|

काठमाडौं : काठमाडौं तराई-मधेश द्रूतमार्ग निर्माण कार्यक्रममा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर परीक्षणका लागि पाँच ठाउँमा ल्याव स्थापना गरी काम भइरहेको छ।

मखुवेशी, महादेवटार लेनडाँडालगायत ५ स्थानमा ल्याब स्थापना गरी आयोजनाको निर्माण सामग्रीको गुणस्तर परीक्षण भइरहेको सेनाले जनाएको छ। सोमबार विकास तथा प्रविधि समितिमा सेनाले दिएको जानकारी अनुसार द्रूतमार्गको कटिङतर्फ ८७.७१ प्रतिशत काम सकिएको छ।

त्यसैगरी फिलिङतर्फ २३.५३ प्रतिशत, रिङ फोर्स तर्फ १२.२३, ग्याविङ वालतर्फ २६.३३ प्रतिशत, पाइप कल्भर्ट तर्फ ३८.१४ र बक्स कल्भर्टतर्फ ३१.४२ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले बताए।

आयोजना निर्माणका क्रममा अहिलेसम्म १७ हजार ९४९ वटा रुखहरू कटान गरिएको छ। चालु आर्थिक वर्षमा ७६० रुख कटान गर्ने लक्ष्य लिइएकोमा अहिलेसम्म ६७७ वटा रुख कटान गरिएको उनले बताए। तीन चरणमा गरी वृक्षारोपणको काम पनि सुरु गरिएको छ।

एक रुख काटेवाफत २५ वटा बोट वृक्षारोपण गर्नुपर्ने प्रावधानअनुसार पहिलो चरणमा ५ हजार बोट रोपिएका छन्। दोस्रो चरणमा एकलाख १० हजार र तेसो चरणमा दुई लाख १६ हजार रुख रोपिनेछन्।

रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले अहिले ५४ किलोमिटर सडकखण्डमा काम भइरहेको बताए। यो आर्थिक वर्षमा १५ अर्ब बजेट विनियोजन गरिएको गरिएको र त्यसमध्ये ७ अर्ब भन्दा केही बढी रकम मात्रै खर्च गर्न सकिने अवस्थामा रहेको बताए।

सांसदले आयोजना तोकिएको समयमा पूरा हुन्छ, हुँदैन भन्नेमा आशंका व्यक्त गरेका छन्। विभिन्न ठाउँमा देखिएका विवादका कारण आयोजनामा ढिलाई हुन सक्नेतर्फ सांसदले सचेत गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.