|

म्याग्दी : पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको ओखरबोट माध्यमिक विद्यालयमा नवनिर्मित विद्यालय भवन उद्घाटन भएको छ।

गाउँपालिकाको पहलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित विद्यालय भवन समुदायलाई शुक्रवार उद्घाटन तथा हस्तान्तरण गरिएको हो।

कुल ७८ लाख २२ हजार एकसय ७१ रुपैयाँको लागतमा गएको आर्थिक वर्षदेखि निर्माण सुरु गरिएको दुईतले चारकोठे पक्की विद्यालय भवनको लम्बाई १४ मिटर ७० सेन्टिमिटर, चौडाई ९ मिटर ३५ सेन्टिमिटर र उचाई ९ मिटर रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइका सव–इन्जिनियर प्रेमबहादुर नेपालले जानकारी दिए। उनका अनुसार ४८ जना विद्यार्थी सजिलै अट्न सक्ने प्रतिकोठा लम्बाई ६ मिटर ९५ सेमी र चाडाई ४ मिटर ७५ सेमीका छन्।

नवनिर्मित विद्यालय भवनको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले विद्यालयको भौतिक संरचना निर्माणसँगै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए। उनले विद्यालयको दीगो विकासका लागि शिक्षक, विद्यार्थी, समुदाय र विद्यालय व्यवस्थापन समिति मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै एकताबद्ध भई सहकार्य गरेर विद्यालयको विकासमा केन्द्रीत हुन सुझाव दिए।

मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुलले पालिका भित्रका वडाहरुमा आमूल परिवर्तन, रुपान्तरण र विकासका लागि पहल गरिएको भन्दै विकास निर्माणको काममा राजनीति नगरी सबै मिलेर अगाडि बढ्नुपर्ने बताइन्।

उनले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका साथै भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको बताउँदै विद्यार्थी आकर्षण गर्नका लागि आवश्यक योजना बनाएर कार्यान्वयन गर्न आग्रह गरेकी छन्। ओखरबोटका वडा अध्यक्ष दिलिपकुमार शेरचनले विद्यालयसहित वडाको विकासका लागि आफूले सक्दो पहल गर्दै आइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.