यस्तो कार्यतालिका

|
फाइल फोटो

दमक : प्रधानमन्त्री केपी शर्मा ओली गृहनगर दमक आउने भएपछि तयारी तीव्र पारिएको छ। विभिन्‍न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आगामी फागुन-४ गते, आइतबार दमक आउने ओलीको निजी सचिवालयले जनाएको छ।

ओलीका सचिवालय सदस्य होमबहादुर थापाका अनुसार ओली आइतबार बिहान भद्रपुर विमानस्थल हुँदै झापा आउने छन्। भद्रपुर विमानस्थलबाट सोझै दमक आउने ओली बिहान ११ बजेदेखि विभिन्‍न शिलन्यास र उद्घाटनका कार्यक्रममा व्यस्त हुने थापाले जानकारी दिए।

यस्तो कार्यतालिका

ओली बिहान ११ बजे भद्रपुर विमानस्थल आइपुग्‍ने छन्। विमानस्थलबाट दमक आउने उनले दमक-४ मा कृष्णमन्दिर–बेलडाँगी सडक उद्घाटन गर्ने र त्यसलगत्तै दमक–३ र मोरङको मिक्लाजुङ् जोड्ने स्थानमा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यी दुवै योजनाको अघिल्लो पटक प्रधानमन्त्री हुँदा उनैले शिलन्यास गरेका थिए।

यी योजनाको उद्घाटन पछि उनी झापाबाट ईलाम र पाँचथर जोड्ने दमक–चिसोपानी–रवि सडकको शिलन्यासका लागि दमक–२ पुग्ने छन्। शिलन्यासपछि उनले दमक–२ को बेलडाँगीमा आयोजित सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ। यी कार्यक्रमहरू नेपाल सरकार, भौतिक योजना तथा निर्माण मन्त्रालयमार्फत आयोजना हुने र कार्यक्रममा मन्त्री वसन्त नेम्वाङसमेत आउने जनाइएको छ। उनीसँगै नेकपा ससदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसमेत सहभागी हुने छन्।

आफ्नो गृहनगरमा हुने कार्यक्रममा यसपटक उनले अर्का प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत सहभागी गराउने इच्छा व्यक्त गरेका छन्। नेकपा नेतासमेत रहेका नेपाललाई ओलीले नै आफ्नो गृहनगरमा हुने कार्यक्रममा सहभागी हुन आग्रह गरेको जनाइएको छ।

तर, नेता नेपाल भने कार्यक्रममा उपस्थित हुने वा नहुने टुंगो लागि सकेको छैन। गृहनगरका विभिन्‍न कार्यक्रम सकी सोही दिन ओली काठमाडौं फर्कने कार्यतालिका रहेको छ।

नमूना बस्ती उद्घाटन

प्रधानमन्त्री ओलीले आफ्नो गृहनगरमा विपन्‍न तथा भूमिहीनहरूका लागि निर्माण गरिएको विपन्‍न आवाश क्षेत्रको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। दमक नगरपालिकाले वडा नं. १ मा २३ परिवारका लागि निर्माण गरेको नमूना एकीकृत वस्तिको उद्घाटन ओली मार्फत हुने दमक नगरपालिकाले जनाएको छ।

आफ्नै गृहक्षेत्र तथा गृहनगरका भूमिहीनका लागि निर्माण गरिएको आवाश क्षेत्रमा निर्माण गरिएका घरको चावी सुकुम्बासीलाई हस्तान्तरण गरी नमूना वस्तीको उद्घाटन हुने नगरपालिकाले जनाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.