|

  • गोविन्द महतो    

जनकपुर : नेपाली कांग्रेसका योद्धा दुर्गानन्द झालाई सरकारले ५२ वर्षपछि सहिद घोषणा गरे पनि उनको स्मृतिमा निर्माण गर्ने भनिएको प्रसुती गृहको काम अझै सुरु हुन सकेको छैन। झण्डै अढाई महिना अगाडि स्वास्थ्यमन्त्री गगन थापाले झाको गाउँमै पुगेर प्रसुती गृहको निर्माण कार्य केही दिनभित्रै सुरु हुने बताएका थिए, तर त्यस्तो कुनै छाँटकाँट अहिलेसम्म देखिएको छैन।

विद्यालयमा अध्ययनका क्रममा झाको बारेमा सुनाउँदै पञ्चायतविरुद्ध आन्दोलनका लागि प्रोत्साहन दिइनेगरेको सम्झिँदै मन्त्री थापाले प्रसुती गृहको काम छिट्टै सुरु गर्ने बताएका थिए। तर अझै पनि निर्माण कार्य सुरु नहुँदा निर्माणका लागि तयारी अवस्थामा राखिएको जग्गा नै अलपत्र परेको छ।

पञ्चायती शासकविरुद्ध प्रजातन्त्रिक संघर्षमा लागेर बलिदानी दिएका झाको सम्मानमा प्रसुती गृह निर्माण गर्ने घोषणा डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले २ वर्षअघि गरेको थियो। १५ शैयाको प्रसुती गृह निर्माणको घोषणलाई गगनले आफूले कार्यान्वयन गर्ने बताएपछि उत्साहित भएका स्थानीय पुनः निरास बनेका छन्। नक्सा पास, माटो परीक्षण लगायतका काम भएको लामो समय बितेपनि अझै काम सुरु नहुनु दुःखद् रहेको काँग्रेस भातृ संगठन नेविसंघका नेता प्रवेश चौधरी बताउँछन्।

पञ्चायती शासन व्यवस्थाको विरोधमा नेपाली काँग्रेसले सुरु गरेको क्रान्तिका बेला २०१८ साल माघ १९ गते जनकपुरमा राजा महेन्द्रलाई लक्षित गरेर बम प्रहार गरेको आरोपमा २०२० साल माघ १५ गते तत्कालीन सरकारले केन्द्रीय कारागारमा दुर्गानन्द झालाई फाँसी दिएको थियो। स्मारक बन्नुबाहेक उनलाई स्मरण गर्न सकिनेगरी अरु कुनै काम नभएको स्थानीय भोगी कापडको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.