पहिलो खेलमा मुम्बइ र चेन्‍नइ भिड्ने

|

आगामी चैतमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १३औँ संस्करणको खेल तालिका सार्वजनिक भएको छ।

आगामी मार्च २९ देखि मे २४ सम्म सञ्चालन हुने आइपिएलको खेल तालिकाअनुसार पहिलो भिडन्त हालको च्याम्पियन मुम्बइ इन्डियन्स र चेन्‍नइ सुपरकिंग्सबीच हुनेछ। भारतको विभिन्‍न सहरमा हुने प्रतियोगिताको पहिलो खेल मुम्बइस्थित वनखेडे स्टेडियममा हुनेछ। अन्तिम लिग भिडन्त भने मे १७ मा रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बइ इन्डियन्सबीच हुनेछ। फाइनल खेल भने मे २४ मा वानखेडे स्टेडियममै खेलिने तालिका छ।

सबै फ्रेन्चाइज टोलीहरूले आ-आफ्नो ट्वीटर अकाउन्टमा खेल तालिका शेयर गरेका छन्। पछिल्लो पटकको निक्कै रोमाञ्चक बनेको फाइनल खेलमा मुम्बइले चेन्‍नइलाई १ रनले  हराउँदै चौथोपटक उपाधि जितेको थियो। सनराइजर्स हैदरावादले यो सिजन अप्रेल १ मा मुम्बईसँग खेलेर आइपिएलको १३ औं संस्करणको यात्रा थाल्नेछ। यस्तैगरी बैंग्लोरले मार्च ३१ मो कोलकाता नाइट राइडर्ससँग पहिलो खेल खेल्नेछ।

सबै टोलीले १४/१४ खेल खेल्नेछन्। यस सिजनमा ६ दिनमात्र दुई प्रतिस्पर्धा तय भएका छन्। जुन आइतबारका दिनलाई तय गरिएको छ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित दिल्ली क्यापिटल्सले मार्च ३० मा घरेलु मैदानमा किंग्स इलाभेन पञ्जावसँग प्रतिस्पर्धा गर्नेछ। सबै खेल नेपाली समयअनुसार बेलुका ७ः४५ देखि सुरु हुने छन्।

यसअघि ४४ दिनसम्म सञ्चालन हुने लिग चरणको प्रतिस्पर्धा यस संस्करणमा ५० दिनसम्म चल्नेछ। अहिले नकआउट चरणको तालिका जारी गरिएको छैन। यसअघि बिसिसिआइका अध्यक्ष सौरभ गांगुलीले आइपिएल सुरु हुनेअघि ८ फ्रेन्चाइज टोलीका खेलाडीबीच अल स्टार प्रतिस्पर्धा हुने घोषणा गरेका थिए। यद्यपि यसको मिति तय गरिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.