतोको हत्यामा संलग्‍न आरोपमा पक्राउ परेका मध्ये तीन अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य तीनजना धरौटी बुझाएर रिहा भएका हुन्।

दिलीप हत्या आारोपमा पक्राउ परेका मिथिला नगरपालिका-५ श्रीपुरस्थित चुरियामाई वालुवा प्रशोधन केन्द्रका सञ्चालक विपिनकुमार महतो, टिपर चालक मुनिन्द्र महतो र लोडर चालक जितेन्द्र कुमार महतोलाई जिल्ला अदालत धनुषाले कारागार चलान गर्न आदेश दिएको हो। न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले पूर्पक्षका लागि उनीहरूलाई कारागार चलान गर्न आदेश जारी भएको छ।

हत्या आरोप लागेपछि पक्राउ परेका रोशन यादव, सत्यनारायण महतो र शत्रुधन महतोसँग अदालतले जनही २५ हजार धरौटी मागेका थिए। लगत्तै उनीहरू धरौटी बुझाएर बिहीबार नै रिहा भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

नदी उत्खननको विरोध गर्ने दिलीपको गत पुस २५ गते औरही खोलामै कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। पछि टिपरले किचेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

हत्यापछि दिलीपलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने, घटनामा संलग्‍नलाई कारबाही गर्नुपर्ने, चुरे तथा नदीनाला दोहन रोक्नुपर्ने भन्दै हिजोमात्रै ढल्केबरमा चुरे तथा वन संरक्षण अभियान संघर्ष समितिले प्रदर्शन गरेका थिए। दिलीपलाई शहीद घोषणा गर्न देशभर नै आन्दोलन यसअघि पनि भएको छ।

पूर्वराष्ट्रपति डा. रामवरण यादबदेखि नेकपाका नेता तथा पूर्वमन्त्री रघुवीर महासेठसम्मका नेताहरूले समेत उनलाई शहीद घोषणा गराउने प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।

दिलीपको हत्यापछि अहिले प्रदेश-२ का आठै जिल्लामा प्रशासनले क्रसर उद्योग बन्द गराएको छ। मुख्यमन्त्री लाललाबु राउतले प्रहरी प्रशासनकै मिलोमतोमा क्रसर उद्योलगहरू अवैध रूपमा नदीनाला उत्खनन गरिरहेको आरोप लगाएपछि प्रशासन उत्खनन पूर्णरूपमा बन्द गराएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.