|

काठमाडौं : आइतबार दिउँसो १ बजे माइतीघर मण्डलामा ५० जनाजति मान्छे भेला भएका थिए। माइकमा उद्घोष भइरहेको थियो, 'हामी आज यहाँ सहिदहरुको सम्मानका लागि उपस्थित भइरहेका छौं।' मण्डलाको पूर्वपट्टि ठूलो फलामको डण्डा गाडिएको थियो। डण्डाको फेदमा राखिएको प्लास्टिकको कुर्सीमा नेपालको झण्डा राखिएको थियो। झन्डै साढे १ बजेतिर केही मान्छेहरु ठूलो झण्डालाई फहराउनका लागि तयार पार्न थाले।

बिस्तारै मान्छेहरुको उपस्थिति बाक्लिन थाल्यो। राष्ट्रकवि माधवप्रसाद घिमिरे पनि लौरो टेक्दै आइपुगे। उनीभन्दा पहिल्यै अल्ट्रा धाविकका रुपमा विश्वचर्चित मीरा राई, अभिनेता नवल खड्का र एमाले नेताहरुको उपस्थिति भइसकेको थियो। आयोजकहरु झण्डालाई फलामको डण्डामा बाँध्न थालेका थिए। बाँसको भर्‍याङबाट झण्डा मिलाउन खोज्दा पनि सकेनन्।

आयोजकलले झण्डोत्तलन गर्न आउने प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीको बाटो हेरिरहेका थिए। साढे २ बजेतिर ओली कार्यक्रम स्थलमा आइपुगे। साइरन बजाउदै आएका ओलीको अघिअघि आएको थियो क्रेन। झण्डोत्तलनमा क्रेनको के काम? उपस्थितहरु खासखुस गरिरहेका थिए। क्रेनलाई डन्डाको फेदमा पुर्‍याइयो। क्रेन ल्याउनुको कारण थियो झण्डालाई डण्डामा राख्नु।

क्रेनका सहचालकले क्रेनको टुप्पोमा बस्नलाई डोरी लगाए। एकचोटी उनी आफै गए झण्डा तयार पार्न। उनले सकेनन्। त्यसपछि क्रेनको डोरीमा चढे कास्कीका प्रकाश भुजेल। उपस्थित पत्रकार र अन्य दर्जनौं क्यामेरा र मोबाइलले फोटो खिच्न थाले। एमालेको विद्यार्थी भातृ संगठन अनेरास्ववियुमा संलग्न प्रकाशलाई झण्डा फर्फराउन तयार पार्न आधा घण्टा लाग्यो।

प्रकाशले झण्डा तयार पारिसकेपछि झण्डोत्तलन गरिदिन उद्घोषकले प्रमुख अतिथि केपी ओली र विशिष्ट अतिथि माधवप्रसाद घिमिरेलाई आग्रह गरे। दुबैले झण्डाको सूर्य रहेको भागलाई खुला छोडे। १० मिटर लम्बाई, ७.५ मिटर चौडाइको झण्डा दिउँसोको हावामा फर्फरायो। जसको तौल थियो ८ किलो।

झण्डा राख्नुको कारण खोले समाजका अध्यक्ष नारायणप्रसाद ढुंगानाले। आइतबार सहिद दिवस परेकोले राणाशासन विरुद्ध लड्ने सहिदहरुको सम्झनामा देशकै ठूलो झण्डा गाड्ने र बिभिन्न राष्ट्रिय व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम थियो। प्रशंसापत्रसहित सम्मानित हुनेमा कलाकार, खेलाडी, पत्रकार र सामाजिक कार्यमा लागेका व्यक्तिहरु थिए।

ओली र घिमिरेले कलाकार मदनदास श्रेष्ठ, लैंगिक हिंसा विरोधी अभियन्ता आरती चटौत, अल्ट्रा धाविका मीरा राई, पत्रकार ऋषि धमला, सीएनएन सुपर हिरो पुष्पा बस्नेत, गत साउनमा सप्तरीको तिलाठीमा भारतीय पक्षले सीमा मिचेर बाँध बनाउने कार्यको विरोध गर्दा घाइते भएका देवनारायण यादव, अभिनेता नवल खड्का, फुटबल खेलाडी विमल घर्तिमगर लगायतका व्यक्तिहरुलाई सम्मान गरेका थिए।

समाजका अध्यक्ष ढुंगानाले ठूलो झण्डा फर्फराउनुका पछाडि युवाहरुको नेपाल प्रतिको माया भएको बताए। 'यो नेपाली माटो र नेपाली आमाको सम्मानको लागि हो', उनले भने, 'सहिदहरुको बलिदानको सम्मान गर्न आजको दिन यो झण्डा फर्फराइरहेका छौं।' उनले झण्डाको संरक्षण गर्नु युवाहरुको दायित्व भएको बताए। यो युवाको देश प्रतिको प्रेमको प्रतीक हो भन्दै ढुंगानाले मञ्चमा रहेका एमाले अध्यक्ष ओलीतिर हेर्दै भने, 'विगतमा नेपाली नेताहरुले साना झण्डा तर फर्फराए तर ठूलो झण्डा फर्फराउन सक्नुभएन। त्यसैले पनि हामीले यो झण्डा फर्फराएका हौं।'

ओलीको जवाफ

एमाले अध्यक्ष केपी ओलीले सम्बोधनको सुरुमै नेपालमा झण्डाको कुरा झिके। 'केही वर्ष यता नेपालमा झण्डा प्यारो भएको छ। झण्डा फेर्नुपर्छ भनेर संविधानसभामा कुरा आएका थिए' त्यसले नेपाली स्वभिमान र गौरवमाथि हमला भएको भन्दै उनले भने, 'तबदेखि नै नेपाली जनतामा झण्डा र स्वाभिमान प्यारो भएर आएको हो।'

ओलीले माइतीघर मण्डलामा नेपालकै ठूलो झण्डा गाडेकोमा खुसी व्यक्त गर्दै भने, 'माइतीघर मण्डलामा जहाँ हामी देशको शान्तिको निम्ति बत्ती बाल्छौं त्यहाँ राष्ट्रिय झण्डा स्थायी रुपमा राखेका छौं।' युवा पिँढीमा राष्ट्रिय भावना जागेकामा ओलीले धन्यवाद दिए। उनले पुस्तौदेखि नेपाली झण्डाको माया लागेको बताए। माधव घिमिरेले लेखेको कविता 'नेपाली हामी रहौंला कहाँ नेपालै नरहे…' कविताका केही लाइन वाचन गर्दै उनले भने, 'हामीले मनमा झण्डा गाडेका छौं। माधव प्रसाद घिमिरेले कवितामा झण्डा गाडेका छन्। ठूला ठूला झण्डा गाड्नुभएको छ।' उनले ठट्यौलो पारामा ढुंगानाले झण्डा उड्नुभएन भन्ने गुनासोको जवाफमा भने, 'तपाईहरुले झण्डा गाड्नुभएन भन्नुभयो, तपाईहरुलाई पनि काम चाहियो भनेर नगाडेका हौं।'

राष्ट्रकवि धवप्रसाद घिमिरेले जहाँ नेपाली झण्डा फहराएको देख्यौ त्यहाँ नेपाल देखिने बताए। उनले भने, 'प्रत्येक नेपालीका मनमनमा झण्डा रहेको छ।' झण्डाले नेपाली स्वाभिमान बोक्ने भएकोले झण्डा झुक्न नदिनुपर्ने बताए। उनले भने, 'नेपाली झण्डालाई मनमा फर्फराउनुहोस् र सधैँ जिउँदो रहनुहोस्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.