|

पर्सा : पर्साबाट वितरण गरिने एक तोला सुनसहितको ‘स्वर्ण पदक' यो वर्ष झापाका पत्रकार केशव आचार्यलाई प्रदान गरिएको छ। वीरगन्जका अग्रज पत्रकार स्व. गोपालचन्द्र गौतमको स्मृतिमा स्थापना भएको स्वर्ण पदक यो वर्ष झापाका अग्रज पत्रकार आचार्यलाई प्रदान गरिएको हो।

वीरगन्जमा रहेको गोतामे पत्रकारिता पुरस्कार प्रतिष्ठानले गएका नौ बर्षदेखि यो पुरस्कार बर्षमा एक पटक वितरण गर्दै आएको छ। पत्रकार आचार्यलाई शुक्रबार वीरगन्जमा एक कार्यक्रमका बीच प्रदेश-२ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीले गोल्ड पदक र सम्मान पत्र प्रदान गरे।

सो अवसरमा उनले समाज रुपान्तरणमा स्व. गोपालचन्द्र गौतमले देखाएको बाटोमा अनवरत कलम चलाउने यस्तै पत्रकारहरुबाट नै समाज रुपान्तरण भएको तर्क गरे। अझै समाजमा महिला, विपन्न, मुस्लिम र गरीबहरुलाई राज्यको मूलधारमा ल्याउन पत्रकारको भूमिका अहम रहेको मुख्यमन्त्री राउतको भनाइ छ।

एकतोला सुनसहितको सम्मान पत्रले सम्मानित हुने आचार्य झापाबाट २१ बर्ष पहिलेदेखि प्रकाशित जनआन्दोलन साप्ताहिकका प्रधान सम्पादक हुन्। साहित्यतर्फ आचार्यका आचार विचार मुक्तक संग्रह, केशव आचार्यका कविताहरू, पागल सांगीतिक गजल एल्बम, पागल गजल संग्रह गरी चारवटा कृतिहरु प्रकाशित भइसकेका छन्।

पत्रकारहरूले समाजमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै प्रतिष्ठानले यो वर्ष झापामा रहेर ४० वर्षदेखि निरन्तर पत्रकारिता र साहित्यमा कलम चलाउँदै आएका अग्रज पत्रकार आचार्यलाई छनौट गरेको प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माले बताए। योभन्दा पहिले कलमकै माध्यमबाट समाज रुपान्तरणमा योगदान पुर्‍याउने आठजना पत्रकारलाई प्रतिष्ठानले सम्मान गरिसकेको छ।

सुनसहितको गोल्ड पदकले सम्मानित पत्रकार आचार्यले राजनीति ठप्पै नगर्ने, तर राजनीति बुझ्ने साहित्यिक पत्रकार हुँ भन्न रुचाउने बताए। राजनीतिका गलत पक्षमा शालिन ढंगले विद्रोह गरिरहने उनको तर्क छ।

'पत्रकारिता निकै संवेदनशिल भएर कलम चलाउने पेशा भएकोले एउटा पत्रकारले कलम चलाउँदा आफ्नो आवेग र खुशी हुँदाको दुवै क्षणलाई स्तुति र आक्रोशका शब्द सन्तुलन गरी कलम चलाउन पर्ने हुन्छ' उनले भने ‘आवेगमा आएको समयमा पनि केही आक्रोशपूर्ण शब्द लेख्न सकिन्छ र खुशी हुँदा पनि कसैको स्तुति गाइन सक्छ' यस्तो कुरामा बचेर लेख्न सक्ने पत्रकार नै समाजका लागि सही पत्रकार हुने पत्रकार आचार्यको भनाइ छ।

वीरगन्जका अग्रज पत्रकार तथा प्रतिष्ठानका पनि अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश-२ का अध्यक्ष दीपेन्द्र चौहानले पनि पत्रकार स्व. गौतमले देखाएको बाटो तथा झापाका अग्रज पत्रकार आचार्य जस्ताकै योगदानबाट नयाँ पुस्ताले पनि सत्य तथ्य पत्रकारीतालाई अगाडी बढाउनु पर्ने औँल्याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.