|

कालिकोट : नाग्मगाड सिंचाई कुलो निर्माण भएपछि फोइमहादेव गाविसको सयौँ हेक्टर जमिनमा सिँचाई सुविधा उपलब्ध भएको छ। साना सिँचाई परियोजनाबाट ३ किलोमिटर ४ सय मिटर लामो सिंचाई कुलो निर्माण भएपछि गाविसका वडा न. १ र २ का सयौँ हेक्टर जमिन सिञ्चित भएको हो। सिँचाई कुलो निर्माण भएपछि तरकारी खेती, अन्य अन्नबाली र स्याउमा सिंचाई गर्न सजिलो भएको स्थानीय गोरीकला दमाईले बताइन्।

‘सिंचाई कुलो निर्माण भएपछि सबैभन्दा बढी महिलालाई सजिलो भएको छ,’ उनले भनिन्– ‘पुरुषहरु विदेश जाने र हामी महिलाहरुले घरको काम गर्नुपर्ने भएकाले पहिले गाउँ सिंचाई नहुदाँ स्याउ तरकारी र अन्नबाली उत्पादनमा कमी हुने गरेको थियो।’

कुलो निर्माणपछि गाउँका करिव ५ हजार स्याउका बिरुवामा सिंचाई पुगेको र स्थानीय खेतहरु सिञ्चित भएको स्थानीय लिला नेपालीले बताए। ‘सिंचाई कुलो निर्माणले गाउँमा अन्नबाली उत्पादनम वृद्धि हुने भएको छ,’ उनले भने, ‘सिंचाईका कारण करिब ५ हजार स्याउका बिरुवा र तरकारी बालीले पानी पाएका छन्।’
यो कुलो निर्माणका लागि साना सिंचाई परियोजनाले ७५ लाख ३५ हजार ३ सय २० रुपैयाँ लगानी गरेको थियो। त्यस्तै ५ लाख २१ हजार ५४ रुपैयाँ बराबरको श्रमदान स्थानीयले गरेको साना सिंचाई परियोजनाका सव–इञ्जिनियर कमल रावलले बताए। 

‘परियोजनाको रकम र स्थानीयको श्रमदानबाट कुलो निर्माण भएको हो,’ उनले भने, ‘स्थानीयले सिंचाई कुलोलाई अझै बढाउनु पर्ने माग गरेको छन्। लागत पनि बढ्ने सम्भावना छ ।’

साना सिंचाई परियोजनाले गत आर्थिक वर्षमा जिल्लाभित्र २० वटा सिंचाई कुलो निर्माण गरेको र यस आर्थिक वर्षमा थप ४० वटा निर्माण गर्ने लक्ष्य लिएको साना सिंचाई परियोजनाका टिम लिडर नरेन्द्रबहादुर लामाले बताए। 

‘हामीले देशभरीका ९ जिल्लामा काम गरिरहेका छौं,’ उनले भने– ‘कालिकोटमा २ सयभन्दा बढी सिंचाई कुलो निर्माण गर्ने लक्ष्य रहेकोमा गत आर्थिक वर्षमा ४० वटा सिंचाई कुलो निर्माण गरिएको र यसवर्ष थप ४० सिंचाई कुलो निर्माण गर्ने लक्ष्य राखेको छौं।’

४ वर्षमा २ सयभन्दा बढी सिंचाई कुलो निर्माण गर्ने लक्ष्य राखिएको परियोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत आर्यसरत गौतमले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.