|

  • भुपाल थापा

कपिलवस्तु : विश्व सिमसार क्षेत्रमा सूचिकृत जगदिशपुर तालको सुन्दरता फर्काउन जिल्लास्थित सुरक्षा निकाय नै क्रियाशील भएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको संयुक्त सहभागितामा तालमा बृहत सरसफाई अभियान सञ्चालन गरिएको छ। आगामी माघ २० देखि २२ सम्म तालमा मनाउन लागिएको २१औं विश्व सिमसार दिवस, लाटोकोसेरो तथा ह्विचिल महोत्सवलाई मध्यनजर गर्दै तालमा २ दिने सरसफाइ अभियान थालिएको हो।

नेपाली सेनाको कालीजंग गण गोरुसिङगेका सहसेनानी मानबहादुर गुरुङको कमाण्डमा खटिएको २३ जनाको टोली, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्मेलीका सशस्त्र प्रहरी नायव निरिक्षक तेजबहादुर जिसीको कमाण्डमा २५ जनाको टोली र स्थानीय ३ वटा ताल संरक्षण समूहको सहभागितामा तालमा सरसफाइ गरिएको हो। जगदिशपुर, बन्डेहुली र बिर्तास्थित संरक्षण समूहको संयुक्त टोलीले तालमा रहेका झारपात, पुराना जुत्ता-चप्पल, प्लाष्टिकका बोत्तल लगायतका फोहर सफा गरेका हुन्। मनमोहक ताल कुरुप बन्दै गएपछि आफूहरुले तालप्रति स्थानीयको चासो जगाउन अभियान थालेको जगदिशपुर जलासय बहुसरोकार मञ्चका सदस्य ललित गुरुङले बताए। चराहरुको आगमनले सुन्दर देखिएको तालमा जम्मा भएको फोहरले कुरुप देखिन थालेको उनले बताए। सरसफाइले केही भए पनि सुन्दरता थपिएको विश्वास उनले व्यक्त गरे।

१ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको तालको पश्चिम तथा दक्षिणीतर्फको डिलमा टोलीले सरसफाइ गरेको थियो। नेपाली सेना र सशस्त्र प्रहरीले तालको सरसफाइप्रति देखाएको अग्रसतारले स्थानीय बासिन्दा निकै खुसी भएका छन्। तालको सरसफाइमा सुरक्षा निकायको तदारुकता प्रसंशायोग्य रहेको जगदिशपुर जलासय बहुसरोकार मञ्चका सदस्य तथा स्थानीय अगुवा अब्दुल रसिद खाँले बताए। प्राकृतिक विविधताले भरिपूर्ण तालमा विभिन्न प्रजातिका चरा, सरीश्रृप, जीवजन्तु लगायतका प्राणीहरु रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.