|

गोरखा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीन तहको शासन प्रणालीमा अघि बढ्न सहज नभएको बताएका छन्। शुक्रबार नेपालका प्रथम शहीद लखन थापाको १४३औँ स्मृतिसभामा बोल्दै उनले संघीयता कार्वान्वयन गर्न सहज नभएको तर्क गरेका हुन्।

‘नयाँ बाटोमा हिँड्न अलिकति अफ्ट्यारो जस्तो हुन्छ, हामी हिँडिराखेको बाटो हिँड्न सजिलो लाग्छ। नितान्तै नौलो बाटो हिँड्दा कताकता ठीक ठाउँमा हिँडेका छौँ कि छैनौँ भनेको जस्तो पनि हुन्छ’, उनले भने, 'तीन तहको शासन प्रणालीमा अघि बढ्न सहज नभएकाले विकास र समृद्धिको यात्रा कठिन भएको छ।’

अब विकासको गतिले नयाँ उचाइ लिने विश्वास दिलाउन चाहेको उनले बताए। ‘पूर्वाधारसम्बन्धी काम धेरै सहज बनाइसकेका छौँ। छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाइसकेका छौँ। अब विकास र सवृद्धिको एउटा यात्रा तीब्र गतिमा अघि बढ्दछ भन्ने हाम्रो सोचाइ छ’ उनले भने।

संघीयता कार्वान्वयनपछि अझै पनि देशले चाहेको जस्तो गति आइनसकेको उनले तर्क गरे। ‘हामीले थुप्रै ऐन बनाउनु पर्ने, कानुन बनाउने पर्ने, संरचना बनाउनु पर्ने, कर्मचारी खटाउनु पर्ने, सुरक्षा निकायलाई पनि विभिन्‍न तहमा विभाजन गर्नुपर्ने आदि कारणले हामीले चाहेको जस्तो गति आइसकेको छ जस्तो लागेको छैन’ उनले भने।

मुलुकमा राजनीतिक परिवर्तन भए पनि विकास र सवृद्धि सोचेजस्तो गतिमा अघि नबढेको उनले स्वीकार गरेका छन्। ‘मुलुकमा अहिले संघीय सरकार छ, प्रदेश सरकार छ, स्थानीय सरकार छ। अहिलेको परिवर्तन पहिलाको जस्तो परिवर्तन होइन। सात सालमा राणा गयो, राजा आयो भने जस्तो पनि होइन। ३६ सालमा जनमत संग्रह भयो भने जस्तो पनि होइन। ४६ सालमा पञ्चायत गयो, बहुदल आयो भने जस्तो पनि होइन। यो परिवर्तन भनेको झण्डै अढाइ सय वर्ष पुरानो शाहवंशीय निरंकुश सामन्ती व्यवस्थाको आमूल अन्त्य र गणतन्त्र स्थापनाको नित्तान्त गुणात्मक परिवर्तन हो' उनले भने 'एकात्मक शासन व्यवस्थाबाट संघात्मकमा शासन व्यवस्थामा भएको परिवर्तन हो। र यो समावेशी, समानुपातिक लोकतन्त्रको नितान्त नयाँ मोडल स्थापना गर्दैछौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.