|

दाङ : नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रले दाङबाटै आफ्नो काम सुरु गरेको छ। विश्वविद्यालय स्थापनासँगै स्थापना भएको अनुसन्धान केन्द्र विभिन्न बहाना र कारण देखाउँदै काठमाडौंमै कार्यालय स्थापना गरी काम गर्दै आएकोमा यस वर्षदेखि दाङमा कार्यालय सारेर काम सुरु गरेको हो।

अनुसन्धान केन्द्रले काम सुरु गरेसँगै विद्यावारिधि (पिएचडी) कक्षाको पढाई समेत दाङमै हुन थालेको छ। विश्व विद्यालयको केन्द्रीय कार्यालय रहेको स्थानबाट नै अनुसन्धान केन्द्र पनि सञ्चालन हुनुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो। तर पनि त्यो पुरा हुन नसक्दा काठमाडौंबाटै अध्ययन केन्द्रको काम गत वर्षसम्म भइरहेको थियो। मन्त्रिपरिषदको निर्णय, विद्यार्थी संगठन, विश्वविद्यालय कर्मचारी, केही पदाधिकारीको पहलमा दाङमा केन्द्र स्थापना गरी काम सुरु गरिएको हो।

लामो समयको रसाकसी पछि दाङबाट अध्ययन केन्द्रले दाङको बेल्झुण्डीबाट पढाई थालेपछि विद्यार्थी समेत खुशी भएका छन्। दाङका शुरु भएपछि काठमाडौंबाट दाङमा विद्यावारिधि गर्न आएका विद्यार्थी उदयराज अधिकारीले आफू निकै खुशी भएको बताए। उनले केन्द्रीय कार्यालय दाङमा महेन्द्र संस्कृत विश्वविद्यालय देखिको पुस्तकालय रहेको र त्यहाँ प्राचीन पुस्तक चाहेको पढ्न पाउँदा एकदमै खुशी भएको बताए।

'यदि काठमाडौंमा यो पढाई पढेको भए यो सेवा पाउन सकिँदैथ्यो होला?' उनले भने। त्यसैगरी काठमाडौंकी आकृति रायमाझीलाई शान्त वातावरणमा अध्ययन गर्न अवसर पाएको र आफूलाई चाहिने सम्पूर्ण सामानको व्यवस्था भएको हुँदा निकै खुशी भएको बताइन्। 

'म पहिलो पटक भ्याली बाहिर आएकी छु,'उनले भनिन्, 'यहाँ आउँदा कस्तो होला जस्तो लागेको थियो’ दाङ र काठमाडौं उस्त रहेछ।' 

यदि काठमाडौं मै पढेको भए यस्तो राम्रो वातावरणमा पढ्ने अवसर मिल्दैन्थ्यो होला।  साथै बिश्वविद्यालयमा बजेट नहुँदा पनि विद्यार्थीको लागि खाना तथा बस्नको व्यवस्थासहित कक्षा संचालन गरेको उनले बताइन्।

पिएचडी कक्षा २०४३ सालबाट शुरु भएको थियो। आवासीय कक्षासहितको पठन पाठन भने गत वर्ष काठमाडौंमा पहिलो सत्र भएको थियो। दाङमा यो पहिलो पटक भएको भएता पनि कक्षा संचालन भने दोस्रो सत्र भएको विश्वविद्यालयका प्राध्यापक नारायण चालिसेले बताए।

दाङमा यो पढाईका लागि बाहिरबाट विज्ञलाई ल्याएर पनि यो कक्षा संचालन गर्न पाउनु राम्रो पक्ष भएको उनले बताए। यो पढाई  दाङमा पहिलो भएको कारणले केही कमी कमजोरी  भएका भए पनि अर्काे सत्रदेखि ती सच्चाएर लैजाने समेत उनले बताए। त्यसैगरी दाङमा संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय भएता पनि  पढाई भने शुरु भएको थिएन।

अहिले आएर यो कार्यक्रम शुरु हुँदा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका विद्यार्थी पढ्नको लागी आएको दाङ आएको  विश्वविद्यालयका प्रध्यापक तथा कार्यकारी निर्देशक काशिनाथ न्यौपानेले बताए। साथै वर्षमा २ वटा कक्षा संचालन हुने र सेमेस्टरमा अहिले ७१ जना विद्यार्थीले अध्ययन गरीरहेका उनले बताए। अहिले करिब आधा दर्जन विषयमा विद्यावारिधिको अध्यापन सुरु भएको छ।

विश्वविद्यालयमा गणित, राजनीति शास्त्र, अंग्रेजी, नेपाली, अर्थशास्त्र, संस्कृतका विभिन्न विषय र योग चिकित्सामा विद्यावारिधिको अध्ययन गराइरहेको छ। यो कक्षा नियमित हुन्छ या हुँदैन त्यो भने हेर्न बाँकी नै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.