|

बैतडी : आयोडिनयुक्त नुन स्वास्थ्यका लागि लाभदायक भए पनि बैतडी ग्रामिण क्षेत्रका नागरिक अझै पनि ढिके नुनको प्रयोग गर्ने गरेका छन्।

भौगोलिक विकटता, जनचेतनाको अभाव, अन्य नुनको तुलनामा आयोडिनयुक्त नुन केही रुपैयाँ महँगो हुनुले पनि दुई बालवालिकाको चिन्ह भएको आयोडिनयुक्त नुनको प्रयोग  बढ्न नसकेको हो।  

जिल्लाको दुर्गम सिगास, पुर्चौडी र तल्लोस्वराडका विकेट क्षेत्रका नागरिक अझै पनि ढिके नुन प्रयोग गरिरहेका हुन्। प्याकेटको आयोडिनयुक्त नुन प्रयोग गर्ने बानी नभएकोले अधिकांश नागरिकले ढिके नुन प्रयोग गरिरहेका स्थानीय राजेन्द्र धामीले बताए। उनले कसैले आयोडिन नुनलाई मन नपराउने तथा मात्रा मिलाउन नजारेर आयोडिन नुन प्रयोग नगर्ने गरेको बताए। उनले भने, 'ढिके नुन भन्दा आयोडिनयुक्त नुन केही महँगो भएर पनि धैरेले प्रयोग गर्दैनन्।'  

स्थानीय बजारमा ढिके नुन १५ रुपैयाँमा प्रतिकिलो पाउँछ भने आयोडिन युक्त पोकानुनको प्रतिकिलो २० देखि २५ रुपैयाँ पर्ने गरेको छ। खानको लागि ढिके नुन भन्दा आयोडिनयुक्त पोका नुन फाइदाजनक भए पनि धेरैलाई चेतनाको अभाव रहेको छ।

केहीलाई चेतनाको अभाव र केहीलाई महँगो लाग्ने भएकोले पनि पोका नुन भन्दा ढिके नुनले नै बढवा पाएको छ। चेतनाको अभावले पनि आयोडिनयुक्त नुनको प्रयोग गर्नेको संख्या बढ्न नसकेको हुन सक्ने उहाको बुझाई छ। साल्ट्र ट्रेडिङ डिपो कार्यालय बैतडीका प्रमुख नरेन्द्र धामीले पनि चेतना अभावकै कारण आयोडिन नुनको प्रयोग कम हुने गरेको बताए। 

आयोडिन युक्त नुनको महत्व र फाइदा नबुझेकाले ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग गर्ने गरेको ढुंगाड स्वास्थ्य चौकीका इञ्चार्ज हेमन्तसिंह साँउदले बताए। उनले भने, 'दुई बालबालिकाको चिन्ह नभएको प्याकेटको नुन तथा ढिके नुनको प्रयोगले बालबालिका र महिलामा प्रत्यक्ष असर पार्ने गरेको छ।'  

आयोडिनयुक्त नुनको कमीले वयस्क अवस्थामा मानिसमा थाइरोक्सिन हर्मोनको कमी भई गलगाँड हुने समेत उनको भनाई छ। गर्भवती आमालाई आयोडिन नपुगे जन्मने बच्चालाई समेत प्रतिकूल असर पुग्नुका साथै जन्मने शिशु लाटो, लठेब्रो र सुस्त मनस्थिति, होचो पुड्को हुने खतरा देखिन सक्ने स्वास्थ्यकर्मीको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.