प्रतियोगिताको ८० प्रतिशत तयारी पूरा

|

डडेल्धुराः नेपाल आइस चौथो सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणको ट्रफी सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो। 

फागुन ९ गतेदेखि फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए। हालसम्म ८० प्रतिशत तयारी सकिएको र बाँकी रहेको दिनमा सबै तयारी पूरा हुने उनले बताए। 

यस्तो छ खेल तालिका

पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा सहभागी टिमहरूको बारेमा र खेल तालिकाको बारेमा समेत जानकारी दिइएको छ। यसअघि नै सार्वजनिक गरिएको खेल तालिकाअनुसार उद्घाटन खेलमा फागनु ९ गते बागमती क्लब र कञ्चनजंघा फुटबल क्लब इन्डियाबीच प्रतिस्पर्धा हुनेछ। जसको विजेताले सेमिफाइनल प्रवेशको लागि नेपाल आईस सुदूरपश्चिम–११ सँग प्रतिस्पर्धा गर्ने छ। जुन खेल फागुन १३ मा हुनेछ। 

फागुन १० मा नेपाल एपिएफ काठमाडौं र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ। विजेताले फागुन १५ मा सेमिफाइनल प्रवेशको लागि नेपाल पुलिस क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ। फागुन ११ मा नव जनजागृति क्लब सिमरा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। जसको विजेताले सेमिफाइनल प्रवेशको लागि फागुन १४ मा रुस्लान थ्री स्टार क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ।

फागुन १२ मा गोर्खा ब्वाइज रुपन्देही र कोबा फुटबल क्लब क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ। जसको विजेताले सेमिफाइनल प्रवेशको लागि सिएमजी संकटा काठमाडौंसँग फागुन १६ मा प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनल फागुन १७ र दोस्रो १८ गते हुनेछ। फाइनल फागुन २० मा हुनेछ। 

विजेतालाई २१ लाख

चौधरी गुप्रको नेपाल आइसले मुख्य प्रायोजन गरेको प्रतियोगितामा दुई विदेशीसहित १२ टिम सहभागी हुनेछन्। प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए।

धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।

एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्यक्ष तथा दुई करोड मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दावी गरेको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी (डिस) होमले गर्नेछ। गत संस्करणमा रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो।

प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो चार वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्ष हमालले बताए। 

यसपालिको गोल्डकपको नाम प्रतियोगिताको नाम चौथो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप २०७६ रहने छ। प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ। प्रतियोगिताको प्रायोजकमा ग्लोवल आइएमइ बैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ। त्यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, इन्सुरेन्स पाटर्सरमा मेटलाइफ रहेको छ। 

सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.