|

तनहुँ : बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन्। गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दाा दर्ता गरिएको छ। 

गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

जाहेरीसँगै गायक कटुवाललाई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। 

सिलवालले गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको बताए । उनका अनसार डुम्रेका व्यसवायीहरुले आइतबारदेखि गायक कटुवालविरुद्ध जाहेरी दिने प्रयास गरेका थिए। तर प्रहरीले सोमबार मात्रै जाहेरी दर्ता गरेको हो। 

शनिबार पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडी बान्ता गरेपछि त्यही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य विवाद भएको थियो। केही समयको विवादपछि दुई पक्षबीच सहमति भई मिलापत्र भएर गायक पोखरा गएका स्रोतले जनाएको छ।

साँझ घरमा खाना खाइरहेको अवस्थामा व्यवसायी गुरुङलाई मास्क लगाएर मोटरसाइकलमा आएका दुई व्यक्तिले एक्कासी रडले आक्रमण गरेर गम्भीर घाइते बनाएका छन्। घाइते गुरुङको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सिलवालले बताए। 

उनका अनुसार गुरुङको अवस्था गम्भीर छ। आक्रमणमा गायक कटुवाल संलग्न भएको आरोप पीडितका परिवारले लगाएका छन्। त्यही आरोपमा उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.