|
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय कुखुरापालक संघर्ष समितिले चल्ला र दानामा कृत्रिम रुपमा बढाइएको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ।

संघर्ष समितिले मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा ज्ञापनपत्र बुझाउँदै चल्ला र दानामा कृत्रिम वृद्धि गराइएको भन्दै फिर्ता गराउन माग गरेको हो। संघर्ष समितिका संयोजक विष्णु खड्काले गत माघ ११ देखि १८ गते सम्म ८ दिनको बिचमा तीन पटक गरी प्रतिगोटा चल्लाको मूल्य ३० रुपैयाँले बढाइएको बताए।

उनले चल्लाको मूल्यमा भएको कालोबजारीविरुद्ध वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरी दिए पनि कुनै चासो नदिनुले कालोबजारीमा विभागको समेत मिलेमतो भएको आरोप लगाए। उनले आफूहरू अन्यायमा परेको अवस्थामा सरकारसमेत चुप बस्दा पेसा छोड्ने अवस्थामा पुगेको बताए।

कुखुरापालक किसानको ज्ञापनपत्र बुझ्दै विभागका महनिर्देशक नेत्रप्रसाद सुवेदीले आफूलाई व्यापारी तथा उद्योगीसँग मिलेको उल्लेख भएको भन्दै आपत्ति जनाए। उनले विभागले कसैसँग मिलेमतो नगरेको स्पस्ट पार्दै चल्ला र दानाको मूल्य बढेको विषयमा भिगाले अनुसन्धान गरिरहको बताए।

उनले कुरा मिलुन्जेल मिलेमतोमा मूल्य बढाउने र विग्रिएपछि एकैदिनमा समाधान खोज्ने प्रवृतिको अन्त्य गर्न किसानहरुलाई आग्रह गरे। उनले क्रान्तिकारी कुरा गरेर समस्याको समाधान नहुने भन्दै विभागलाई वस्तुगत आधार प्रस्तुत गर्न किसानलाई आग्रह गरे।

महानिर्देशक सुवेदीले चल्ला र दानाको मूल्य निर्धारण र किसानले मूल्य नपाउने विषय गम्भीर भएकाले विभागको ध्यानाकर्षण भइसकेको बताए। उनले आवश्यक अध्ययनबिना हचुवाका भरमा कारबाही नहुने र विधि प्रक्रिया पूरा गरी कारबाही गरिने आश्वासन समेत दिए।

राष्ट्रिय कुखुरापालक किसान संघर्ष समितिले गत माघ २० गते चल्ला र दानाको मूल्यमा कृत्रिम वृद्धि गराइएको भन्दै कारबाही गर्न लिखित रुपमा निवेदन दिएको थियो। तर, अहिलेसम्म कारबाही हुन नसकेपछि आफूहरू ठूला उद्योगी व्यवसायी र सरकारी निकायबीचको मिलेमतोमा कालोबजारी भइरहेको निष्कर्षमा पुगेको उनीहरूले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.