|

काठमाडौं : सरकारले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन विधेयकलाई परिमार्जनसहित अघि बढाउने र स्थानीय निर्वाचनको घोषणा एकैसाथ गर्ने तयारी गरेको छ।

निर्वाचन आयुक्तको नियुक्ति, निर्वाचन कानुन संसदबाट पारित, संविधान संशोधन बिधेयकप्रति दलीय सहमतिको प्रयासका कारण निर्वाचन घोषणाको ढिलाई भएको सत्तारुढ कांग्रेसका नेताहरु बताउँछन्। उनीहरु संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अघि सारेको मागलाई संवोधन गर्न संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गराउनुपर्ने बताउँछन्।

संविधान संशोधन विधेयक पेश गर्दा प्रमुख प्रतिपक्षी एमालेले राष्ट्रघाती भनेको र मधेशी मोर्चाले अपूर्ण भएको भन्दै विरोध जनाएकोले कम्तीमा एउटा पक्षले स्वीकार गर्ने गरी विधेयक संसदमा अघि बढाउनुपर्ने कांग्रेसको निश्कर्ष छ। कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता मीन विश्वकर्माले संविधान संशोधन बिधेयकलाई संसदबाट पारित गराउन दलीय सहमतिको प्रयासमा लाग्दा निर्वाचन घोषणामा ढिलाई भएको स्वीकारे।

'संविधान संशोधन विधेयकलाई सर्वस्वीकार्य बनाउन परिमार्जन आवश्यक भएकोले परिमार्जन गर्न कार्यदल गठन भएको छ’, कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माले थाहाखबरसँग भने ‘कार्यदलले सुझाव दिनासाथ विधेयकलाई माघ २० गतेभित्रै संसदमा अघि बढाउँछौं।’ उनले परिमार्जित विधेयक संसदमा अघि बढेसँगै स्थानीय निर्वाचनको घोषणा हुने जानकारी दिए।

‘संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई टुंगोमा पुर्‍याएर मात्र निर्वाचनको घोषणा गर्नुपर्छ भन्ने कांग्रेसको धारणा हो’ कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने ‘सरकारले ल्याएको विधेयकलाई थन्क्याएर निर्वाचन गर्ने पक्षमा कांग्रेस सहमत हुन सक्दैन।’

मोर्चाको सुझावलाई समेटेर विधेयकलाई टुंगोमा पुर्‍याउँदा पास वा फेल जे भएपनि मोर्चाले स्वीकार्ने नेता घिमिरेले विश्वास व्यक्त गरे। उनले भने ‘संसदले गरेको फैसला वा निर्णयलाई मोर्चाले स्वीकार्नुपर्छ। हिजो एमालेले संशोधन विधेयकलाई असंवैधानिक भनेको थियो तर आज बिरोध मात्र गरेको छ।’

चुनाव हुनेमा कांग्रेसभित्रै आशंका

कांग्रेस नेतृत्वले सरकारलाई चाँडो भन्दा चाँडो निर्वाचनको घोषणा गर्न दबाब दिए पनि सरकारले निर्वाचन कानुन र दलीय सहमति अभावका कारण केही ढिलाई गरेको छ। जसले गर्दा आगामी २०७३ साल जेठ भित्र स्थानीय निर्वाचन हुनेमा कांग्रेसकै सांसद विश्वास गर्दैनन्। 

केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारी र प्रदीप पौडेल वर्तमान सरकारले स्थानीय चुनाव गर्न नसक्ने ठोकुवा गरे। नेता भण्डारीले वर्तमान सरकारको उद्देश्य चुनाव गर्ने नभएको दाबी गरे। ‘यो सरकारले मुलुकको सार्वभौमसत्तालाई बलात्कार गरेजस्तो छ’, भण्डारी भन्छन्,‘यो सरकारलाई फाल्न सभापति शेरबहादुर देउवालाई मैले भनिसकेको छु।’

नेता प्रदीप पौडेलले संविधान संशोधन नगरी चुनावमा जाँदा कांग्रेसलाई घाटा हुने तर संविधान संशोधन गर्न सरकारले उदासिनता देखाएको दाबी गरे। ‘अबको ११ महिनामा स्थानीय, प्रदेश र संघीय संसदको चुनाव एकै पटक सम्भव छैन’ पौडेलले थाहाखरसँग भने ‘सरकारको चाला हेर्दा आगामी जेठमा स्थानीय निर्वाचन सम्भव छैन।’

उनले दलका नेताको असक्षमता र अकर्मण्यताका कारण देश संवैधानिक संकटमा पर्न सक्ने चेतावनी दिए। पौडेलले संसदमा पेश भएको विधेयकलाई पारित गर्न मधेशी मोर्चालाई भए पनि सहमतिमा ल्याउनुपर्ने धारणा राख्छन्।

तर युवा नेता भण्डारी मधेशी मोर्चालाई मनाउन विधेयक पेश वा परिमार्जन गर्न नहुने तर्क राख्छन्। उनी भन्छन् ‘पार्टी सभापति देउवाले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीसँग भेटेर राष्ट्रका पक्षमा तत्काल सहमति गरेर त्यो विधेयक फिर्ता गरेपछि मात्र निर्वाचन सम्भव छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.