समाज

तेजपत्ता नबिकेपछि उदयपुरका किसान निराश

फागुन ५, २०७६

    उदयपुर : जिल्लाको दुर्गम क्षेत्रका किसानहरूको मुख्‍य आम्दानीको स्रोत बनेको तेजपत्ता नबिकेपछि यहाँका किसानहरू निराश बनेका छन्।

    सडकको समस्याका कारण तेज नबिकेपछि किसानहरूले तेजपत्ता नकाटी बोटमै छाड्न थालेका छन्। तेजपत्ता पहाडी तथा दुर्गम क्षेत्रमा जस्तोसुकै भिरालो जमिनमा पनि पाइन्छ।

    जडीबुटी र मसलाका लागि बहुउपयोगी मानिने तेजपत्ता अर्थात् सिन्कौलीको पात नै पहाडी क्षेत्रका किसानको आम्दानीको स्रोत हो। घर वरिपरिको पाखोबारी र खेतबारीछेउछाउ आफ्नो वनजंगलमा जताततै तेजपत्ता पाइन्छ।

    दुर्गम गाउँसम्म पुग्‍ने सडक नभएकै कारण तेजपत्ता  बिक्री गर्न नसकिएको उदयपुरगढी गाउँपालिका-२ बर्रेका स्थानीय किसान जीवन मगरले बताए।

    उनी भन्‍छन्, ‘भिरालो जमिन छ, खेतीपातीको खासै उब्जाउ हुँदैन' उनले थपे, ' अलेली आम्दानी हुन्छ कि भनेको यही तेजपत्ता नबिकेर बोटमै छ।' आफूहरू जस्ता न्यून आर्थिक भएका किसानहरूलाई यसबाट समस्या भएको उनले दुखेसो सुनाए।

    त्यस्तै, गढी गाउँपालिका-२ का किसान भक्तबहादुर मगरले पनि सामग्री भए पनि बजार नपाएको गुनासो गरे। 'लाखैंको तेजपत्ता भए पनि गाउँमा नपुगेकाले बेच्‍ने सम्भावनै छैन' उनले भने।

    भौगोलिक विकटताका कारण ३ घण्टाको उकालो बाटो भारी बोकेर तेजपत्ता बेच्‍न नसकिने उनको भनाइ छ। बजार पुर्‍याउन सके नबिक्ला कि भनेर चिन्तै गर्नु नपर्ने स्थानीय ७० वर्षीय दलबहादुर मगरले बताए।

    अबको एक वर्षमा सडक आउँछ

    सडककै कारण यहाँका स्थानीयलाई समस्या भइरहेका बेला अबको एक वर्षभित्र यहाँ बाटो आइसक्ने २ नम्बर वडाका वडा अध्यक्ष मनोज कार्कीको भनाइ छ। ‘अब ढिलोमा एक वर्षभित्रमा गाउँमा सडक आइसक्छ' उनले भने। सडक विस्तारको काम अबको  केही दिनमै सुरु हुने उनको भनाइ छ।

    के हो तेजपत्ता?

    तेजपत्ता एक प्रकारको जडीबुटी हो। यसलाई चिया वा तरकारीमा राखेर स्वाद लिन सकिन्छ। खानेकुरामा मसलाको रुपमा उपयोग गरिने तेजपत्ता स्वास्थ्यको दृष्टिले पनि निकै फाइदाजनक जडीबुटी हो। सुगन्धित स्वाद हुने यसको पत्तामा आवश्यक पोषक तत्व र खनिज हुन्छ। यसमा भिटामिन ए र सी पाइन्छ।

    औषधीय गुणयुक्त तेजपत्ता क्यान्सर जस्ता घातक रोगमा पनि फाइदाजनक हुने अनुसन्धानबाट देखिएको छ।

    तेजपत्ताको विरुवा हुर्काउन पानी, गोडेमेलमा खासै मिहिनेत पनि पर्दैन। यसको खेती खासै झन्झटसलो हुँदैन किसानको बारी, पाखो वा भिरालो स्थान सबैतिर यसको खेती गर्न सकिन्छ।

    प्रतिकिलो ४०

    जिल्लामै तेजपत्ताकै उत्पादन र मूल्यमा वृद्धि हुँदै गएको पाइछ। उदयपुरको चुरे र महाभारत क्षेत्रमा तेजपत्ताको व्यावसायिक खेती हुने गरेको छ। जिल्लाको विकट क्षेत्र रौता, आँपटार, भलायडाँडा, पोखरी, भुट्टार, नामेटार, खाँबु, साउने, जाल्पा चिलाउने, तावाश्री, वर्रे, डुम्रे, मयाँखु, हर्देनी, सिरिसे, सोरुङ छविसे लगायतका क्षेत्रमा तेजपत्ता खेती हुँदै आएको छ।

    अघिल्लो वर्षसम्म प्रतिकेजी २५ रुपैयाँमा बिक्री हुँदै आएको तेजपत्ता (सिन्कौली) यस वर्ष किसानले प्रतिकेजी ३५-४० रुपैयाँमा बिक्री गर्ने गरेको लिम्चुङबुङका किसान विशाल कोइराला बताउँछन्।

    वनास्पतिको रुपमा दर्ज हुने तेजपत्ता वार्षिक करिब पाँचसय मेट्रिक टन उत्पादन हुने गरेको डिभिजन वन कार्यालय गाईघाटको तथ्यांक रहेको छ। भौगोलिक विकटता र ढुवानीको साधनहरुको अभावका कारण समयमा बजारसम्म पुर्‍याउन नसक्दा कतिपय तेजपत्ता सडेर जाने गरेको पाइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]