|

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा नयाँ पर्यटकीय मार्गको रुपमा चिनिएको धौलागिरी सेञ्चुरी पदमार्गमा पर्ने रघुगंगा गाउँपालिका ६ रायखोरमा होम स्टे सुरु गरिएको छ।

गण्डकी प्रदेशको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालयको सहयोगमा होम स्टे सञ्चालनका लागि निर्माण गरिएको सामुदायिक भवन निर्माणको नेपाली कांग्रेस म्याग्दीमा सभापति खम्बीर गर्बुजा र गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

ग्रामीण क्षेत्रमा सानो लगानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न होम स्टे एउटा आवश्यक पूर्वाधार भएकाले सुरु गरिएको बताइएको थियो।कार्यक्रममा गर्बुजाले विकट गाउँमा पनी होम स्टे सञ्चालन हुनु राम्रो कुरा भएको बताउँदै होम स्टेलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताए। 

गाउँपालिका अध्यक्ष भण्डारी समृद्ध गाउँपालिका बनाउका लागि आफूहरु लागि परेको बताउँदै दुर्गम गाउँका जनताको आयआर्जनमा सुधार नभएसम्म गाउँपालिका समृद्ध नहुने भन्दै त्यसका गाउँको सम्भाव्यता अध्ययन गरी त्यही अनुरुपका कार्यक्रम ल्याएको बताए।

 ‘गाउँपालिका भित्रका सम्भावनायुक्त क्षेत्रमा प्राथमिकता दिएका छौं,‘ग्रामीण पर्यटनको सुन्दर गन्तब्यको रुपमा विकास गर्ने प्रयास भइरहेको छ’ अध्यक्ष भण्डारीले भने। सोही अवसरमा गाउँपालिका प्रवक्ता जीवनकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मी, नेपाली कांग्रेसका युवा नेता ओम छन्त्याललगायतको उपस्थिति रहेको थियो। 

सामुदायिक भवनमा पर्यटकलाई स्वागत गरी खाना, खाजा खुवाएर व्यक्तिका घरमा बाँडेर बस्ने व्यवस्था मिलाएको होम स्टेकी अध्यक्ष बेलमाया पुनले जानकारी दिइन्। होम स्टेसम्म पर्यटक आउने वातावरण बनाउन समेत अनुरोध गरिन्। डिभिजन वन कार्यालयको १० लाख, रघुगंगा गाउँपालिकाको एक लाख ४२ हजार ६२२ र समुदायको दुई लाख ८६ हजार २४७ रुपैयाँ गरी कुल १४ लाख २७ हजार ८६६ रुपैयाँको लागतमा भवन निर्माण भएको हो। 

सात घर परिवार सामुदायिक होम स्टेमा आवद्ध भएको अध्यक्ष वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए। होम स्टेले गाउँको विकासमा सहयोग पुग्ने उनको भनाई छ। मगर समुदायको बाहूल्य बसोबास भएको रायखोर गाउँको पृष्ठभूमिमा धौलागिरि हिमालसहित रमणीय वातावरण देखिन्छ।

स्थानीय खानाका परिकारको स्वाद चखाउने होम स्टे सञ्चालकको योजना छ। मगर कला र संस्कृति सहित धौलागिरी सेञ्चुरी पदमार्गअन्तर्गत आवतजावत गर्ने पर्यटकलाई होम स्टे निर्माणपछि सहज भएको छ।

 झिँ, पाखापानी, कोटगाउँ हुँदै रायखोर पुग्न सकिन्छ। तीन वर्षअघि म्याग्दी उद्योग वाणिज्य संघले पहिचान गरेको धौलागिरि सेञ्चुरी पदमार्गको रायखोर गाउँ एउटा बसाइस्थलको रुपमा चिनिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.