|

काभ्रेपलाञ्चोक : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउने महाअभियानमा रहेको बताए।

प्रधानमन्त्री ओलीले धुलिखेल नगरपालिकाको ३४ औँ स्थापना दिवसलाई सोमबार सम्बोधन गर्दै डिजिटल नेपालका लागि विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्ने नीति लिइएको जानकारी दिए। 

'डिजिटल नेपालका लागि विकास र सेवाका हरेक क्षेत्रमा आधुनिक प्रविधि कार्यान्वयन गर्दै अघि बढिरहेका छौँ। फोरजी सेवा पनि सबै जिल्लामा पुगिसक्यो। हरेक दिन हामी युगान्तकारी काम गरिरहेका छौँ। देश आधुनिकता, विकास, सामाजिक न्याय–समानता र समृद्धितर्फ अघि बढिरहेको छ', उनले भने। 

प्रधानमन्त्री ओलीले सरकार महिला र पिछडिएका समयुदायको उत्थान, रोजगारी र युवालाई विदेशप्रति विकर्षणका कार्यक्रम ल्याइएको बताए। उनले भने, 'अब हाम्रा प्रतिभा, श्रम–सामथ्र्य बाहिर नजाऊन् भन्नका लागि सीपयुक्त बनाएर दक्ष जनशक्तिमा परिणत गर्दैछौँ। शिक्षालाई जीवनसँग जोडेर जीवनयोपयोगी बनाउने प्राविधिक र ज्ञानमूलक शिक्षा नागरिकमा पुर्‍याउने काम गर्दैछौँ।' 

उनले हाल ८८ प्रतिशतभन्दा बढी जनतामा विद्युत् पहुँच पुगिसकेको उल्लेख गर्दै अबको दुई वर्षभित्र बाँकी १२ प्रतिशतलाई विद्युत् सेवा पुर्‍याइ सक्ने र स्मार्ट मिटर जडान गरिसक्ने बताए। प्रधानमन्त्री ओलीले भक्तपुर–बनेपा–धुलिखेल सडकलाई चौडा पार्ने काम थालिने पनि जानकारी दिए।

'हामी एक गाउँमा मात्रै होइन। सबै गाउँमा विकास गर्छौ। अब हामी सुरुङ युगमा प्रवेश गर्दैछौं। सुरुङ बनाउँदै जान्छौँ। बाटो चौडा गर्दै जान्छौं', उनले भने। उनले कोटेश्वरको जाम हटाउन ‘अण्डरग्राउण्ड रोड’ बनाइने जानकारी पनि दिए।

प्रधानमन्त्री ओलीले काठमाडौँमा टेलिफोनका तार जमिनमुनिबाट पाइपबाट लैजाने कामको शुरुवात भएको उल्लेख गर्दै जमीनमा खनेर धुलो र खाल्डा बनाउनुपर्ने कामको अन्त्य भएको पनि बताए।'विकास भनेको पुँजीपतिले पैसा कमाउने मात्रै होइन। गर्भमा भएका भ्रुणदेखि जीवन बाँचुञ्जेज मसिनो रुपमा हेरविचार गरी मानिसप्रति उत्तरदायी हुने चरित्रको विकास गर्दैछौं' उनले भने।

सरकारले सडक बालबालिका र सडक मानव कहीँ पनि रहन नदिने बताउँदै  हाल धेरै व्यवस्थापन गरिसकिएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले खान नपाएर मानिस भोकै मर्ने समस्या नहुने दोहोर्‍याए । उनले भने, 'जनताको सरकारका बेला खानै नपाएर मर्ने? त्यस्तो नेपालमा हुँदैन। जनताको सरकारले कसैलाई भोकै राख्दैन।' 

शतप्रतिशत बालबालिका अब विद्यालय जान थालेकामा खुशी व्यक्त गर्दै उनले हाल विद्यालय छाड्ने बालबालिकको संख्या नगण्य रहेकाले त्यस संख्यालाई समाप्त पारिने बताए।  

प्रधानमन्त्री ओलीले एक सय वर्षदेखि दक्षिण एशियाको सबैभन्दा पहिलो बिजुली उत्पादन गर्ने नेपाल ५०० मेगावाटभन्दा कम उत्पादन गरेर बसेकामा दुई वर्षमा हजार मेगावाट नघाइएको बताए।

'अर्को वर्षमा अर्को हजार मेगावाट बढाउँछौं। अहिले अलिअलि विद्युत् निर्यात गर्दैछौं। अर्को वर्षदेखि निर्यात बढाइँदै लगिन्छ।' उनले भने। प्रधानमन्त्री ओलीले काभ्रेपलाञ्चोक प्रतिभा जन्माउने जिल्लाका रुपमा क्रमशः प्रकट हुँदै गएको उल्लेख गर्दै धुलिखेलको विकासले आफू खुशी भएको बताए। उनले जिल्लाका तरकारी र फलफूललाई प्राङ्गारिक बनाउँदै आधुनिकीकरणको दिशातर्फ अघि बढाउन सुझाव दिए। 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि एवं शहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले न्याय र समानतासँगै नेपाललाई विकासतर्फ डोहोर्‍याइरहेको बताए। खानेपानीमन्त्री विना मगरले धुलिखेल नगरपालिकाले खानेपानीमा स्वच्छता कायम गरिरहेकामा खुशी व्यक्त गरे।

नगरप्रमुख अशोक व्याञ्जु श्रेष्ठले आगामी २० वर्षमा नेपालकै उत्कृष्ट नमूना नगर हुने गरी काम अघि बढाइएको उल्लेख गर्दै पाँच वर्षभित्र नगरवासीका आधारभूत आवश्यकता पूर्ति गरिने बताए। सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न विधामा उत्कृष्ट जिल्लाका व्यक्तित्वलाई सम्मान गरे। यसअघि उनले काभ्रेभञ्ज्याङमा निर्माण गरिएको जननेता मदन भण्डारीको शालिक अनावरण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.