श्रीमती र छोराको नाममा लुकाइयो अवैध सम्पत्ति

|

काठमाडौं : सडक डिभिजन कार्यालयका एकजना प्रमुखविरुद्ध करिब ४ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय बिराटनगर (मोरङ) का तत्कालीन डिभिजन प्रमुख जितेन्द्रकुमार चौधरीविरुद्ध ३ करोड ९९ लाख ४४ हजार ३४२ को भ्रष्टाचार मुद्दा चलाएको हो।

चौधरीले सडक विभागमा रहँदा पदीय मर्यादा विपरित सडकका विभिन्न आयोजनाहरुबाट ठेकेदारहरुसँग मिलेर ३ करोड ९९ लाख ४४ हजार ३४२ रुपैयाँ गैरकानूनी सम्पत्ति कमाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। उनले उक्त पैसा घर, घडेरीदेखि बैंकसमेत रकम जम्मा गरेको अख्तियारले जनाएको छ।

चौधरीले गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोराका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिद गरेको पनि भेटिएको छ।

उनले छोरा छोरीको शैक्षिक खर्च लगायतका बिभिन्न शीर्षकहरुमा गरेका खर्चहरु र बिभिन्न बैंक खाताहरुमा रहेका मौज्दातसमतेमा लगानी गरेको पाइएको अख्तियारले उल्लेख गरेको छ।

चौधारीले ३ करोड ९९ लाख ४४ हजार ३४२ रुपैयाँ गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको भन्दै अख्तियारले त्यति नै बिगो कायम गरी जरिवाना र कैद सजाय माग गरेको छ ।

चौधरीले गैरकानूनी रुपमा कमाएको बिगो बराबरको एकाघर श्रीमती र छोरा एवम् आफ्नै नाममा राखिएको सम्पत्तिबाट असुलउपर गराउन माग गरिएको अख्तियारले जनाएको छ।

आयोगले चौधरीकी श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरी समेतलाई प्रतिवादी बनाएर सम्पत्ति जफत गर्न मागसहित सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा चलाएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.