बहसको स्तर नै ५ प्रतिशतमाथि पुगिसकेको जिकिर

|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशत भन्दामाथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताएका छन्। 

ललितपुरको हरिहरभवन स्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशत भन्दा माथिको बहस हुने गरेको बताए।

उनले राज्यसत्तामा रहँदा ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरु अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सर्नेगरेको बताए। '३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरु अहिले ६/७ प्रतिशतको वृद्धिदर हुने र सरकारले लक्ष्य पूरा नहुने भन्दै आलोचना गर्न लागेका छन्', उनले गुनासो गरे।

‘कसैकसैले आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेर ठूलो बहस चलाइरहनु भएको छ', उनले अगाडि भने, 'तर ६/७ को कुरा गर्नुहुन्छ। बहसको स्तर नै अब ५ प्रतिशत भन्दा माथि पुगेको छ। ३/४ प्रतिशतको कुरै गर्न छाडनुभयो उहाँहरु पनि जबकी उहाँहरु कसै कसैले त आफैं राज्य सञ्चालक हुँदा चार प्रतिशत पनि नपुगेर बाहिरिनुभएको हो।'

समाजले यी कुराको मूल्याङ्कन गर्ने उनले जिकिर गरे। 'सरकारले एकपक्षीय ढंले यी कुार राखिराखेको होइन, अंक पनि बोल्छन्, अनुभूति पनि बोल्छन्, त्यसको प्रभाव पनि बोल्छन्', उनले भने, 'त्यही कुरालाई तपाईंहरुले समयसमयमा सार्वजनिक चासोको विषयको रुपमा छलफल चलाउन सक्नुहुन्छ।’ 

तालिम केन्द्रले अर्थतन्त्रको वास्तविक अवस्थाको विषयमा पनि विज्ञहरुसँग छलफल चलाउनुपर्नेमा उनले जोड दिएका छन्। 

अर्थमन्त्री खतिवडाले दुई वर्षमा औषतभन्दा माथि उपलब्धि हासिल गर्न सकेको बताए। उनले आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण तथा समाजको रुपमान्तरणमा औषत भन्दामाथिको उपलब्धि भएको बताए।

खतिवडाले तालिम केन्द्र एउटा अवसर भएको र यसले अनुसन्धानलाई वृद्धि गरी तालिमको व्यवस्था गर्नुपर्ने बताए। उनले अनुसन्धान र तालिम अभिन्न अंग भएकाले अनुसन्धानबिनाको प्रशिक्षण र तालिमको कुनै अर्थ नहुने पनि बताए।

कार्यक्रमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले दिने तालिमको मोडलमा परिवर्तन गर्नुपर्ने बताए। उनले वित्तीय सघियताको पाटोमा अलिकति सुधार गर्नुपर्ने र त्यसका लागि तालिम केन्द्रको अभ्यास अगाडि बढाउनुपर्ने तालिम केन्द्रलाई अनुसन्धान उन्मुख बनाउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.