|

डडेल्धुराः नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डडेल्धुरामा आयोजना हुन लागेको ‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव’ को तयारी तीव्र पारिएको छ।

‘सुखी नेपाली समृद्ध नेपाल : कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराकासाथ फागुन ८ गतेदेखि १८ गतेसम्म आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको हो। 

डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराले भ्रमण वर्षलाई सफल बनाउन र यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको हो। 

२०६५ सालमा पहिलोपटक महोत्सव गरेको उद्योग वाणिज्य संघले यसवर्ष नेपाल भ्रमण वर्षलाई टेवा पुर्‍याउने र विकासका सम्भावना पहिचान गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिए।

महोत्वसको ६०/७० प्रतिशत तयारी सकिएको उनले बताए। महोत्सवको लागि गेट निर्माण, स्टल निर्माण, स्टेज निर्माण तथा स्टल बुकिङ सम्झैता गर्ने काम तीव्र गतिमा भइरहेको अध्यक्ष भट्टले जानकारी दिए। उनको अनुसार महोत्सव हुने स्थलको चारैतिर घेरबार लगाइसकिएको छ। 

महोत्सवमा कृषि उपज, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधि तथा बाल उद्यानसहित तीनसय बढी स्टल रहने स्टल संयोजक दिपक महताले बताए।

महोत्वसको फागुन ८ गते नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ। 

महोत्सवमा लोक दोहरी हाँस्यव्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको उजागर र प्रचार-प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। राष्ट्रिय कलाकारसँगै सुदूरपश्चिम प्रदेशका कलाकारको महोत्सवमा विशेष प्रस्तुति रहने संघले जनाएको छ।

महोत्सवमा बडालको चौलो, मारूनी नृत्य, छलिया नृत्य महिला-पुरुष देउडा, झाँकी प्रदर्शन गरिने जनाइएको छ। महोत्सवमा माडा, रोटी, कोदाको रोटी, डुब्कालगायतका डोटेली खानाका विशेष परिकारहरू रहनेछन्। 

अमरगढी नगरपालिका ४ टुँडिखेलमा आयोजना हुने महोत्सवमा सर्वसाधारणका लागि ६० विद्यार्थीका लागि ४० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। ‘क’ र ‘ख’ वर्गका अपांगता भएकालाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

महोत्सवको टिकटबाट उठ्ने पैसाको १० प्रतिशत रकम डडेल्धुरा बहुमुखी क्याम्पसमा प्रविधिक शिक्षा संचालन गर्न र डडेल्धुरामा हवाई मैदान निर्माणका लागि खर्च गरिने आयोजकले जनाएको छ। दुई लाखले महोत्वसको अवलोकन गर्ने आयोजकको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.